Comments Add Comment

गण्डकीमा एमाले नेतृत्वको सरकारको छिनोफानो आजै

१५ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने वा नरहने छिनोफानो बुधबार नै हुने भएको छ ।

वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । १३ गते विपक्षी दलका तर्फबाट मुख्यमन्त्रीका प्रस्तावक कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेश गरेपछि बुधबार दिउँसो प्रदेशसभामा सो विषयमा छलफल चलिरहेको छ ।

विशेष अधिवेशनको पहिलो बैठकमा कोरोना माहामारीमा सांसदको पिसिआर परीक्षण नगरिएको भन्दै ध्यानाकर्षण गराएको सत्तारुढ दल एमालेले मंगलबार यही विषयमा बैठक अवरुद्ध नै गरेको थियो ।

सांसदको कोरोना परीक्षण रिपोर्टपछि मात्रै बैठक गर्ने गरी स्वाब परीक्षण गरिएको थियो । परीक्षणमा एमालेका सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङलाई कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिए पनि सांसदलाई बोल्ने समय दिइने छैन भने मतदानमा सहभागी भने हुने छन् ।

अविश्वासको प्रस्तावको छलफलका क्रममा सांसदले उठाएको प्रश्नको मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि निर्णयार्थ पेश गर्ने कार्यसूची छ । कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको थाहा पाउनेवित्तिकै वैशाख १ गते मध्यरातमा मुख्यमन्त्री गुरुङले प्रदेशसभाको अधिवेशन नै अन्त्य गराएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गराएलगत्तै प्रदेश प्रमुखको कार्यालयमा दलहरुले विशेष अधिवशेनको माग गर्दै निवेदन दिएका थिए ।

मुख्यमन्त्रीको सिफारिसलाई मध्यरातमै सदर गरिदिएका प्रदेश प्रमुख अमिक शेरचनले विपक्षीको मागमा पनि १५ दिनभित्र विशेष अधिवेशन बोलाउने संसदीय अभ्यासअनुसारै १३ गतेका लागि बोलाएका थिए । विपक्षी दलले वैशाख १३ गते नै छिनोफानो गर्ने सोच बनाएको भए पनि सत्तारुढ दलले लम्ब्याउन प्रस्ताव गरेको थियो ।

अविश्वासको प्रस्तावलाई तलमाथि हुन नदिन कांग्रेस, माओवादी र जसपाका सांसदलाई रिसोर्टमा राखिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसदमध्ये एक जना सभामुख भएकाले ११ जनाले मत हाल्ने छन् । जनता समाजवादीका २ र जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने बताइरहेका छन् ।

सत्तारुढ नेकपा एमालेका २७ सांसद छन् भने मनाङबाट निर्वाचित दीपक मनाङ्गे स्वतन्त्र सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment