Comments Add Comment

वीरगञ्जमा एकैदिनमा पाँच संक्रमितको मृत्यु

१५ वैशाख, वीरगञ्ज । ज्वरो र खोकीका साथै सास फेर्न गाह्रो भएपछि बाराको सुवर्ण गाउँपालिका- ७ की ३० वर्षीया महिला दुई दिनअघि नारायणी अस्पताल भर्ना भएकी थिइन् ।

चिकित्सकहरुका अनुसार अक्सिजन दिँदा पनि स्याचुरेसन लेभल ८८/९० भन्दा बढेको थिएन । एकदमै छिटो सास फेरिरहेकी थिइन, ३२ देखि ३६ प्रतिमिनेट । जबकी वश्यक व्यक्तिको श्वासप्रश्वास प्रति मिनेटमा १२ देखि १६ हुन्छ ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास भन्छन्, ‘धेरै गाह्रो भएपछि भेन्टिलेटरमा राख्यौं, तर बचाउन सकेनौं ।’

उनको मंगलबार मध्यरातमा मृत्यु भयो । अस्पतालमा मात्र पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सर्लाही, धनकौलका ४३ वर्षीय पुरुषलाई मंगलबार बेलुका पौने ८ बजेतिर मात्रै अस्पताल ल्याइएको थियो । उनलाई पनि सास फेर्न गाह्रो भइरहेको थियो । अक्सिजन लेभल ७०-८० थियो । सास छिटो छिटो फेरिरहेका थिए ।

तत्कालै अक्सिजन सपोर्ट दिँदा पनि स्वास्थ्यमा सुधार आएन र मध्यरातमा ज्यान गुमाए । एन्टीबायोटिक खुवाएर घरमै राखेको र अन्तिम अवस्थामा अस्पताल ल्याएकाले बचाउन नसकेको कोभिड संयोजक दास बताउँछन् ।

बिहान १० बजेतिर तेस्रो संक्रमितको मृत्यु भयो । वीरगञ्ज-२७ की ६० वर्षीया महिलालाई अस्पताल ल्याउँदा नै अवस्था गम्भीर थियो । ‘नाकबाट ब्लिडिङ भइरहेको थियो, एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आयो’ डा. दास भन्छन्, आईसीयूमा पुग्दा नपुग्दै मृत्यु भयो ।’

टाइप टु डायविटिजका साथै दमबाट पीडित उनलाई अस्पताल ल्याउन निकै ढिला भएको चिकित्सकहरु बताउँछन् ।

बुधबार नै रौतहटको राजवाडाका ५०वर्षीया महिला र वीरगञ्ज- ७ रामटोल बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता वीरगञ्जस्थित नारायणी अस्पतालमा ११३ जना संक्रमित भर्ना भएका छन् । उनीहरुमध्ये १९ जनाको मृत्यु भएको छ ।

चिकित्सकका अनुसार सबैको साझा समस्या हो, स्वास फेर्न गाह्रो हुने । अस्पताल ल्याउँदा अक्सिजन लेभल कम भएका कतिपयलाई भेन्टिलेटरमा राख्न नपाई मृत्यु भएको छ । अस्पतालका कोभिड संयोजक दास भन्छन्, ‘अहिलेको भाइरस संक्रमण जटिल छ तर मानिसहरुले अन्तिम अवस्थामा मात्र अस्पताल आउने भएकाले बचाउन निकै गाह्रो भइरहेको छ ।’

नारायणी अस्पतालमा अहिले अक्सिजन सपोर्ट चाहिने संक्रमितलाई मात्र भर्ना गरिन्छ । दोस्रो लहरपछि अस्पताल भर्ना भएकामध्ये ४१ जना निको भएर घर फर्किएका छन् भने ४३ जना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment