Comments Add Comment

अस्पतालहरूलाई संक्रमितको चाप थेग्न हम्मेहम्मे

स्वास्थ्य मन्त्रालयका विशेषज्ञ भन्छन्- अस्पतालले थेग्न नसक्ने अवस्था आएको छैन

फाइल तस्वीर

२५ वैशाख, काठमाडौं । दिनदिनै कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ त्यसको चाप अस्पतालले थेग्नुपरेको छ ।

बिरामीको चाप बढेपछि कतिपय अस्पतालले भर्ना लिन नसक्ने घोषणा गर्न थालेका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि अस्पतालले थेग्न नसक्ने गरी चाप बढिसकेको बताउँछन् ।

अस्पतालमा २३० जना संक्रमित उपचाररत छन् । अस्पतालमा भर्ना हुन आउने अधिकांशको अवस्था गम्भीर छ । उनीहरू सबैलाई हाईफ्लो अक्सिजन दिनुपर्ने अवस्था छ । इमर्जेन्सीमा पालो कुरेर बस्नेको संख्या पनि उत्तिकै छ ।

उनका अनुसार अस्पतालले अहिले हाईफ्लो अक्सिजन र जनशक्तिको अभाव बेहोरिरहेको छ । अस्पतालले २५ जना मेडिकल अफिसर र डेढ सय जना नर्स माग गरेको थियो । तर निकै कमले मात्र आवेदन दिएका छन् । जबकि केही समय अघि १५ जना स्टाफ नर्स माग गर्दा १७ सय जनाले आवेदन दिएका थिए । कोभिड फोकल पर्सन डा. दास भन्छन्, ‘हामीलाई हाईफ्लो भएको अक्सिजन व्यवस्थापन गर्न एकदमै गाह्रो भइरहेको छ । जनशक्तिको अभाव उस्तै छ ।’

अस्पतालमा संक्रमितको चाप बढेको छ । जनशक्ति अभाव हुँदै गएको छ । जनशक्ति कम हुँदा अस्पतालले २५ जना मेडिकल अफिसर र डेढ सय नर्स माग गरेको थियो । बिहीबार एक जना मेडिकल अफिसर र ३५ जना नर्सले आवेदन दिएका छन् ।

दैनिक ८ देखि १० जना जनशक्ति त अक्सिजन व्यवस्थापन गर्नमै लाग्ने उनको भनाइ छ ।

८० प्रतिशत संक्रमित होम आइसोलेसनमा बसे पनि २० प्रतिशतलाई अक्सिजन सपोर्ट चाहिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका प्रमुख डा. कृष्ण पौडेल बताउँछन् ।

देशभर करीब २२ हजार बेड क्षमता छ । तर हाईफ्लो अक्सिजन दिने सुविधा भएका बेड कम छन् अहिले तत्काल हाईफ्लो अक्सिजनको मात्रा बढाउनुपर्ने र जनशक्ति पनि कम भएकाले धान्न गाह्रो हुँदै गइरहेको उनले बताए । डा. पौडेल भन्छन्, ‘उपलब्ध क्षमताले बिरामीको चाप धान्न गाह्रो छ ।’

पाटन अस्पतालमा पनि संक्रमितको चाप बढेकाले नन्–कोभिड बेडहरूलाई कोभिड बनाउन थालिएको अस्पताल निर्देशक प्रा. डा. रवि शाक्य बताउँछन् । अस्पतालको ६५० बेडमध्ये तीन सय भन्दा बढी बेड संक्रमितको लागि छुट्याएको उनले बताए । भन्छन्, ‘अवस्था जटिल छ, धान्नै नसकिने अवस्था नआउला भन्न सकिन्न ।’

के छ सरकारको तयारी ?

संक्रमणको दर बढ्दै जाँदा उपचार सेवा प्रभावकारी बनाउन परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ द्रुत बनाउनुपर्ने ईसीसीडीका प्रमुख डा. पौडेल बताउँछन् । बेलैमा संक्रमित पत्ता लगाउन सक्यो भने बचाउन सकिने अवस्था बढिरहने उनको भनाइ छ । भन्छन्, ‘समयमै थाहा पाइयो भने त्यही अनुसारको आइसोलेसनमा बस्ने, उपचार गर्ने हुँदा एक्कासी अवस्था बिग्रनबाट जोगाउन सकिन्छ ।’

सरकारी, निजी अस्पतालहरू, मेडिकल कलेज, प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक भवन, वडा क्लिनिकहरूलाई प्रयोगमा ल्याउनुपर्ने डाक्टरहरू बताउँछन् । यस्ता स्थानमा सामान्य लक्षणसहितका र सामान्य अक्सिजनले धान्नसक्ने संक्रमितलाई राख्दा व्यवस्थापन चुस्त हुने उनीहरूको तर्क छ । हाईफ्लो अक्सिजन र जनशक्तिको व्यवस्थापन तथा परिचालन तत्काल हुनुपर्ने उनीहरूको भनाइ छ । अहिले अस्पतालहरूले जनशक्ति अभावको समस्या भोगिरहेको बताइरहेका छन् । त्यसकारण जनशक्ति परिचालनमा प्रदेश सरकारबीच समन्वयात्मक भूमिका हुनुपर्ने डा. पौडेल बताउँछन् । भन्छन्, ‘अहिले एउटा प्रदेश अथवा प्रदेशभित्रै पनि सबै अस्पतालको अवस्था एउटै छैन । चाप भएका अस्पतालमा चाप कम भएका अस्पतालको स्वास्थ्यकर्मी तानेर खटाउनुपर्छ । यो तत्काल गर्नुपर्छ ।’

केन्द्र सरकारले यसरी परिचालन गर्न आदेश दिइसकेको अवस्थामा प्रदेश सरकारले यो कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार आवश्यक अक्सिजन र जनशक्ति भएको अवस्थामा प्राङ्गणमा राखेर भए पनि उपचार गर्न सकिन्छ । सरकारले सरकारी, निजी केही नभनी सबै अस्पतालहरूलाई संक्रमितको उपचारमा सक्रिय बनाउन सके नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थिति नआउने पाटन अस्पतालका निर्देशक प्रा. डा. रवि शाक्य बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. रोशन पोखरेल भन्छन्– अस्पतालले थेग्न नसक्ने अवस्था आएको छैन । अहिलेसम्म अस्पताल आएका बिरामीहरूको व्यवस्थापन भइरहेको छ ।

उनी भन्छन्, ‘सरकारले सबै क्षेत्रलाई सक्रिय बनाउनुपर्छ । मेडिकल कलेजका विद्यार्थीहरूलाई पनि परिचालन गर्न सकियो भने केही हदसम्म जनशक्ति व्यवस्थापन हुन्छ ।’

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल भने अहिलेसम्म अस्पतालहरूको नियमित संयन्त्रले थेग्न नसक्ने अवस्था नआएको दाबी गर्छन् ।

‘अस्पतालले थेग्न नसक्ने अवस्था आएको छैन । अहिलेसम्म अस्पताल आएका बिरामीहरूको व्यवस्थापन भइरहेको छ,’ उनी भन्छन् । बिरामीहरूले डाक्टरलाई जाँच नगराई आफैं हाईफ्लो अक्सिजन, आईसीयू र भेन्टिलेटर खोज्दा समस्या भएको बताउँछन् ।

सरकारले नन्–कोभिड बेडहरूलाई कोभिड बेड बनाइरहेको र उपचार बाहेकको प्रयोजनका लागि घर तथा उद्योगहरूमा राखिएका सिलिन्डर जफत गर्नुका साथै बजारमा उपलब्ध भएका हाईफ्लो अक्सिजन सिलिन्डर किन्ने तयारी गरिरहेको उनले बताए । ‘सरकारले सक्दो व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ । जनशक्ति तत्काल बढाउन सकिन्न, भएकालाई व्यवस्थित परिचालन गरिन्छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

चेनस्मोकर भट्ट

Advertisment