Comments Add Comment

दैलेखमा माधव नेपाल समूहका नेता र जनप्रतिनिधिसँग स्पष्टीकरण माग

१७ वैशाख, सुर्खेत । नेकपा एमाले दैलेखले समानान्तर कमिटी गठन गरेको भन्दै माधव नेपाल समूहका ४ जना प्रदेश कमिटी सदस्यलाई कारवाही गर्न सिफारिस गरेको छ ।

पार्टी अध्यक्ष रवीन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले नेपाल समूहकै १५ जना जनप्रतिनिधि र अन्य तल्लो तहका संगठनमा आवद्ध कार्यकर्ताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

गत सोमबार मात्रै दैलेखमा बरुनाथ योगीको अध्यक्षतामा नेपाल समूहले १९५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको थियो ।

सो कमिटी गठनको नेतृत्व कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकार जोगाउन ‘फ्लोर क्रस’ गरेका नेता अम्मरबहादुर थापाले गरेका थिए । थापा हाल प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

उक्त कमिटी गठन पश्चात संस्थापन पक्षले नेपाल पक्षधर नेता कार्यकर्तामाथि कारबाही प्रक्रिया थालेको अध्यक्ष शर्माले बताए ।

‘पार्टी एकता विरोधी गतिविधिमा संलग्न साथीहरुलाई कारवाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गरेका छौं, स्थानीय तहका १५ जना जनप्रतिनिधिलाई पनि तीन दिने स्पष्टीकरण सोधेका छौं,’ अध्यक्ष शर्माले भने, ‘उपयुक्त जवाफ नआए उहाँहरुलाई पनि कारवाही हुन्छ ।’

अध्यक्ष शर्माका अनुसार बैठकले नेपाल समूहका टेकबहादुर खाँड, बरुनाथ योगी, सावित्री मल्ल र मायाराम अधिकारीलाई आवश्यक कारबाहीका लागि कर्णाली प्रदेश कमिटीमा सिफारिस गरेको छ । मल्ल नारायण नगरपालिकाका उपप्रमुख समेत हुन् ।

यी हुन् स्पष्टीकरण सोधिएका जनप्रतिनिधि

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाहीसँग स्पष्टीकरण माग गरिएको छ ।

त्यस्तै नौमूले गाउँपालिका–४, का वडाध्यक्ष गजबहादुर ढेंगा, नारायण नगरपालिका–१, का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ, भगवतीमाई गाउँपालिका–२, का वडाध्यक्ष कर्णबहादुर शाही, भगवतीमाई–४, का वडाध्यक्ष कृष्णबहादुर थापा, आठबीस नगरपालिका–५, का वडाध्यक्ष कर्ण आले र डुंगेश्वर गाउँपालिका–२, का वडाध्यक्ष राजु केसीसँग पनि स्पष्टीकरण माग गरिएको छ ।

यस्तै नौमूले गाउँपालिका गाउँ सभा सदस्य दीपक हमाल, गुराँस गाउँपालिका गाउँ सभा सदस्य पशुपती शर्मा, नारायण नगरपालिका नगर सभा सदस्य हर्कबहादुर नेपाली, नमराज शाही र रमेश केसीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

एमाले जिल्ला कमिटी दैलेखका उपसचिव तिलकप्रसाद रिजाल, सचिवालय सदस्य मानबहादुर खड्का, जिल्ला कमिटी सदस्य भीमबहादुर गुरुङ, गुराँस गाउँ कमिटी सदस्य भुपेन्द्र खड्का र नेता गोकर्ण माझी, राष्ट्रिय युवा संघका उपेन्द्र शाही, अनेरास्वियू दैलेखका अध्यक्ष हेमन्त दसौदी, अनेरास्वियू केन्द्रीय लेखा आयोगका सदस्य भुपेन्द्र शाही, राष्ट्रिय युवा संघका सदस्य अशोक थापा, टोपबहादुर थापा र धीरज कार्कीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण सोधिएका नेता तथा कार्यकर्ता र जनप्रतिनिधीलाई उनीहरुको जवाफ अनुसार थप निर्णय लिइने अध्यक्ष शर्माले बताए । ‘उहाँहरुले गल्ती महसुस गरेर पार्टीको पक्षमा उभिए कारबाही नै नहोला, अवको कमद उहाँहरुको जवाफमै भर पर्छ,’ उनले भने ।

उता, समानान्तर कमिटिका अध्यक्ष बरुनाथ योगीले भने आफूहरु नै आधिकारिक एमाले भएको दावी गरे । ‘हामी नै आधिकारिक एमाले हौं, हामीलाई कारवाही गर्ने धम्की नदिए हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment