Comments Add Comment

गण्डकीमा कोरोना संक्रमण र मृत्यु अहिलेसम्मकै उच्च

दिनमै ५७६ संक्रमित र ८ को मृत्यु, एक हप्तामा २१ जनाको ज्यान गयो

२० वैशाख, पोखरा । गण्डकी प्रदेशमा आइतबार एकै दिन ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबारभन्दा संक्रमित संख्या २७४ ले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा संक्रमित संख्या पुगेको हो । पहिलो लहरमा एकदिनमा सबैभन्दा धेरै ३४२ जनामा संक्रमण देखिएको थियो ।

आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । चिकित्सकहरूले कोरोनाको संक्रमण समुदायमा भुसको आगोसरी फैलिएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा ११ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा ५७६ जना अर्थात् झण्डै ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यो पनि कोरोना संक्रमणबाट मृत्यु हुनेमा प्रदेशको अहिलेसम्मकै ठूलो संख्या हो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३२ पुगेको छ ।

कास्की र पोखरामा पनि कोरोना संक्रमणले उच्च विन्दु छोएको छ । कास्कीमा आइतबार ३६८ जनामा संक्रमण पुष्टि भई सक्रिय संक्रमितको संख्या १३ सय १५ जना पुगेको छ । गण्डकी प्रदेशको कुल संक्रमितमध्ये कास्कीका ६५ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

‘यो भनेको निकै भयावह स्थिति सिर्जना हुनसक्ने संकेत हो’ शर्माले भने, ‘सरकारले कोरोनासँग लड्न गृहकार्य गरिरहेको छ, जनताले हेलचेक्र्याइँ गर्ने हो भने थेग्न सकिन्न ।’

हप्तामै २१ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । आइतबार मात्रै पोखरामा उपचाररत ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार ३ जनाको मृत्यु भएको थियो ।

गण्डकीमा चैत ३१ गतेसम्म मृत्यु हुनेको संख्या २०७ जना थियो । अहिले त्यो संख्या २३२ पुगिसकेको छ । पछिल्लो समय कोरोनाका बिरामीहरूमा छिट्टै सास फेर्न गाह्रो हुने र हाइ फ्लो अक्सिजनको आवश्यक पर्नेको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन् ।

‘संक्रमित र मृतकको संख्या हेर्दा डरलाग्दो छ । पहिलो लहरको कोरोनाभन्दा अहिले तीव्र गतिमा फैलिइरहेको र कडा खालको पनि देखिएको छ’ डा. शर्माले भने, ‘पछिल्लो समय धेरै कारणले लापरबाही बढेको छ । सरकारको मुख मात्र ताकेर हुँदैन ।’

गण्डकी प्रदेशमा ५० बेडको सरुवा तथा संक्रामक रोग अस्पताल अहिले भरिभराउ छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० बेडमध्ये २५ बेड भरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

‘यो भरिनासाथ गण्डकीकै अर्को वार्डमा कोरोनाका बिरामी राख्ने तयारी गरिरहेका छौं, यो दुई हप्तामा कम्तीमा १०० बेड तयार हुन्छ’ डा. शर्माले भने, ‘मणिपाल शिक्षण अस्पतालले १०४ बेड कोभिडलाई छुट्याउने बताएको छ ।’

गण्डकी मेडिकल कलेजमा १२३, मेडिप्लसमा ५९ बेड, फिस्टेलले २५ बेड दिने बताएको निर्देशक शर्माले बताए । ‘जहाँ जहाँ कोरोनाको उपचार हुन्छ, बिरामीको उपचारका लागि सहजीकरण गर्ने सरकारले कर्मचारी नै पठाउने तयारी गरेका छौं’ शर्माले भने, ‘कोभिडका बिरामीका कारण अरू बिरामीले उपचार नपाउने अवस्था नआओस् भनेर पनि सचेत छौं ।’ अब ५० बेडभन्दा साना अस्पतालसँग पनि सहमति गर्ने तयारी गरेको उनले बताए ।

स्वास्थ्यमा समस्या नहुँदासम्म घरमै बस्न प्रेरित गर्ने र बिरामीको स्वास्थ्य बिग्रन थालेपछि उपचारको पहुँच बढाउनेबारे कोभिड–१९ संकट व्यवस्थापन समितिमा पनि छलफल भएको उनको भनाइ छ ।

सुस्त सरकारी तयारी

वैशाखको पहिलो हप्ता नै दोस्रो लहरको कोरोना संक्रमणको दर उच्च हुन सक्ने संकेत देखिइसकेको थियो । तर, गण्डकी प्रदेशमा भने सत्ताको खिचातानीका कारण दोस्रो लहरको कोरोनातिर सरकारको ध्यान पुग्न सकेन ।

पहिलो लहरमा सञ्चालन भएका जिल्ला अस्पतालका आइसोलेसन गत माघ र फागुनमै बन्द भइसकेका थिए । प्रदेशभरिका कोरोनाका बिरामीलाई प्रदेशको एक मात्र संक्रामक तथा सरुवा रोग अस्पतालमा ल्याउने व्यवस्था सरकारले गरेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र पनि बन्द भइसकेको थियो ।

‘अहिलेको अवस्थाको संकेत वैशाखको शुरुमै मिलेको थियो । तर, हाम्रो ध्यान त्यता पुगेन । प्रदेशको संक्रामक रोग अस्पताल भरिन लागेको पनि डेढ/दुई हप्ता भइसक्यो’ संक्रामक अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन भन्छन्, ‘पहिले नै प्रदेशका ११ वटै जिल्लाका सरकारी अस्पताल फेरि तयार राखिनुपथ्र्यो । तत्काल एक्सनमा जान हामीले अझै ढिला ग¥यौं ।’

वैशाख २ गते नै स्वास्थ्य मन्त्रालयले परिपत्र गरेर कोरोना संक्रमितको उपचार गर्न कम्तीमा ५० प्रतिशत बेड तयार राख्न निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि निर्देशनअनुसार बेड तयार भएका छैनन् ।

सक्रिय संक्रमितमध्ये आइतबारसम्म १ हजार ८७ जना घरमै आइसोलेसनमा बसेका छन् । घरमै बसेका संक्रमितमा स्वास्थ्यमा समस्या देखिए अस्पतालमा बेड नपाएर भौंतारिनुपर्ने अवस्था आउने गौचनको अनुमान छ ।

बजेटको व्यवस्था गर्ने, जनशक्ति माग्ने

गण्डकी प्रदेश सरकारले कोभिडका बिरामी राख्न आइसोलेसन बनाउन बजेटको व्यवस्था गर्ने भएको छ । अभाव भएका ठाउँमा जनशक्ति उपलब्ध गराउन पनि आइतबार बसेको प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू र एचडीयूसहितको पूर्वाधार निर्माण गर्न सरकारले ६२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले संघीय सरकार मातहत रहेको प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले प्रदेशका लागि आवश्यक पर्ने विभिन्न विधाका चिकित्सक उपलब्ध गराउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ । १० जना जनरल फिजिसियन, १० जना एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने समितिले निर्णय गरेको हो । यी जनशक्ति नभएकै कारण प्रदेश संक्रामक अस्पतालको आईसीयू सञ्चालन हुनसकेको छैन ।

आइसोलेसन किटको अभाव हुन नदिन सामाजिक विकास मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । कम्तीमा तीन महिनालाई आवश्यक किटका लागि लाग्ने रकम यकिन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गर्ने निर्णय भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ का संक्रमितको प्रभावकारी उपचार गर्न आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्राविधिक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी यथाशीघ्र पदपूर्ति गर्ने व्यवस्था प्रतिष्ठानले मिलाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको अवस्था गरी निषेधाज्ञा जारी गर्ने, स्वास्थ्य मापदण्ड पालना गराउने काम गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई प्रदेशले निर्देशन दिएको छ ।

जिल्ला–जिल्लामा निषेधाज्ञा

कोरोना संक्रमणको दर तीव्र गतिमा बढिरहेका बेला गण्डकीका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेका छन् । कास्कीमा १५ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । तर, निषेधाज्ञा खुकुलो हुँदा अझै संक्रमण बढ्न सक्ने चिकित्सकहरूले बताइरहेका छन् ।

गण्डकीमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला भएकाले लकडाउन नै हुनुपर्ने कतिपयको माग छ । निषेधाज्ञालाई कडा बनाउने तर लकडाउनै गरिहाल्ने तत्काल निर्णय नहुने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम बनाउँछन् ।

स्याङ्जामा पनि संक्रमण दर उच्च गतिमा बढेपछि २१ गतेदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । स्याङ्जामा अहिले २१२ जना संक्रिय संक्रमित छन् । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

कोरोना संक्रमण दर बढ्दै गएपछि बागलुङ नगरपालिकामा पनि वैशाख २१ देखि १० दिनकै लागि निषेधाज्ञा गरिने भएको छ । आइतबार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment