Comments Add Comment

राजविराजको मालपोत कार्यालयमा सेवाग्राहीको भीड, छैन भौतिक दूरी

१३ वैशाख, सप्तरी । सरकारी निर्णय अवज्ञा गरी संचालन गर्दै आएको भन्दै सप्तरी सदरमुकाम राजविराजबाट ११ निजी विद्यालयका संचालकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लियो । तर, राजविराजमै रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा भने कोरोना भाइरसलाई गिज्याउने गरी भीड देखियो ।

सोमबार दिउँसो यो मालपोत कार्यालयमा पुग्दा अत्यधिक भीड थियो । कार्यालयको प्राङ्गणदेखि चारैतिर सेवाग्राहीको भीड थामिनसक्नु थियो । भीडमा जम्मा भएकाहरुमध्ये धेरैले मास्क नै लगाएका थिएनन् । कार्यालयको बिभिन्न फाँटमा झ्यालबाट कर्मचारीले सेवा प्रवाह गरिरहेका थिए । सेवाग्राहीहरु पनि झ्यालबाहिर एकअर्कासँग टाँसिएरै जम्मा भएका थिए ।

कार्यालयको पछाडि खुल्ला ठाउँमा पनि सेवाग्राही मास्क विनै एक-अर्कासँग टाँसिएर बसेको दृश्य जताततै देखिन्थ्यो । यहाँको भीड हेर्दा लाग्थ्‍यो –‘कोरोनालाई गिज्याइरहेको छ ।’

कोरोनाको दोस्रो लहर फैलिन लागेको समयमा जिल्ला मालपोत कार्यालय, सप्तरीमा कुनै किसिमको सतर्कता अपनाइएको छैन । हात धुने र स्यानिटाइजरको व्यवस्था गर्ने कुरा परै जाओस्, भौतिक दूरीको पनि कुनै किसिमको ख्याल गरिएको छैन । जसका कारण मानिस एकअर्कासँग टाँसिएरै सेवा लिन बाध्य भइरहेका छन् ।

त्यसो त प्रमुख जिल्ला अधिकारी पछिल्लो दुई दिन यता मास्क लगाए/नलगाएको विषयमा अनुगमन गरिरहेका छन् । आइतबार मात्रै सदरमुकाम राजविराजका पैदल यात्री, पसलका मालिक र ग्राहकका साथै पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीका कर्मचारी तथा यात्रुलाई मास्क अनिवार्य लगाउन उनले सचेत गराएका थिए। तर, सरकारी कार्यालयमै भीड लागिरहँदा प्रशासन भने मौन बसेको छ ।

‘चार दिनदेखि लगातार धाइरहेको छु, काम भइरहेको छैन’ जग्गा नामसारी गराउन आएका एक सेवाग्राहीले भने, ‘भीडमा भए पनि लाइन नलागे कामै हुँदैन ।’

कार्यालयका सूचना अधिकारी प्रकाश राउतले भौतिक दूरी कायम गरेर बस्न आग्रह गरेको र पालैपालो नाम बोलाउने प्रणाली अपनाउँदा समेत सेवाग्राही एकै ठाउँमा भीड लगाउन नछाडेको बताए । उनले भने, ‘ कार्यालयमा हुने भीड नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीसँग टोकन प्रणाली लागू गर्ने कि के गर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ।’

उनका अनुसार कर्मचारीको अभावका कारण भूमि कार्यालयमा काम चाँडै नहुँदा सेवाग्राहीको भीड लाग्नुपरेको अवस्था छ ।

दरबन्दी अनुसार एकजना उप-सचिव भए पनि चारजना अधिकृतको कोटा सबै खाली छन् । ९ जना सुब्बामा ३ जना मात्रै कार्यरत छन्, बाँकी सबै १६ जना खरिदारले काम चलाउँदै आएका छन् । कर्मचारी अभावले पनि सेवाग्राहीको काममा केही ढिलाइ हुने गरेकाले भीड बढेको राउतको भनाइ छ ।

सप्तरी जिल्लामा हालसम्म १८ सय ४४ जना कोरोना संक्रमित पुगेका छन् । यस्तै भीड रहे संक्रमण बढ्‍ने खतरा रहेको सरोकारवालाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment