Comments Add Comment

धनगढी एनएसएलको प्लेअफमा

२२ वैशाख, काठमाडौं । पोखरा थण्डर्सलाई पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसल) को प्लेअफमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा वैकल्पिक खेलाडी दर्शन गुरुङको निर्णायक गोलको मद्दतमा धनगढीले पोखरालाई १-० ले पराजित गरेको हो ।

जितपछि ५ खेलबाट १० अंक जोडेको धनगढी अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । धनगढीले अब लिगमा एक खेल खेल्न बाँकी छ । उक्त खेलमा जस्तो नतिजा आएपनि धनगढी शीर्ष चारमा रहने पक्का छ ।

लिगमा शीर्ष दुईमा रहन सके धनगढीले प्लेअफमा फाइनल प्रवेशका लागि खेल्नेछ । धनगढीले ५ मध्ये ३ खेल जित्दा एक खेल बराबरी खेलेको थियो । यस्तै एक खेलमा पराजित भएको थियो ।

लिगमा दोस्रो हारपछि ५ खेलबाट ५ अंक मात्र जोडेको पोखरा पाँचौ स्थानमा छ र प्लेअफ पुग्ने सम्भावनामा धक्का लागेको छ । शीर्ष चारमा पर्न पोखराले अब आफ्नो अन्तिम खेल जित्दै अन्य खेलको नतिजा समेत कुर्नुपर्नेछ ।

पहिलो हाफमा पोखराले राम्रो खेले पनि गोल गर्न सकेन । ६८ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै  धनगढीलाई अग्रता दिलाएका थिए । पोखराका मानबहादुर तामाङले क्लियर गर्न खोजेको बलमा दर्शनले हाफ भलिमार्फत उत्कृष्ट गरे ।

दर्शन ३७ औं मिनेटमा नाइजेरियन खेलाडी ओलावाले आफिज घाइते भएपछि उनको स्थानमा मैदान प्रवेश गरेका थिए ।त्यसपछि खेलमा थप गोल नहुँदा दर्शनको गोल नै धनगढीलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

विजेता टिम धनगढीका अशोक खवास इमर्जिङ प्लेअर अफ दि म्याच बने । उनले नगद १० हजार प्राप्त गरे । यस्तै खेलको म्यान अफ दि म्याच बन्दै धनगढीका कप्तान किरण चेम्जोङले नगद २५ हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment