Comments Add Comment

साइबर हमलापछि अमेरिकी इन्धन आपूर्तिमा आपतकालको घोषणा

२७ वैशाख, वासिंटन । देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकी सरकारले देशभर इन्धन आपूर्तिमा आपतकालको घोषणा गरेको छ । कोरोना महामारीका कारण इन्धन आपूर्तिसम्बन्धी कम्पनीका कर्मचारीहरू घरबाटै काम गरिरहेका छन् । विश्लेषकहरू यही मौका छोपेर ह्याकरहरूले साइबर हमला गरेको विश्लेषण गर्छन् । अहिले अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइन सेवा अवरुद्ध भएको छ ।

हमला अमेरिकाको कोलोनियल पाइपलाइन नेटवर्कमा भएको हो । यो पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आउने गरेको छ । अमेरिकाको इस्ट कोस्टको राज्यमा डिजल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गरेको छ ।

पाइपलाइनमा साइबर अपराधीहरुको एक समूहले शुक्रबार हमला गरेका थिए । जसको मर्मतको काम अहिलेसम्म पनि जारी छ । आपतकालको घोषणापछि अब यहाँबाट इन्धन सप्लाई पाइपाइनको साटो सडक मार्गबाट यसको ढुवानी गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।

जानकारका अनुसार यही हमलाको कारणले सोमबारका लागि अमेरिकामा इन्धनको मूल्य २ देखि ३ प्रतिशतसम्म बढ्ने भएको छ । यसलाई तत्कालै पुरानै अवस्थामा नल्याउने हो भने यसको असर अरु व्यापक हुने जानकारहरुको भनाइ छ ।

 कसले गर्‍यो हमला ?

स्रोतका अनुसार यो रेन्समवेयर हमला डार्क साइड नामको एक साइबर अपराधी गिरोहले गरेको हो । उनीहरुले बिहीबार कोलोनियल नेटवर्कबाट करिब १०० जीबी डाटा आफ्नो कब्जामा लिएका थिए । यसपछि ह्याकरहरुले केही कम्युटर र सर्वरहरुमा डाटा लक गरेर शुक्रबार यसको लागि फिरौती समेत मागेका थिए ।

यदी पैसा नदिने हो भने यो डाटालाई इन्टरनेटमा सार्वजनिक गरिदिने धम्की उनीहरुले दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कम्पनीले भने अहिले बन्द रहेको सेवा सुचारु गर्नको लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागसँग सम्पर्क गरिरहेको बताएको छ ।

आइतबार राती कम्पनीले बताए अनुसार चारवटा मुख्य लाइनहरूमा ह्याकका कारण अवरोध पुगेका छन् र टर्मिनलदेखि डेलिभरी पोइन्टसम्म केही साना लाइनहरू सञ्चालन सुरु भएको छ।

कम्पनीले आक्रमणबारे पत्ता लागेलगत्तै पाइपलाइन प्रणालीका केही लाइनहरू काटेर मर्मत सुरु गरेको बताएको छ ।

कसरी भयो हमला ?

लण्डनस्थित एक साइबर सेक्युरिटी कम्पनी डिजिटल शैडाजका अनुसार कोलोनियल पाइपलाइनमा हमलाको एक ठूलो कारण भनेको नै कोरोना महामारी हुन सक्छ । किनकि कम्पनीका अधिकांश इन्जिनियरहरुले घरबाटै प्राविधिक काम गरिरहेका थिए ।

डिजिटल शेडोजका सहसंस्थापक तथा चीफ इनोभेसन अफिसर जेम्स चेपलका अनुसार डार्कसाइडले टीमब्युअर र माइक्रोसफ्ट रिमोट डेस्कटप जस्तो रिमोट डेस्कटप सफ्टवेयसँग जोडिएको एकाउन्टको लगइन डिटेल खरिद गरेको थियो ।

उनी भन्छन् कुनैपनि व्यक्तिले इन्टरनेटमा जडान भएका कम्प्युटरको लगइन पोर्टलको बारेमा जानकारी खोज्न सक्दछन् । जस्तै खोज ईन्जिनमा शोडन र त्यसपछि ह्याकर्सले प्रयोगकर्ताको नाम र पासवर्डको साथ खाताहरूमा लगइन गर्न प्रयास गरिरहन्छ ।

यद्यपि साइबर अपराधको दुनियाँमा डार्कसाइट त्यति ठूलो र चर्चित नाम भने होइन । तर यस घटनाले के देखाएको छ भने फिरौतीको लागि गरिने आक्रमण केवल कुनै व्यक्ति र कार्यालयको लागिमात्र नभएर देशको महत्वपूर्ण औद्योगिक संरचनाको लागि समेत यो खतरनाक हुन सक्छ ।

साइबर हमलापछि स्क्रिनमा एक सूचना जारी गर्दै ह्याकरहरूले उक्त नेटवर्कमा रहेका सूचना आफ्नो कब्जामा रहेको सूचना पठाएका थिए ।

स्रोत : बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment