+
+

प्रशासन सुधारमा ट्रेड यूनियनको भूमिका     

केशव खतिवडा केशव खतिवडा
२०७८ वैशाख २५ गते १४:४३

कामदारहरूको औपचारिक रूपमा संगठित, निश्चित विचारधाराबाट सञ्चालित गतिशील समूहलाई ट्रेड यूनियन भनिन्छ । औपचारिक ट्रेड यूनियनको शुरुआत भने बेलायतमा ‘कम्बिनेसन एक्ट १८२४’ लागू भएपछि भयो ।

विश्वको पहिलो औपचारिक ट्रेड यूनियन ‘ट्रेड युनियन एशोसिएसन अफ इङ्गलैण्ड’ लाई मानिन्छ । जसले सन् १८३६ मा विभिन्न माग पटक–पटक बेलायती संसदसमक्ष प्रस्तुत गर्‍यो, तर ती सबै माग अस्वीकृत भए ।

सन् १८४८ मा माक्र्स र एंगेल्सले प्रकाशित गरेको कम्युनिष्ट पार्टीको घोषणापत्रमा ‘विश्वका मजदूर एक हौं’ भन्ने आह्वान र विश्व ट्रेड यूनियन आन्दोलनको क्रमिक विकासको परिमाण सन् १८८६ मे १ देखि ४ सम्म अमेरिकाको शिकागो शहरमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग राखेर मजदूरहरूले आन्दोलन गरे । तर अमेरिकी सरकारले निर्ममताका साथ दमन गर्‍यो । केही मजदूरको हत्यासम्म भयो ।

सन् १८८९ जुलाई २० मा एंगेल्सको अगुवाईमा अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन भयो, जसले अमेरिकाको शिकागो शहरमा मारिएका श्रमिकहरूलाई शहीदको सम्मान प्रदान गर्‍यो । हरेक वर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय गर्‍यो । जसको निरन्तरता स्वरुप हाल विश्वभर सरकारी स्तरबाट मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।

सन् १८८६ मे १ देखि ४ सम्म अमेरिकाको शिकागो शहरमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग राखेर मजदूरहरूले आन्दोलन गरे । तर अमेरिकी सरकारले निर्ममताका साथ दमन गर्‍यो । केही मजदूरहरूको हत्यासम्म भयो ।

ट्रेड युनियन कुनै राजनीतिक पार्टी जस्तो हुँदैन, तर ट्रेड यूनियन आन्दोलन गैर राजनीतिक हुँदैन । त्यसकारण विश्व ट्रेड यूनियन आन्दोलन स्थापना र विकासको क्रम हेर्दा यो आन्दोलन कम्युनिष्ट पार्टी वा समाजवादी धार नजिक रहेर विकास भएको पाइन्छ ।

ट्रेड यूनियन आन्दोलनको प्रमुख उद्देश्य ट्रेड यूनियन अधिकारको प्राप्ति हो । ट्रेड युनियन अधिकार भन्नाले संगठित भई संघ–संस्था खोल्न पाउने अधिकार, सामूहिक सौदाबाजीको अधिकार र कार्यरत रहेको प्रतिष्ठानको अस्तित्वमाथि नकारात्मक असर नपर्ने गरी आफ्ना जायज माग पूरा गर्नको लागि दबाबस्वरुप बन्द, हडतालसम्म गर्ने अधिकारलाई जनाउँदछ ।

ट्रेड युनियनको उद्देश्य

  • व्यवस्थापनको निरंकुशताको अन्त्य र श्रमिक प्रजातन्त्रको स्थापना ।
  • सामूहिक सौदाबाजीद्वारा विवादको समाधान ।
  • आर्थिक, सामाजिक र सेवा सुरक्षाको ग्यारेण्टी ।
  • कार्य वातावरणमा सुधार ।
  • व्यवस्थापनमा साझेदारी ।
  • वृत्ति–विकासको समान अवसरको ग्यारेण्टी ।
  • आत्मसम्मान ।
  • संस्थाको दक्षता र उत्पादकत्वमा वृद्धि ।
  • लाभांश प्राप्तिको सुनिश्चितता ।
  • सामाजिक उत्तरदायित्व वहन, इत्यादि ।

ट्रेड युनियनको कार्य

  • प्रशासन/व्यवस्थापनको समसामयिक सुधार गर्न रचनात्मक र सृजनात्मक सुझाव दिने ।
  • विवाद/द्वन्द्वको निरुपण ।
  • सुशासनको प्रत्याभूति र प्रतिबद्धता ।
  • राष्ट्रिय एकताको प्रवद्र्धन ।
  • मुलुकको आर्थिक समृद्धि र विकासप्रतिको प्रतिबद्धता ।
  • ट्रेड यूनियनका फाइदा
  • सामूहिक भावनाको विकास ।
  • शान्ति कार्य वातावरण ।
  • विवादको समाधान ।
  • आत्मसम्मानको अनुभूति ।
  • आत्मविश्वासमा वृद्धि ।
  • कामदारहरूमा समान अवसरको प्रत्याभूति ।
  • अतिरिक्त सुविधाको प्राप्ति ।
  • आर्थिक, सामाजिक तथा सेवा सुरक्षाको प्रत्याभूति ।
  • व्यवस्थापन र कामदारहरूको बीचमा स्वस्थ सम्बन्ध र सहकार्य, इत्यादि ।

नेपालमा ट्रेड यूनियन आन्दोलनको जन्म सुषुप्त रूपमा मकै पर्वबाट भएको मानिन्छ । औपचारिक रूपमा भने २००३ साल फाल्गुन २० गते स्थापित अखिल नेपाल ट्रेड यूनियन कांग्रेस नामले मजदूरहरूको बीचमा प्रचारित तर औपचारिक स्वरुप नभएको संस्था हो । जुन संस्था राणशाहीविरुद्ध आन्दोलनका लागि कम्युनिष्ट र प्रजातान्त्रिक समाजवादीहरू मिलेर बनाएका थिए ।

ट्रेड यूनियन मात्र त्यस्तो संस्था हो जसले आन्दोलनसम्म गर्ने वैधानिकता वा इजाजत पाएको हुन्छ । यो वैधानिक इजाजतलाई प्रयोग गर्न सकिएन भने नेतृत्वको क्षमता माथि प्रश्न खडा हुन्छ ।

२००३ सालमा नै विराटनगरमा मजदूर युनियन गठन भयो । २००६ सालमा मजदूर सभाको गठन गरियो । सार्वजनिक क्षेत्रमा भने पहिलोपटक औपचारिक संस्थाका रूपमा २००७ साल माघ ४ गते नेपाल न्यूनवैतनिक कर्मचारी संघको गठन भयो । २०४६ सालको जनआन्दोलनपश्चात सार्वजनिक र निजी क्षेत्रमा राजनीतिक दलपिच्छेका ट्रेड यूनियनहरू स्थापना भए ।

यसरी विश्व ट्रेड यूनियन आन्दोलनको एउटा अंशको रूपमा रहेको नेपालको ट्रेड युनियन आन्दोलन मुलुकमा प्रजातन्त्रको स्थापना, पेशागत हकहित र अधिकारको सुनिश्चितताको लागि भएको पाइन्छ । तर २१औं शताब्दीको ट्रेड यूनियन आन्दोलन विगतको परम्परामा मात्र सीमित रहनुहँुदैन । नेपालको ट्रेड यूनियन आन्दोलनले सर्वप्रथम राजनीतिक दलको दासताबाट मुक्त हुनुपर्दछ ।

ट्रेड यूनियन आन्दोलनको गौरवपूर्ण विरासत भावी पुस्तालाई सुम्पने हो भने पेशागत हकहित र अधिकारको साथै सामाजिक उत्तरदायित्वको रूपमा राष्ट्रियता र जनजीविकाको सवाल, प्रशासनमा आमूल परिवर्तन, सार्वजनिक सेवा प्रवाहमा सुशासनको प्रत्याभूति, प्रशासनिक संघीयताको कार्यान्वयन, डिजिटल इकोनोमीको प्रवद्र्धन र व्यवस्थापन जस्ता प्रगतिशील मागहरूलाई आन्दोलनको विषय बनाउनुपर्दछ ।

सरकारको सामाजिक साझेदार भएको नाताले राष्ट्र, जनता र पेशागत क्षेत्रको सुधार र विकासको विषयहरूमा एजेण्डाको रूपमा उठाउनुपर्दछ । जसका लागि नेतृत्व राजनीतिक दलको दासताबाट मुक्त, निडर, दूरदर्शी हुनुपर्दछ ।

सार्वभौम तथ्यमा आधारित सत्य के हो भने आन्दोलनकारी शक्ति समाजको सबभन्दा प्रगतिशील र अग्रग्रामी हुन्छ ।

ट्रेड यूनियन मात्र त्यस्तो संस्था हो जसले आन्दोलनसम्म गर्ने वैधानिकता वा इजाजत पाएको हुन्छ । यो वैधानिक इजाजतलाई प्रयोग गर्न सकिएन भने नेतृत्वको क्षमता माथि प्रश्न खडा हुन्छ ।

नेपालमा पहिलोपटक निजामती सेवा ऐन २०४९, दफा ५३ को उपदफा (३) तथा निजामती सेवा नियमावली २०५० को विषय ११७ को, उपनियम १२ बमोजिम निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनको निर्वाचन मिति २०७३ जेठ  १९ गते सम्पन्न भई चारवर्षे कार्यकाल पनि पूरा भएको छ ।

२०७२ मा नयाँ संविधान घोषणासँगै मुलुक संघीय शासन प्रणालीमा गएको हुँदा यो अवधि निजामती प्रशासनको संक्रमणकालको अवस्था थियो ।

आधिकारिक ट्रेड युनियनको नयाँ बन्ने ऐन कानूनमा प्रतिनिधित्वको व्यवस्था वा भूमिका ट्रेड यूनियनको रिक्त हुने पदहरूमा पदपूर्ति सम्बन्धी कार्यविधि, निष्पक्ष कर्मचारी समायोजन, तीन तहको निजामती सेवा ऐन जारी गर्ने व्यवस्था, संघीय शासन प्रणालीको मर्म अनुरूप सार्वजनिक सेवा प्रवाहको प्रत्याभूति, जनताको नजरमा निजामती प्रशासनको साखमा अभिवृद्धि ल्याउने विषयहरूलाई सरकार समक्ष माग राखेर पूरा गराउने मुख्य भूमिका निर्वाह गरिनुपर्दथ्यो ।

तर ट्रेड युनियनको धर्म पूरा गरियो, मर्म अनुरूप काम गर्न सकिएन । एउटा युगीन घडीलाई गुम्न दिनुहँुदैन । साझा सवालमा ट्रेड यूनियनहरूबीच एकता हुनुपर्दछ । नवीन दृष्टिकोणसहित सौदाबाजी गर्ने क्षमता, सदाचार जीवनशैली, आश र त्रास जस्ता आवेगबाट मुक्त निडर नेतृत्व हुनुपर्दछ ।

इतिहासको यो संगीन घडीमा नेतृत्वले आफ्ना मागहरूलाई दबाबमूलक ढंगले  सरकारसमक्ष प्रस्तुत गर्नुपर्दछ । किनकि ट्रेड यूनियन आन्दोलनले मात्र निजामती प्रशासनलाई सुधार गर्न सक्दछ । जसरी शैक्षिक संस्थाहरूमा पठनपाठनको सुधार विद्यार्थीको भूमिकामा भर पर्दछ ।

लेखकको बारेमा
केशव खतिवडा

लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?