१३ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा पहिलो जितका लागि अझै कुर्नुपर्ने भएको छ । लिग अन्तर्गत आइतबार भएको खेलमा ललितपुरले एफसी चितवनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । यसअघि पहिलो खेलमा ललितपुर काठमाडौं रेजर्ससंग पराजित भएको थियो ।
अमित तामाङले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि चितवनले ललितपुरसँग अंक खोसेको हो । अमिले नै गरेको प्रहार ललितपुरका एरिक विष्टले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि चितवनले पेनाल्टी पाएको थियो र त्यसैमा अमितले सहजै गोल गरे ।
त्यसअघि कमल श्रेष्ठले ४९औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । उनले मैदानको दायाँ भागबाट प्रहार गरेको बल सिधै गोल भएको थियो जसललाई विशालले रोक्ने अवसर नै पाएनन् ।
१९औं मिनेटमा ललितपुरले अग्रता लिन मौका गुमाएको थियो । चितवनका गोरा जर्कोभिकले निरज बस्नेतलाई पेनाल्टी एरियामा फाउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो । तर कप्तान अन्जन विष्टको पेनाल्टी प्रहार चितवनका गोलकिपर विशाल सुनारले बचाए । त्यसको रिबाउण्डमा विमल रानाले गरेको प्रहार पनि विशाले बचाएका थिए ।
दोस्रो हाफमा पनि विशालले ललितपुरका केही प्रहार बचाए । चितवनको तुलनामा ललितपुरले धेरै अवसर पाएपनि गोल गर्न भने सकेन । ५४औं मिनेटमा चितवनका विशालले ललितपुरका विमलको दुई प्रहार बचाएका थिए ।
बराबरीपछि ललितपुर र चितवनले १-१ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर काठमाडौं रेजर्ससंग १-० ले पराजित भएको थियो । दुई खेलबाट ललितपुरले १ अंक जोडेको छ ।
तस्वीरहरु-विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4