Comments Add Comment

प्रधानमन्त्रीको राजनीतिक आशय राम्रो देखिएन : माओवादी केन्द्र

फाइल तस्वीर

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने निर्णयमा पुगेका प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक ठानेको भन्दै मन्त्रिपरिषद्को सिफारिशमा २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान भएको छ ।

माओवादी केन्द्रले भने विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने कदम संविधानको मर्म र पराम्परागत अभ्यासभन्दा भिन्न रहेको र राजनीतिक आशय सही नभएको बताएको छ । काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्रीको कदमलाई सचेततापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको भन्दै माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिंदैन । यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक छ ।’

बैठकले लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले नयाँ प्रदेश सरकार बनाइएको भन्दै आपत्ति जनाएको छ । लोकतान्त्रिक मूल्यमान्यता र राजनीतिक नैतिकताको चरम स्खलनको चरम रुप भएको भन्दै माओवादी केन्द्रले लुम्बिनीको सरकार अवैधानिक भएको दाबी गरेको छ । ‘यसविरुद्ध प्रदेशमा रहेका सबै पार्टीले जुन कदम चालेका छन्, त्यसलाई समर्थन गर्छौं’ नेता श्रेष्ठले भने ।

बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रमुखलाई बलजफ्ती, विना कारण पदमुक्त गरिएको र स्वेच्छाचारी प्रवृत्ति भएको निष्कर्ष निकालेको छ । नेता श्रेष्ठले भने, ‘समग्रतामा प्रधानमन्त्री केपी ओली र उनको सरकार र गुटले देशलाई प्रतिगमनको दिशातिर लैजान एकपछि अर्को कदम चालिरहेको पार्टीको निष्कर्ष झन्झन् पुष्टि हुँदै गएको विश्लेषण गर्दै संविधान र लोकतन्त्रको रक्षाका निम्ति सचेत र एकताबद्ध रहन अपील गर्ने निर्णय गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment