Comments Add Comment

धनगढी, काठमाडौं, ललितपुर र बुटवल लुम्बिनी एनएसएलको प्लेअफमा

२६ वैशाख, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिगको प्लेअफ समीकरण पूरा भएको छ । शनिबार भएको लिग चरणका दुई खेलपछि शीर्ष चारमा रहने टोलीको टुंगो लागेको हो ।

धनगढी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्लेअफ पुगेका छन् । पोखरा थण्डर्स, विराटनगर सिटी एफसी र एफसी चितवन भने लिगबाटै बाहिरिएको छ ।

शनिबार भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ४-० ले पराजित गर्दै ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ पुगेको हो । यस्तै अर्को खेलमा धनगढी एफसीलाई १-० ले पराजित गरेपछि बुटवल चौथो हुँदै प्लेअफ पुग्यो ।

पोखरा थण्डर्स समान ८ अंक भएपनि हेड टु हेडमा बुटवल अघि रहेको हो । यस्तै पराजित भएपनि धनगढी ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमै छ ।

५ खेलबाट समान १० अंक जोडेको काठमाडौं हेड टु हेडमा पछि रहँदै दोस्रो स्थानमा छ । अब लिगको अन्तम खेलमा आइतबार काठमाडौंले चितवनसँग खेल्नेछ र उक्त खेलमा जस्तो नतिजा आएपनि काठमाडौं शीर्ष दुईमा रहने पक्का छ । काठमाडौंले जित हात पारे र बराबरी खेलेमा शीर्ष स्थानमा पुग्नेछ ।

अब प्लेअफ अन्तर्गत पहिलो खेलमा शीर्ष दुई टोली धनगढी र काठमाडौं मंगलबार भिड्नेछन् । उक्त खेलको विजेता सिधैं फाइनल पुग्नेछ । यस्तै ललितपुर र बुटवलबीच बुधबार एलिमिनेटर खेल हुनेछ ।

उक्त खेलमा विजयी हुने टिमले पहिलो धनगढी र काठमाडौंबीचको पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि बिहीबार खेल्नेछ । ललितपुर र धनगढीबीच हार्ने टिम भने बाहिरिनेछ । फाइनल खेल आगामी जेठ १ गते शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment