Comments Add Comment

अफगानिस्तानमा बम विष्फोटमा परी ११ को मृत्यु

Photo Credit : AFP

२७ वैशाख, काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तमा एक बसमा आइतबार राति गराइएको विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त विष्फोटमा दर्जनभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना आगामी सेप्टेम्बरबाट पूर्णरुपमा फिर्ता जाने तयारीमा रहेको अवस्थामा हिंसात्मक आक्रमण बढेको छ ।

जाबुलको गभर्नरका प्रवक्ता गुल इस्लाम सिअलले दिएको जानकारीअनुसार विष्फोटमा परी घाइते हुनेमा महिला तथा बालबालिका पनि छन् । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले भने यो विष्फोटमा परी २८ जना घाइते भएको बताएका छन् । अहिलेसम्म यो आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

सोमबार काबुलनजिकै रहेको परवान प्रान्तमा पनि एक मिनीबसमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन् । आइतबार तालिबानले इद अल फित्रलाई ध्यानमा राख्दै तीन दिनको लागि युद्धविरामको घोषणा गरेको थियो । यसअघि गत शुक्रबार काबुलको एक स्कुलअघि गराइएको बम विष्फोटमा परी ६८ जनाको मृत्यु भएको थियो । जसमा अधिकांश छात्राहरु थिए । उक्त विष्फोटमा परी १६५ भन्दा धेरै घाइते भएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment