Comments Add Comment

ब्राजिलले दिएन रुसी कोरोना खोप आयातको अनुमति

१४ वैशाख, काठमाडौं । ब्राजिलको स्वास्थ्य नियामकले रुसी कोरोना खोप ‘स्पुतनिक भी’को आयातको अनुमति दिन अस्वीकार गरेको छ । ब्राजिलका केही राज्यले नियामकसमक्ष यो खोप आयातको लागि प्रस्ताव गरेका थिए । यद्यपि नियामकले यो खोपको सुरक्षा तथा प्रभावकारिताको अध्ययनको लागि आवश्यक तथ्यांक उपलब्ध नभएको दाबी गरेको छ ।

सोमबार ब्राजिलको खोप नियमन गर्ने संस्था अन्भिसाको पाँच सदस्यीय बोर्डले सर्वसम्मत रुपमा रुसी खोपलाई अनुमति नदिने निर्णय गरेको हो । बोर्डले विना कुनै तथ्यांक यो खोपलाई अनुमति दिंदा उत्पन्न हुने जोखिम धेरै हुने निष्कर्ष निकालेको छ ।

गत वर्षको अगष्ट महिनामा रुसले स्पुतनिक भी खोपलाई अनुमति दिने निर्णय गरेको थियो । अन्तिम चरणको परीक्षण पनि नसकिई खोपलाई अनुमति दिएको भन्दै खोपबारे आशंका उत्पन्न भएपनि पछि भने उक्त खोपबारे सकारात्मक प्रतिक्रिया आएको थियो । ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित नतिजाअनुसार यो खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको थियो ।

अन्भिसाका विशेषज्ञहरुले भने जर्नलको अध्ययन नियमनकारी संस्थाको भन्दा फरक हुने भएकाले त्यसको आधारमा खोपलाई अनुमति दिन नसकिने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment