Comments Add Comment

मानिसलाई पहिलो पटक चन्द्रमामा पुर्याउने एपोलो-११ का सदस्य कोलिन्सको निधन

१६ वैशाख, काठमाडौं । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए ।

क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए । अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो ।

कोलिन्सको निधनपछि अब एपोलो–११ मिसनको एकमात्र जीवित क्रू सदस्य बज एल्ड्रिन छन् । उनी ९१ वर्षका छन् । एल्ड्रिनले कोलिन्सलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमा लेखेका छन्, ‘प्रिय माइक, तपाईं जहाँ रहे पनि तपाईंको ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ ।’

एपोलो-११ का कमाण्डर आर्मस्ट्रङको  सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति उनै आर्मस्ट्रङ्ग थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment