
१५ वैशाख, काठमाडौं । सरकारले बिहीबारबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । यस्तो घोषणामा सार्वजनिक तथा निजी सवारी साधन बन्द भएपछि हवाई यात्रा भने निरन्तर जारी रहने छ । हवाई व्यवसायीहरुको छाता संगठन वायुसेवा संचालक संघ (आयोन)ले हवाई यात्रा सुरक्षित रहेको भन्दै ढुक्क भएर यात्रा गर्न आह्वान गरेको छ । वायुसेवा कम्पनीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदन भएको कोभिड १९ सम्बन्धी सेवा संचालन कार्यविधिको पूर्ण पालना गर्ने आयोनको भनाइ छ ।
कोरोनाको बढ्दो संक्रमणका बीच पनि हवाई यात्रा सुरक्षित हुने हुँदा यात्रुले समेत मापदण्ड पालना गर्न भने व्यवसायीले आग्रह गरेका छन् । सरकारले उपत्यकामा घोषणा गरेको निषेधाज्ञाको पहिलो एक साताको अवस्था हेरेर हवाई यात्राबारे निर्णय गर्ने बताएको छ । हवाई यात्राका दिन यात्रुले भने सडकमा सास्ती भोग्नु पर्नेछ । किनकी नेपाल नागरिक उड्डयन प्राधिकरणले निषेधाज्ञाको समयमा साझा बस चलाउने प्रस्ताव गरेपनि यसबारे नेपाल सरकारको अर्को निर्णय आइसकेको छैन ।
सार्वजनिक यातायात पनि नचल्ने र निजी सवारी नहुने यात्रुले पैदल यात्राबाटै विमानस्थल वा विमानस्थलबाट घरसम्म पुग्नुपर्ने बाध्यता हुने छ । वायुसेवा कम्पनीकाहरुका अनुसार बुधबारसम्म करिब शतप्रतिशत सिट भरेर उडिरहेका जहाजमा बिहीबारबाट भने ५० प्रतिशत यात्रु कम भइसकेका छन् । सरकारले दुई दिन अगाडि नै निषेधाज्ञा घोषणा गरी उपत्यका छाड्ने चाहनेलाई अवसर दिएको थियो ।
प्रतिक्रिया 4