Comments Add Comment

ढुंगामा मूर्ति खोप्दा उडेको धूलो देखेर रमाउने मूर्तिकार 

चितवनमै मूर्तिकला पढाउने सपना पूरा हुने विश्वासमा लालकाजी

१९ वैशाख, चितवन । एकनासले कराइरहने ग्राण्डर । बुङबुङ उडिरहेको धूलो । काम गरिरहँदा  चिरपरिचित मान्छेहरूले पनि ठम्याउन हम्मे पर्ने एक अनुहार । कहिले टन्टलापुर घामको उधुम गर्मी । कहिले हावाहुरी र पानी !

अनवरत रूपमा ढुंगामा मूर्ति बनाउने तपस्यामा जुटिरहने मूर्तिकार हुन्–लालकाजी लामा । जीवनका १२ वसन्त उनले ढुंगा, छिनो र ग्राण्डरसँगै विताए ।

मानिसहरू धूलो भनेपछि भाग्छन्, तर्किन्छन् । कर्कस आवाजबाट उन्मुक्ति र शान्ति खोज्छन् । तर सोख पनि अचम्मको, धैय पनि कति अटल ! चितवनको भरतपुर महानगरपालिका १६ ढड्डाघारी घर भएका लालकाजी लामा नेपाल ललितकला प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख हुन् ।

पछिल्ला वर्षहरूमा एक्लैभन्दा पनि मूर्तिकारहरूको समूह बनाएर काम गर्न बढी रुचाउँछन्, उनी । उनले मूर्तिकला सम्बन्धी कार्यशालाहरू आयोजना गर्छन् । सबैलाई समेटेर कैयौं दिनसम्म समूहमा मिलेर ढुंगाबाट दजनौं आकर्षक मूर्तिहरू बनाउँछन् ।

गत वर्ष उनले चितवनको माडी सोमेश्वरगढी जाने बाटोमा र यस वर्ष गैंडाकोटको मौलाकालिका मन्दिर जाने सडकपेटी किनारका ढुंगाहरूमा दर्जनौं विभिन्न आकृतिका मूर्ति बनाए । चितवन भरतपुरको रानीपोखरीमा उनले बनाएका मूर्तिहरू निकै आकर्षक छन् ।

१२ वर्ष अघिबाट व्यावसायिक रूपमा मूर्तिकलामा होमिएका लामाको शरीरले साथ दिएसम्म मूर्तिमा काम गर्ने धोको छ । छिनो समाउँदा हातमा परेका ठेलाले उनलाई दुःखभन्दा सन्तुष्टि धेरै दिन्छ ।

पैसा कमाएर पनि किन जोगाउनु भएन त ? भन्ने प्रश्नमा फिस्स हाँस्दै जवाफमा भन्छन्, ‘मेरो जिन्दगी नै विन्दास छ । केही दिन खटेर काम गर्छु, केही दिन आराम गरेर बिताउँछु ।’

ढुंगामा मूर्ति बनाउँदा उडेको धूलोसँग उनलाई आनन्द लाग्छ । ग्राण्डरको एकोहोरो र्‍याईं-र्‍याईं उनका लागि संगीत बन्छ । निर्जीव ढुंगो खोपेर बनाइएको मूर्ति हेर्दा ‘अब बोल्ला’ झैं देखिएपछि उनी दंग पर्छन् ।

भन्छन्, ‘मेरो रगत, पसिना, श्रम र सीप मूर्तिमै पोखेको छु, चित्रमा बढी पैसा आउँछ तर चित्र घरभित्र थन्किन्छ, मूर्ति सार्वजनिक हुन्छ ।’ मूर्ति बनाउँदा आत्मसन्तुष्टि मिल्ने गरेको लामाको अनुभूति छ ।

जस्तै दुःख पाए पनि उनलाई रमाइलो यसैमा लाग्छ । ‘सीधै माटो मुछ्दा स्पर्श हुन्छ । धेरै बेरसम्म स्पर्श हुँदा माया हुन्छ । भौतिक सम्बन्ध मूर्तिमा हुन्छ’ लामा अगाडि थप्छन्, ‘मूर्तिमा घण्टौं उभिएर काम गर्नुपर्छ । जीवन्तको अभ्यास र आभास मूर्तिमै हुन्छ, यसका लागि गहिरो अध्ययन चाहिन्छ ।’ उमेर केही ढल्किए पछि अनुसन्धानमा आधारित कामहरू गर्ने लामाको सोच छ ।

बाल्यकालदेखि नै लालकाजी काम गरे पढ्न नपाउने, पढ्न थाले पैसा नहुने अवस्थाबाट गुज्रिए । एसएलसी पास गरेपछि काठमाडौं पढ्न जाने इच्छा भयो तर पैसाले साथ दिएन ।

संघर्षपूर्ण जीवन

२०४८ सालमा एसएलसी परीक्षाको नतिजा पर्खंदाको समयमा उनले साइनबोर्ड लेख्ने काम सिके । भरतपुर ओरालोस्थित लायन्सचोकको क्षितिज आर्टमा साइनबोर्ड र चित्र बनाउन सिके । पछि दुई वर्ष त्यहीं काम गरे । उनीभित्र काठमाडौं गएर पढ्ने इच्छा छँदैथियो । २०५० सालमा उनी काठमाडौं पुगे ।  काठमाडौंको ललितकलामा पढ्दा पैसाको अभाव भयो । त्यसबेला बिहानी कक्षा थिएन । दिउँसो कलेज जाँदा काम गर्न सक्ने अवस्था भएन । दुई वर्षपछि लामा चितवन रामपुर नै फर्किए । रामपुर बजारमा पसल राखे । जसले काम दिन्छ उसैको काम गरे ।

२०३२ साल पुस ३ गते भरतपुर यज्ञपुरीमा जन्मिएका लामाको निम्न मध्यम वर्गीय परिवार ढड्डाघारीमा बसाइ सरेको थियो । उनी आफूले थाहा पाउँदादेखि नै चित्र बनाउने गरेको सुनाउँछन् ।

विजयनगर विद्यालयमा पढ्दा किताब र कापीका पाना उनलाई देख्नै हुन्थेन । किताबमा भएका चित्रहरू हुबहु उतार्थे । कैयौंपटक सरको पिटाइसमेत खाएको उनी अहिले पनि स्मरण गर्छन् ।

विद्यालयमा पढ्नभन्दा बढ्ता रुचि उनलाई चित्र बनाउनमै थियो । अतिरिक्त क्रियाकलापमा चित्र बनाउने विषय आउँदा उनी अरूभन्दा बढी हौसिन्थे । विद्यालय बाहेकको समयमा खेल्दा पनि उनी ढुंगा, माटोमा चित्र नै बनाएर खेल्थे ।

‘मलाई कहिल्यै पनि फुटबल, भलिबल खेल्न रुचि भएन, खाली समय पायो कि चित्र बनाउनेतिर मात्रै ध्यान हुन्थ्यो’ लालकाजी भन्छन्, ‘कैयौं पटक छिनो लिएर मूर्ति बनाउन खोज्दा हात काट्थ्यो, नसा पनि काट्यो, तर घरमा कसैलाई नभनी लुकाउँथे ।’

****

२०५४ सालमा उनी पुनः काठमाडौं फर्किए । केही समय बागबजारमा काम गरे । २०५७ सालमा काठमाडौंको पुरानो बसपार्कमा पसल खोले । कम्पनीका कामहरू ठेक्का लिएर गर्न थाले । कसैको बोर्ड लेख्थे, ठूल्ठूला ‘ब्याक ड्रप’हरू पनि बनाए । कपडा, टीनका पातामा काम गर्थे । अहिले पनि ती काम आउँछन् तर रुचि छैन । साथीभाइले भन्दा उनी हार्न सक्दैनन् ।

फेरि ललितकला क्याम्पसमा उनी २०५६ मा स्नातक तह पढ्न भर्ना भए । त्यहाँबाट उनले पेन्टिङमा स्नातकोत्तर र मूर्तिकलामा स्नातक गरे । चित्र बनाए पनि मूर्ति बनाउने उनको ठूलो इच्छा ललितकलामा स्नातक पढ्न थालेपछि बल्ल पूरा भयो । मूर्ति बनाउने इच्छा लुकाएका लामाले पहिलोपटक गुम्बामा मूर्ति बनाएका थिए ।

‘चित्र र मूर्तिमा सामान्य फरक छ’ लामा भन्छन्, ‘मूर्तिमा छिनो कसरी हान्ने भन्ने कुरा सिक्नुपर्छ, अरू कुरा मिल्दोजुल्दो नै हुन्छ । प्राविधिक कुरा मात्रै जान्ने हो ।’

२०५९ सालमा उनले साथीसँग मिलेर ठमेलमा ग्यालरी खोले । चित्रहरू बनाएर बेच्न थाले ।

चित्रकलासँगै उनलाई राजनीतिको नशासमेत लाग्यो । अनेरास्ववियूको तर्फबाट ललितकलामा दुईपटक स्ववियू सभापति भए । उनको एक मात्रै सन्तान छोरी अष्ट्रेलियामा छिन् । उनी एक्लै छन् । बा, आमा र बहिनी चितवन घरमा ।

गुणस्तर र जीवन्त मूर्तिमा ध्यान

मूर्ति तथा सालिकहरू फाइवर, धातु र सिमेन्टमा बनाउने गरिन्छ । लामाले अहिलेसम्म पूर्ण कदका सालिक ८ वटा, अर्धकदका १२ वटा बनाएका छन् । मूर्तिहरू ढुंगामा मात्रै बनाउँछन् । लामाले पूर्ण कदको सालिक बनाएको १० लाख र अर्ध कदको सालिक धातुमा बनाएको ३ लाख रुपैयाँसम्म लिने गरेका छन् ।

ओखलढुंगामा गुरु लुइँटेलको सालिक उनले जीवनमा पहिलोपटक बनाएका हुन् । ओखलढुंगामै चार जना साहित्यिक स्रष्टाहरूको सालिक बनाए । चितवन  दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित, हेटौंडाको शहीद स्मारक पार्कमा मदन भण्डारी, बीपी, गणेशमानको सालिक उनैले बनाएका हुन् । उनी भन्छन्, ‘मूर्ति र सालिकको संख्यालाई बढाउने भन्दा पनि गुणस्तर र जीवन्त बनाउनेतिर बढी ध्यान दिन्छु ।’

‘कमाएँ तर जोगाइनँ’

शुरू शुरूमा व्यावसायिक हुन नसकेको मूर्तिकला पेशा पछिल्लो समय व्यावसायिक बन्दै गएको छ । मूर्तिकारहरू मूर्ति बनाएर पनि सजिलैसँग जीवन धान्न सक्ने बताउँछन् ।

मूर्तिकार लामा पनि यो पेशाबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘मैले यो पेशाबाट प्रशस्त कमाएँ तर जोगाइनँ ।’ उनी काठमाडौंमा भाडामै बस्छन् । ‘घर त मेरो चितवन नै हो, चितवन नै फर्किने हो काठमाडौंमा किन चाहियो घर ?’ लामा भन्छन् ।

उनले सहज जीवनयापनमा सम्झौता गरेका छन् । भोलिको चिन्ता पनि छैन, कमाएर राखेका पनि छैनन् । पैसा कमाएर पनि किन जोगाउनु भएन त ? भन्ने प्रश्नमा फिस्स हाँस्दै जवाफमा भन्छन्, ‘मेरो जिन्दगी नै विन्दास छ । केही दिन खटेर काम गर्छु, केही दिन आराम गरेर बिताउँछु ।’

उनी मूर्तिकला पेशाबाट हुने आम्दानी नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीको भन्दा कम नहुने बताउँछन् । ‘मूर्तिकारले कमाइबाट घर बनाउन, गाडी चढ्न सजिलै सक्छ’, लामा भन्छन् ।

लामाको एक सपना छ, चितवनमा नै मूर्तिकला सम्बन्धी पढाइ सञ्चालन गर्ने, कलेज बनाउने । उनले २०६९ सालताका नवलपरासीको गैंडाकोटको सूर्यभक्त पतनादेवी कलेजमा मूर्तिकला सम्बन्धी कक्षा चलाउने जमर्को पनि गरे । तर त्यसले निरन्तरता पाउन सकेन । सीटीईभीटीले स्वीकृत पनि दिएन, सपना अधुरो भयो । यही अधुरो सपना पूरा गर्ने चाहना बलियो गरी बसेको छ उनको  मस्तिष्कमा ।

ललितकलामा ६ वर्ष पढाएका लामा भन्छन्, ‘अब ललितकलामा फर्किन्न, मेरो वर्षौं पुरानो सपना पूरा गर्नुछ, समयले मलाई चितवन ल्याइछाड्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment