Comments Add Comment

सम्पूर्ण भलिबल गतिविधि स्थगित गर्ने एनभीएको निर्णय

१८ वैशाख, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले केही समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ ।

एनभीएले शनिबार सूचना जारी गर्दै कोराना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै केही समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गरिएको जनाएको छ ।

‘नेपाल भलिबल संघले नेपाल सरकारको नियमानुसार कोरोना माहामारी (कोभिड–१९)ले देशका विभिन्न स्थानमा गरिएको लकडाउन र सम्पूर्ण स्वास्थ स्थितिलाई मध्यनजर राख्दै हाल भलिबल खेल गतिविधि केही समयको लागि स्थगित गरिएको जानकारी गराउदै आफू रहेको स्थानमा सुरक्षित रहन अनुरोध गर्दछ,’ संघले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सूचनामा भनेको छ ।

एनभीएको निर्णयपछि तत्कालका लागि कुनै पनि भलिबल खेल वा प्रशिक्षण हुने छैन । आगामी अगष्ट–सेप्टेम्बरमा चीनमा हुने एएफसी महिला भलिबल च्याम्पियनसिपको लागि नेपाली टोलीको तयारी यही वैशाखमा शुरु गर्ने तयारी भइरहेको थियो । तर अहिलेको अवस्थामा प्रशिक्षण शुरु नहुने भएको छ ।

एनभीएले पछिल्लो पटक चैतमा पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग आयोजना गरेको थियो । २०७६ सालमा कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि संघले २०७७ सालमा गरेको त्यो नै एक मात्र प्रतियोगिता थियो ।

यसैगरी पछिल्लो पटक यसै वैशाख दोस्रो साता सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment