Comments Add Comment

२९ बर्षमा पूजा

नेपाली चलचित्र क्षेत्रकी सफल नायिका पूजा शर्मा आजबाट २९ बर्षमा प्रवेश गरेकी छिन् । वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा पूजाको जन्म भएको हो । उनै, पूजा म्यूजिक भिडियो, टेलिभिजन हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् ।

पूजाले आफ्नो करिअरको सुरुवात चलचित्र ‘थ्रि लभर्स’बाट सुरु गरेपनि उनको करिअर चम्काउने चलचित्र भने ‘प्रेमगीत’ हो । ६ बर्ष अगाडि रिलिज भएको यो चलचित्रपछि पूजाले करिअरमा पछि फर्किएर हेर्नुपरेको छैन । यसपछि उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा सफलता र असफलता जे भोगेपनि, उनले भने सुखद यात्रा तय गरिरहेकी छिन् ।

पूजाले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो । योसँगै उनका फ्यानहरुले उनीप्रति गर्ने प्रेम पनि बढ्दै गयो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् । तर, उनलाई सफलता हात परेको थिएन । चलचित्रमा सफलता हात नपर्दा धेरै पटक पूजा भगवान्को अगाडि रोएकी पनि छिन् । तर, आज उनलाई दर्शकले अथाहा प्रेम दिएका छन् ।

पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ । सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् । सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दा माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् । म्यूजिक भिडियोमा पनि उनको क्रेज लोभलाग्दो छ ।

विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा समेत पर्दै आएकी यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् ।

चलचित्र क्षेत्रमा सफल निर्मात्री र नायिकाको रुपमा परिचित यी नायिकाको जन्मदिन उनका फ्यानले धुमधामसँग मनाउने गरेका छन् । तर, यो बर्ष कोरोनाका कारण निषेधाज्ञा लागू भएपछि पूजाका फ्यानले २ दिन अगाडि नै उनको घरमा पुगेर केक काटेका थिए । पूजालाई चलचित्रकर्मी र उनका फ्यानले सामाजिक संजालबाट शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment