
१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचार सेवा शुरु गरेको छ । बाबा होटललाई अस्थायी कोरोना अस्पताल बनाएर गत वर्ष जस्तै गरी कलेजले संक्रमितलाई उपचार सेवा दिन शुरु गरेको हो ।
१७२ बेडको कोरोना अस्पताल बनाएर संक्रमितको उपचार शुरु गरिएको नेशनल मेडिकल कलेजले जनाएको छ । अस्थायी कोरोना अस्पतालमा ६ वटा भेन्टिलेटरसहित २० बेडको आईसीयू छ । १२ बेडको इमर्जेन्सी स्क्रिनिङ वार्ड पनि बनाइएको छ ।
बुधबार दिउँसोदेखि नै लक्षणसहितका कोरोना संक्रमितको उपचार शुरु गरिएको कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले बताए ।
‘पहिला शंकास्पद बिरामीलाई इमर्जेन्सीमा भर्ना लिन्छौं, कोभिड छ भने आइसोलेसनमा राख्छौं । कोभिड देखिएन भने मेडिकल कलेज पठाउँछौं,’ उनले भने, ‘प्राइभेट क्याबिनमा बस्न चाहने संक्रमितलाई त्यसको पनि व्यवस्था छ ।’
अस्पतालका इन्चार्ज ओमप्रकाश कुशवाहाका १८ जना कोरोना संक्रमितमध्ये ४ जना भेन्टिलेटरमा छन् भने बाँकी आइसोलेसनमा छन् । यस्तै ४२ जना शंकास्पद कोभिडका बिरामी पनि उपचारका लागि आइपुगेका छन् । बिहानै बाराको बड्की फुलबरियाका एकजना शंकास्पद कोभिड बिरामीको मृत्यु भएको छ ।
प्रतिक्रिया 4