Comments Add Comment

जीवन आचार्यको कविता : ‘आँधी’

आँधी आउन लागेको छ

सबै स्तब्ध छन्

कुनै आवाज छैन- ढुङ्गाजस्तै

यतिबेला बाघ पनि खरायोसँग सतर्क छ

 

आँधी आउन लागेको छ

र सबै थरथर कामिरहेका छन्

– अग्ला घरका बैठक र बार्दलीहरू जस्तै

धरहरा फेरि टुक्रिने डरले कामिरहेछ

– मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड

यति बेला पीडामा अनुवाद भैरहेछ

र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै छ

 

तल, धेरै तल जमीनमा, मानिसहरू-

साउतीजस्तै बात मारिरहेका छन्

आँधी समय-समयमा पाउनै पर्छ

यो आँधी-

प्रकृतिको सबभन्दा ठूलो जवाफ हो

अग्ला-अग्ला धरहराहरूलाई !

-जीवन आचार्य  ३० को दशकका प्रभावशाली कवि हुन् । युवा उमेरमै नेपाली साहित्यमा बलियो नाम बनाएका आचार्यको ३१ वर्षको अल्पायुमै निधन भयो । कविताबाहेक चित्रकारिता र अखबारी लेखनमा समेत उनको दर्बिलो उपस्थिति थियो । संस्थापन र सत्ता अनि शक्ति र अहमलाई चुनौती दिने आचार्यका यो कविता सान्दर्भीक भएकाले  पुनःप्रकाशन गरिएको छ । उनका ‘अन्तहीन सुरुआत’ (२०४१) र ‘जीवनका धुनहरू’ (कवितासङ्ग्रह, २०४७) प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment