Comments Add Comment

नारायणीको पीसीआर ल्याब : जनशक्ति कम, सर्वसाधारण आक्रोशित

फाइल तस्वीर

२६ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको पीसीआर ल्याबमा शनिबार साँझ केही मानिसहरु पीसीआर रिपोर्ट खोई ? भन्दै आए । ल्याबको सुरक्षाका लागि खटिएका मानिसहरुलाई धकेलेर भित्र पसे । मलेकुलर ल्याबमै पुगेर स्वास्थ्यकर्मीसँग झगडा गरे ।

यो प्रतिनिधि घटना हो, ल्याबमा निरन्तर यस्ता घटना भइरहेका छन् । रिपोर्ट ढिलो आएको भनेर होहल्ला गर्ने त सामान्य हो । स्वाब तान्दै गरेका स्वास्थ्यकर्मीलाई धकेल्ने, कुर्सी उठाएर फालिदिने, हातै हाल्ने सम्मका घटना यहाँ भइरहेका छन् । लाइनमा आउन र एक अर्काबीच दुई मिटरको दूरी कायम गर्न आग्रह गर्दा सर्वसाधारणले अटेरी गर्ने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

ल्याबमा पीसीआर परीक्षणका लागि आउनेको संख्या दैनिक बढ्दो छ । संक्रमित आउने क्रम बढेसँगै कन्ट्याक्ट ट्रेसिङमा पर्ने बढेका छन् । समुदायमा संक्रमण फैलिएकाले लक्षण देखिएर जचाउन आउने पनि उत्तिकै छन् । यसले गर्दा ल्याबमा चाप पर्नु स्वभाविक हो । नेशनल मेडिकल कलेजमा पीसीआर ल्याब छ तर अहिले सञ्चालन गरिएको छैन ।

नारायणी अस्पतालमा मात्रै दैनिक तीन सयसम्म स्वाब नमुना संकलन हुन्छ, निजी अस्पतालहरुले पनि दैनिक ८०/८५ वटा नमुना पठाउँछन् । ल्याबमा दुईवटा पीसीआर मेसिन छ । एक सिफ्टमा १४० वटा नमुना परीक्षण गर्न सकिन्छ ।

तर आरएनए एक्सट्रयाक्सन मेसिनको क्षमता एक पटकमा ९६ मात्रै छ । त्यसैले एक लटमा ९६ वटा मात्रै परीक्षण गर्न सकिन्छ । ल्याबमा कार्यरत कर्मचारीका अनुसार आरएनए एक्सट्रयाक्सनका लागि झण्डै तीन घण्टा लाग्छ ।

समय समयमा हुने बाहिरी असुरक्षाका घटनाले भने उनलाई दिक्क बनाउँछ । ‘रिपोर्ट लिन आउनेहरु कुरा बुझ्नै खोज्दैनन्, आक्रोशित भइहाल्छन्,’ उनले गुनासो गरे, ‘ल्याबभित्रै पसेर आक्रमण नै गर्न खोज्छन् । यसरी असुरक्षित बनेर कसरी काम गर्ने ?’

ल्याब टेक्निसियनका अनुसार अर्को चरणमा त्यसमा विभिन्न केमिकल मिलाउनुपर्ने हुन्छ । जसलाई ‘मास्टर मिक्सिङ’ भनिन्छ । ९६ वटा नमुनाको मास्टर मिक्सिङ गर्न डेढ–दुई घण्टा लाग्छ । त्यसपछि मात्रै पीसीआर मेसिनमा हालिन्छ । पीसीआरमा अहिलेको केमिकलले नतिजा दिन समय लिन्छ । दुई घण्टामा रिपोर्ट आउँछ । रिपोर्ट एनालाइसिस गर्न डेढ घण्टा लाग्छ । त्यसका लागि प्रयोगशाला प्रमुखसहित जम्मा चार जना मात्रै कर्मचारी छन् । अरु कर्मचारीले बाहिरी सहयोग मात्रै गर्ने हो । रिपोर्ट रजिष्टरमा चढाइसकेपछि उनीहरुको काम शुरु हुन्छ ।

ल्याब टेक्निसियन हिराबाबु पाण्डेले पीसीआर परीक्षणका लागि बिहान ८ बजेदेखि राति १० बजेसम्म खटिरहेको बताए । ‘कोरोना संक्रमणको अति जोखिममा छौं, तर पनि निरन्तर खटिरहेका छौं,’ उनले भने, ‘सकेसम्म रिपोर्ट समयमै दिन सकियोस् भन्नेमै हाम्रो ध्यान हुन्छ ।’

समय समयमा हुने बाहिरी असुरक्षाका घटनाले भने उनलाई दिक्क बनाउँछ । ‘रिपोर्ट लिन आउनेहरु कुरा बुझ्नै खोज्दैनन्, आक्रोशित भइहाल्छन्,’ उनले गुनासो गरे, ‘ल्याबभित्रै पसेर आक्रमण नै गर्न खोज्छन् । यसरी असुरक्षित बनेर कसरी काम गर्ने ?’

ल्याबले गम्भीर भई अस्पतालमा भर्ना भएका बिरामीको नमुना परीक्षणलाई प्राथमिकतामा राखेको बताएको छ । नारायणीको इमरजेन्सीमा भर्ना भएका, अन्य अस्पतालबाट पठाइएका स्वाब नमुनालाई पहिलो प्राथमिकता दिइएको छ ।

बिहान आएको नमुनाको रिपोर्ट सोही दिन पठाउने प्रयास गरिने उनले बताए । दैनिक १९० देखि २८८ वटासम्म नमुना परीक्षणको रिपोर्ट दिने गरेको ल्याबका कर्मचारीहरुको भनाइ छ ।

ल्याब प्रमुख सूक्ष्मजीव विज्ञ डा. प्रभाकर पाण्डे बाहिरी असुरक्षाका कारण कर्मचारीलाई फकाएर मात्रै काममा लगाउन नसक्ने अवस्था आइसकेको बताउँछन् । ‘महामारीमा एक दुई जनाले बदमासी गर्दैमा काम रोक्न हुन्न भनेर काम गरिरहेका छौं, मानिसहरु आएर कुरै नबुझी सधैं गाली मात्रै दिन्छन् । हातपात गर्छन्,’ उनले भने, ‘कति दिन फकाएर काममा लगाउने ?’

सुरक्षा गार्डसँगै प्रहरी पनि राखिदिए बाहिरी सुरक्षा चुनौती कम हुने उनी बताउँछन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर प्रशासनलाई समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको बताउँछन् ।

‘अस्पतालस्थित प्रहरी बिटमा भएका पुराना प्रहरीले खासै सहयोग गरिरहेका छैनन् । नयाँ पठाइदिनुस् । गार्डलाई टेरिरहेका छैनन् । आजको भोलि रिपोर्ट दिएन भनेर मारपिट गरिरहेका छन्, थप सुरक्षाकर्मी पठाईदिनुस् भनेर प्रशासनलाई गुहारेका छौं,’ उनले भने, ‘तर सुनुवाई नै भईरहेको छैन ।’

ज्यान जोखिममा राखेर खटेका कर्मचारीले असुरक्षित महसुस गरेपछि काममा लगाउन समस्या हुने र लगाइहाले पनि नतिजा राम्रो नआउने उनको भनाइ छ ।

समन्वय नै नगरी महानगरले स्वाब संकलन गरेको गुनासो

शुक्रबारदेखि नारायणी अस्पताल बाहिर पनि वीरगञ्ज महानगरपालिकाले स्वाब संकलन गरिरहेको छ । बालमन्दिर परिसरमा स्वाब संकलन केन्द्र सञ्चालन गरेर महानगरपालिकाले स्वाब संकलन शुरु गरेको हो । पहिलो दिन ४९, दोस्रो दिन ८१ र तेस्रो दिन आइतबार ८४ वटा नमुना संकलन भएको छ ।

तर कुनै पनि नमुनाको रिपोर्ट आएको छैन । आफूले संकलन गरेको स्वाब नमुनाको मात्रै रिपोर्ट नआएपछि महानगर असन्तुष्ट छ । स्वाब नमुना दिएका सर्वसाधारण आक्रोशमा छन् । ‘प्रक्रियामा छ रिपोर्ट आउँछ भनेका छन्,’ महानगरपालिकाका एक कर्मचारीले भने । ल्याब तर्फका कर्मचारीहरु भने समन्वय नगरी नमुना संकलन गरेर महानगरले अनावश्यक भार थप्ने काम मात्रै गरेको बताउँछन् ।

धरानमा काम गरेर आएका ल्याब प्रमुख पाण्डे भने अस्पतालमा भर्ना भएका संक्रमितलाई प्राथमिकतामा राखेर नमुना परीक्षण गर्ने गरेको बताउँछन् । ‘महानगरले स्याम्पल पठाएको छ । अस्पतालमा भर्ना भएका र गम्भीर भई आएका बिरामीलाई प्राथमिकतामा राखेर परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘सामान्य लक्षण भएका, कन्ट्याक्ट ट्रेसिङमा परेकालाई बिस्तारै गर्दा हुन्छ भनेर राखेका हौं ।’

महानगरपालिकाले समुदायमा एन्टिजेन परीक्षण गर्दा उपयुक्त हुने उनको सुझाव छ ।

अस्पताल प्रमुख डा. ठाकुर ल्याब चौबीसै घण्टा सञ्चालन गरेपछि मात्रै थप स्वाब नमुना परीक्षण गर्न सकिने बताउँछन् । ‘छलफल हुँदा २४ घण्टा ल्याब चलेपछि परीक्षणको दायरा बढाउँला भनेका हौं, ल्याबमा जनशक्ति कम छ । ३÷४ जना मान्छे चौबीसै घण्टा त खट्न सक्दैन,’ उनले भने ।

अस्पताललाई सघाएको हो, पर्दैन भन्छन् भने स्वाब संकलन बन्द गरिदिन्छौं

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकमै भएको निर्णय अनुसार नमुना संकलन गरिएको बताए । अस्पतालले परीक्षण नगर्ने हो भने महानगरपालिकाले स्वाब संकलन गर्न बन्द गर्ने उनले बताए ।

‘पछिल्लो डीसीसीएमसी बैठकमा अस्पतालले स्वाब संकलनका लागि अस्पतालमा धेरै भिड भइरहेको छ, महानगरपालिकाले सघाइदिनुपर्छ भनेपछि हामीले सघाइदिएको मात्रै हो,’ उनले भने, ‘अस्पतालले पीसीआर परीक्षण नगर्ने वा गर्न नचाहने हो भने स्वाब संकलन बन्द गरिदिन्छौं । अबदेखि उनीहरुलाई अस्पतालमै पठाइदिन्छौं । जनता गएर अस्पतालमै थुप्रिन्छन् ।’

‘एक घर एक पीसीआर’ मा जस्तो सर्वसाधारण सबैको नमुना संकलन नगरेको कन्ट्याक्ट ट्रेसिङमा परेका वा लक्षण भएका सर्वसाधारणको मात्रै नमुना संकलन गरिरहेको उनले दाबी गरे । नमुना संकलनका लागि प्राविधिक कर्मचारी खटाउनुको साथै भीटीएम, पीपीई सेट महानगरले नै खर्च गरिरहेको नगर प्रमुख सरावगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment