Comments Add Comment

गण्डकी प्रदेश प्रमुख नियुक्त सीता पौडेल को हुन् ?

२० वैशाख, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त भएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख पूर्वउपसभामुखसमेत हुन् ।

गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिष्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी प्रधानमन्त्री कार्यालयमा विज्ञ सल्लाहकार समूहमै छिन् । उनी एमालेको महिला संगठन अखिल नेपाल महिला संघको महासचिव थिइन् ।

‘उहाँ निरन्तर कम्युनिष्ट आन्दोलनमा निरन्तर खटिनुभएकी व्यक्ति हो । महिला आन्दोलनमा उहाँले नेतृत्व नै गर्नुभएको थियो’ प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले भने, ‘पौडेललाई गण्डकी प्रदेश प्रमुख बनाएर प्रधानमन्त्रीले न्याय गर्नुभएको छ ।’

नेकपा विभाजन हुँदा पौडेल ओली समूहमै लागेकी थिइन् । उनको परिवार नै राजनीतिमा सक्रिय रहेको सांसद अधिकारीले जानकारी दिए । एमाले गण्डकी प्रदेशका सहइन्चार्ज किरण गुरुङका अनुसार पौडेल भूमिगतकालदेखि नै सक्रिय महिला नेतृ हो ।

पौडेल गण्डकी प्रदेशको तेस्रो प्रदेश प्रमुख हुन् । यसअघि नै प्रदेश प्रमुखको रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसकेका छन् ।

पोखरा पुरुन्चौरमा जन्मेकी ६५ वर्षीया पौडेलले स्वार्थका कारणमात्रै आफूलाई नियुक्त गरिएको भन्ने विश्वास नलाग्ने प्रतिक्रिया दिइन् ।

सीता पौडेलको राजनीतिक यात्रा

पोखरा पुरन्चौरमा जन्मेर चितवन बसाइँ सरेकी पौडेल लामो समयदेखि कम्युनिष्ट पार्टीमा आवद्ध छिन् । १४/१५ वर्षको उमेरमै विद्यार्थी आन्दोलनमा लागेको बताउने पौडेल प्रधानमन्त्री ओलीको विश्वासपात्र हुन् ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ को वीरेन्द्रनगर निवासी पौडेल विद्यार्थी आन्दोलन हुँदै राजनीतिमा होमिएकी थिइन् । विद्यार्थी आन्दोलनभन्दा धेरै समय अखिल नेपाल नेपाल महिला संघको राजनीतिमा लागेकी पौडेल क्रान्तिकारी महिला अध्ययन दल हुँदै अनेमसंघमा होमिएकी हुन् । पौडेल पार्टीको कोर्डिनेसन केन्द्रदेखि नै सक्रिय थिइन् ।

२०३५ सालमा बनेको अनेम संघको २०३७ सालमा गाउँ कमिटी अध्यक्ष बनेकी पौडेल ०४० सालमा चितवन जिल्ला अध्यक्ष निर्वाचित भएकी थिइन् । २०४३ सालमा अनेम संघको केन्द्रीय सदस्य बनेकी पौडेल त्यसपछि निरन्तर २ कार्यकाल महासचिव बनिन् । अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी अनेमसंघ अध्यक्ष हुँदा उनी महासचिव थिइन् । पोखराको राष्ट्रिय सम्मेलनबाट विद्यादेवी फेरि अध्यक्ष हुँदा उनी उपाध्यक्ष बनेकी थिइन् ।

एमाले र माओवादी एकीकरण भएर नेकपा बनेपछि अनेमसंघको सहसंयोजक पौडेलले पुरानै पार्टी ब्युँतिएपछि संयोजकको जिम्मेवारी पाएकी थिइन् । गाउँ, जिल्ला, पार्टी कमिटी, राष्ट्रिय परिषद सदस्य, अञ्चल कमिटी हुँदै पौडेल नवौं महाधिवेशनबाट निर्वाचन जितेर केन्द्रीय सदस्य बनेकी हुन् ।

२०५६ सालमा चितवन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार बनेकी पौडेलले हार व्यहोरिन् । पहिलो संविधान सभामा समानुपातिक सांसद बनेर संसद छिरेकी पौडेल अहिले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिइन् । आइए पास गरेर १५ वर्ष चितवनमै शिक्षण पेशासमेत गरेकी पौडेल शिक्षक आन्दोलनमा पनि लागेकी थिइन् ।

२०३६ साल, २०४६ साल र जनआन्दोलन २०६२÷६३ मा महिला मोर्चामा होमिएकी पौडेलले ठूलो लाभको पद भने नपाएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment