Comments Add Comment

पर्सामा जनगणनामा खटिने सुपरिवेक्षकको तालिम स्थगित

१७ बैशाख, वीरगञ्ज । राष्ट्रिय जनगणनाका लागि पर्सामा सञ्चालित सुपरिवेक्षकको तालिम स्थगित भएको छ । निषेधाज्ञाको समयमा भिडभाड गरेर तालिम सञ्चालन गरेको भन्दै विरोध भएपछि तालिम स्थगित गरिएको हो ।

यसवर्ष ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना ०७८ हुँदैछ । त्यसका लागि जिल्ला जनगणना कार्यालय पर्साले १ सय ४२ जना सुपरिवेक्षकका लागि बिहीबारदेखि ७ दिने तालिम शुरु गरेको थियो ।

निषेधाज्ञाको समयमा सर्वसाधरणलाई घर-घरमै बस्न आग्रह गरेर सरकारी कार्यालयले भने भिडभाड गरेर तालिम सञ्चालन गरेको भनेर विरोध गरिएको थियो ।

वीरगञ्जको सिद्धार्थ इन्टरनेशल कलेजमा आयोजित तालिममा सामाजिक दूरी पालना नगरी तालिम गराइएको थियो । तालिममा पर्साको १४ वटै पालिकाबाट सुपरिवेक्षकहरु सहभागी भएका थिए ।

जिल्ला जनगणना कार्यालय पर्साका जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले भने राष्ट्रिय जनगणनाको तालिका अनुसार नै सुरक्षा मापदण्ड सहित तालिम सञ्चालन गरिएको दावी गरे ।

‘१ सय ४२ जना सुपरिवेक्षक मध्ये कतिपय सहभागी नै हुनुभएको थिएन, ५ जना प्रशिक्षक सहित ५ वटा कोठामा तालिम सञ्चालन गरेका हौं ।’ उनले भने ‘सहभागीलाई मास्क, फेस सिल्ड र स्यानीटाईजर पनि वितरण गरेका थियौं । सञ्चारकर्मीहरुले आएर विरोध गर्नुभयो । त्यसपछि स्थगित गरेका छौं ।’

कोरोना संक्रमणको जोखिमबारे अवगत भएपनि राष्ट्रिय कार्यक्रमका लागि राज्यले दिएको जिम्मेवारी पुरा गरेको उनको भनाई छ । ‘ हामीलाई पनि संक्रमित भईन्छ भन्ने डर छ, तर राज्यको काम हो भनेर गरेका हौं ।’ उनले भने ‘ तालिम स्थगित गर्दा गणना कार्यक्रम प्रभावित हुन्छ भनेर जोखिम मोलेरै तालिम सञ्चालन गरेका थियौं ।’

सुपरिवेक्षकहरु फिल्डमा २० दिन खट्नुपर्ने भएकोले कोरोना संक्रमणको जोखिमबाट आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराएर मात्रै काममा खटाउने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment