Comments Add Comment

अस्पतालमा बेड भरिए, संक्रमित भर्ना गर्न तारन्तर फोन

१९ वैशाख, विराटनगर । शनिबार दिउँसोसम्म विराटनगरको नोबेल मेडिकल कलेजको कोभिड वार्डमा ३८ जना कोरोना संक्रमित थिए । तर रातको १० बज्न नपाउँदै संक्रमितको संख्या ७० पुग्यो । कलेजमा जम्मा ७० बेड मात्रै तयारी अवस्थामा छन् । ती बेड पछि भरिएपछि बेड खोज्दै तारन्तर फोन आइरहे । तर थप बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।

‘बिरामीका आफन्तले तारन्तर फोन गर्छन्, तर हामीसँग बेड खाली छैन,’ नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहाल भन्छन्, ‘हाम्रो योजना ११० बेड बनाउने हो, बाँकी बेड थप्ने काम गर्दैछौं ।’

शनिबार रातिबाट नयाँ बिरामी भर्ना नगरिएको उनले बताए । नोबेलमा १० वटा मात्रै आईसीयू थियो । गम्भीर प्रकृतिका बिरामी बढेपछि ३९ बेड बनाइएको उनले बताए ।

विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । विराटले शुक्रबारयता आएका बिरामीलाई भर्ना गरेको छैन । ‘१०६ जना संक्रमित र १४ जना अस्पतालका कर्मचारी गरी १२० बेड प्याक छ,’ अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवले भने, ‘दुई जनाको मृत्यु भएपछि इमर्जेन्सीमा पर्खिरहेकाहरुलाई कोभिड वार्डमा भर्ना गर्‍यौं ।’ उनका अनुसार संक्रमितको चाप ह्वात्तै बढेको छ । जसका कारण नयाँ बिरामी भर्ना गर्न गाह्रो छ ।

संक्रमितको चाप बढेपछि अस्पतालहरुमा बेड पाउन अर्काे बिरामीको मृत्यु कुनुपर्ने अवस्था आएको छ ।

विराटनगरमा संक्रमितको उपचार गर्ने निजी क्षेत्रका दुई मेडिकल कलेज हुन् । प्रदेश सरकारले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका नाममा छ्ट्टै अस्पताल सञ्चालन गरिरहेको छ । सो अस्पतालमा पनि २८ जना बिरामी उपचाररत छन् । ९६ बेडको उपचार केन्द्रमा गम्भीर प्रकृतिका बिरामीलाई मात्रै भर्ना गरिएको केन्द्रका प्रमुख बैजनाथ शाहले बताए । ‘बिरामी बढेका बढ्यै छन्,’ शाह भन्छन्, ‘अक्सिजन लेभल कम भएका बिरामी बढी आउँदैछन् ।’

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार अस्पतालमा भर्ना हुने बिरामीमध्ये प्रायःको एउटै समस्या अक्सिजन लेभल हो । ‘शरीरमा अक्सिजन लेभल कम भएका बिरामी धेरै आउँछन्,’ दाहाल भन्छन्, ‘चाप धान्न गाह्रो छ ।’

नोबेलले कोभिड बिरामीको उपचारका लागि बेड थप गर्ने तयारी गरिरहेको उनले बताए । विराटले पनि सात वटा आईसीयू बेड थप गरेर सञ्चालन गर्ने तयारी गरिरहेको  आइसोलेसन इञ्चार्ज देवले जानकारी दिए ।

९६ बेडको अस्पताल खुला, ८० बेडको बन्द

प्रदेश १ सरकारले कोशी अस्पताल विराटनगरसँगको सहकार्यमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

संक्रमितको चाप बढेपछि गत पुस ५ गते उद्घाटन भएको ९६ बेडको सुविधासम्पन्न उपचार केन्द्र प्रदेश सरकारले सञ्चालन गर्‍यो । शुक्रबार नेशनल ट्रेडिङको गोदाममा बनाइएको ९६ बेडको उपचार केन्द्र सञ्चालन गरेकै दिन नेशनल ट्रेडिङको दुई तले भवनमा बनाएको ८० बेडको उपचार केन्द्र बन्द गरिएको छ ।

उपचार केन्द्रका प्रमुख वैजनाथ साहका अनुसार ८० बेडको उपचार केन्द्रका सबै बेडमा पाइपलाइन पुर्‍याउन र मर्मतका लागि बन्द गरिएको हो । उपचार केन्द्रमा ३१ बेडमा मात्रै पाइपलाइन छ । मर्मतको काम सकिएपछि चाँडै संक्रमित भर्ना गर्ने प्रदेश सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment