२० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षक प्रदीप हुमागाँईलाई पदमुक्त गरेको छ ।
एनएसएलमा चार खेलसम्म जितविहीन बनेपछि ललितपुरले हुमागाँईलाई हटाएको हो । ललितपुरले सोमबार स्टेटमेन्ट जारी गर्दै उनलाई पदमुक्त गरेको जानकारी गराएको छ ।
आइतबार पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिएपछि ललितपुरले चार खेलसम्म जित हात पार्न सकेको छैन । पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको ललितपुरले त्यसयता लगातार तेस्रो बराबरी खेलेको हो ।
सात टिम सहभागी लिगमा ललितपुर ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।
हुमागाँईले ललितपुर सिटी एफसीको प्रमुख रशिक्षक पदबाट हट्ने औपचारिक अनुरोध क्लबमा बुझाएको ललितपुरले जनाएको छ । उनले नतिजा राम्रो नभएकाले प्रशिक्षक पदबाट हट्ने निर्णय गर्दै यसको लागि पूर्णजिम्मेवारी लिने आफ्नो स्टेटमेन्टमा जनाएको पनि ललितपुरले उल्लेख गरेको छ ।
पोखरासँग बराबरी खेलेपछि आइतबारै हुमागाँईले क्लबमा राजीनामा बुझाएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक गरेका थिए ।
अब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक राजु तामाङले नेपाल सुपर लिगमा बाँकी समयमको लागि अन्तरिक प्रशिक्षकको रुपमा काम गर्नेछन् ।
ललितपुरमा व्यवस्थापक आलोक जंग शाहीले हुमागाँईलाई उनको प्रयासका लागि धन्यवाद दिँदै राजु तामाङले बाँकी खेल सम्हाल्ने बताए ।
‘राजु तामाङ र प्रतिभावान खेलाडी रहेको टिमप्रति विश्वास छ । हामीसँग अझै दुई खेल बाँकी छ र उत्कृष्ट रुपमा सिजन सकाउन सबै केन्द्रित हुनेछौँ,’ शाहीले भने ।
ललितपुरले अब बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4