Comments Add Comment

अक्सिजन अभाव : कोटा तोक्दा आपूर्ति प्रणाली झन् बिथोलियो

२८ वैशाख, काठमाडौं । अक्जिसन व्यवस्थापनका लागि भन्दै सरकारले कोटा तोकेपछि निजी अस्पतालहरु धमाधम कोरोना संक्रमितलाई भर्ना नदिने घोषणा गरिरहेका छन् । केही अस्पतालले त उपचाररत विरामीलाई आफैं अक्सिजन जोहो गर्न वा बिरामीलाई अन्यत्र लैजानसमेत आग्रह गर्न थालेका छन् ।

त्यसमध्ये एक हो, नेपाल मेडिसिटी अस्पताल । अस्पतालमा १०० भन्दा बढी ननकोभिडका विरामी छन् भने १२० भन्दा बढी कोभिडका । ४० भन्दा बढी बिरामी भेन्टिलेटरसहित सघन उपचार लिइरहेका छन् । उनीहरुको उपचारमा प्रत्येक दिन ४५० देखि ५०० सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।

तर कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, छाउनीले अस्पताललाई दैनिक १०० सिलिण्डर मात्रै कोटा तोक्यो । मागको एक चौथाइ पनि अक्सिजन नपाएपछि अस्पताल प्रशासनले मंगलबार कोरोनाका जटिल बिरामी भर्ना नलिने घोषणा गरेको छ । साथै अक्सिजन आपूर्तिको सहज व्यवस्था नभए उपचाररत बिरामीलाई पनि उपचार दिन नसक्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

अत्तरखेलस्थित नेपाल मेडिकल कलेज, शिक्षण अस्पतालले पनि अक्सिजन अभावकै कारण अस्पतालमा उपचाररत बिरामीलाई अन्यत्र लैजान आग्रह गरेको छ । यस्तै पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालले पनि आईसीयूमा उपचाररत बिरामीका आफन्तलाई समेत अक्सिजन जोहो गर्न भनेको छ ।

चाबहिलकै मेडिकेयर, हेल्पिङ ह्याण्ड्स, नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल तथा रिसर्च सेन्टरले २५ गते नै कोरोनाका नयाँ बिरामी भर्ना नलिने घोषणा गरेका थिए ।चाबहिलको ओम अस्पतालले पनि पछिल्लो दिनमा कोभिडका नयाँ बिरामी भर्ना लिन छाडेको छ । अस्पतालमा कोभिडका ४६ जना उपचाररत छन्, जसमध्ये आधा जसोलाई हाइफ्लो अक्सिजन चाहिन्छ । अस्पतालका सूचना अधिकारी विनोद अधिकारी भन्छन्, ‘सरकारले तोकेको कोटाको अक्सिजनले आईसीयूको १० वटा भेन्टिलेटरलाई मुश्किलले पुग्छ । ४०/४५ जना कोभिडका बिरामीलाई कसरी केयर दिने ?’

पछिल्ला दिनमा अस्पतालमा विरामीका लागि ढोका बन्द जस्तै भएको छ । इन्टेन्सिभ केयर चाहिने कोभिडका बिरामीलाई त गेटबाट भित्र नछिराउने अवस्था छ

सय बेड क्षमताको मेडिकेयर अस्पतालमा कोभिडका १४ संक्रमित उपचाररत छन्, जसमध्ये दुई जना आईसीयूमा छन् । अस्पतालका प्रशासकीय प्रबन्धक हरिभक्त सिग्देलका अनसार कोभिड र ननकोभिडका विरामीका लागि दैनिक ३०–४० सिलिण्डर अक्सिजन आवश्यक हुन्छ । तर २० सिलिण्डरको कोटा तोकिएको भन्दै सिग्देलले अनलाइनखबरसँग भने, ‘थप कोभिडका बिरामीलाई भर्ना गर्न सक्ने अवस्था छ कि छैन तपाईं आफैं अनुमान लगाउनुस् ।’

ननकोभिडका बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भन्दै उनले विज्ञ चिकित्सकहरुले अस्पतालको अनुगमन गरेर आवश्यकताअनुसार अक्सिजन दिनुपर्ने बताए । ‘कोभिडका बिरामीले दैनिक बेड खाली छ कि छैन भनेर फोन गरेर सोध्छन्, तर बेड खाली छैन भनेर फर्काउनुपर्ने बाध्यता छ’ उनले भने ।

चाबहिलकै हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालका निर्देशक डा. हेमबहादुर लिम्बुले पनि कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने अवस्था रहेको बताए । ५ जना आईसीयू, ३ जना भेन्टिलेटरसहित २७ जना संक्रमित उपचाररत अस्पतालका लागि दैनिक १०० सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।

तर सीसीएमसीले ५० सिलिण्डरको कोटा तोकेको छ । अस्पतालमा कोभिडबाहेक दम, क्यान्सर, अपरेसन गर्नुपर्ने बिरामी पनि आकस्मिक रुपमा आउने भएकाले उनीहरुको लागि पनि अक्सिजन उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए । डा. लिम्बु भन्छन्, ‘अहिले उपलब्ध भएको अक्सिजन पर्याप्त छैन । उपलब्ध अक्सिजनले पुग्ने गरी कोभिडका बिरामी १८ जनामा झर्छौं ।’

नेपाल–भारत मैत्री अस्पतालले ३५ जना संक्रमितको उपचार गरिरहेको छ, जसमध्ये ८ जना आईसीयूमा छन् । कोभिड र ननकोभिडका बिरामीका लागि दैनिक ६०/७० सिलिण्डर अक्सिजन चाहिने भएपनि ४० सिलिण्डरको कोटा पाएको अस्पतालका निर्देशक डा. विकास रौनियार बताउँछन् । उनी भन्छन्, ‘यति अक्सिजनले ८/१० जना संक्रमितको मात्र उपचार गर्न सक्छौं ।’

ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले अक्सिजन अभावमा कोभिड १९ का नयाँ बिरामी भर्ना लिन नसकेको जनाएको छ ।

१०० बेड क्षमता रहेको अस्पतालले कोभिड–१९ का बिरामीका लागि ४० बेड छ्ट्याएको छ । अस्पतालका प्रशासकीय अधिकृत केशवजंग पाण्डेका अनुसार आईसीयूमा १४ जना र भेन्टिलेटरमा दुई जना संक्रमित उपचाररत छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । अक्सिजन उद्योगबाट आपूर्तिमा समस्या भएको भन्दै वैशाख २५ गतेदेखि नयाँ भर्ना लिन छाडेको छ ।

कोभिड र ननकोभिडका बिरामीका लागि दैनिक ८० सिलिण्डर भन्दा बढी अक्सिजन खपत भइरहेको छ । तर अक्सिजन आपूर्तिमा समस्या भएपछि नयाँ भर्ना रोकिएको छ ।

निजी अस्पताल मात्र होइन, सरकारी अस्पतालहरुले पनि अक्सिजनको अभाव झल्ने गरेका छन् । यद्यपि धेरै संक्रमितलाई उपचार दिइरहेको पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताललगायतको आफ्नै अक्सिजन प्लान्ट छ । सीसीएमसीले पनि तुलनात्मक रुपमा बढी सिलिण्डरको कोटा दिएकाले उनीहरुलाई निजी अस्पतालको जस्तो अक्सिजनको अभाव छैन ।

तर सरकारी कुनै पनि अस्पतालमा बेड पाउन सम्भव छैन । बेडका लागि पालो पाइहालिन्छ कि भनेर बाहिरै अक्सिजन लगाएर बस्ने बिरामीहरु उल्लेख्य छन् ।

खराब व्यवस्थापनको डरलाग्दो नमूना

नयाँ भेरियन्ट तीव्र गतिमा फैलिने भएका कारण दोस्रो लहरमा संक्रमितको संख्या छोटो अवधिमा नै ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनमा १९ सयबाट संक्रिय संक्रमितको संख्या ९७ हजार पुगेको छ ।

मंगलबारको तथ्यांकअनुसार ८९ हजार ९१४ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९४ संस्थागत आइसोलेसनमा छन् । अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेसँगै अक्सिजनको माग बढ्नु स्वाभाविक हो ।

अक्सिजनको माग बढेपछि आपूर्ति सहज बनाउन भन्दै स्वास्थ्य मन्त्रालयले २५ वैशाखमा आफ्नो सिफारिशमा मात्र अस्पतालहरुलाई अक्सिजन दिन भन्दै उद्योगहरुलाई परिपत्र गर्‍यो । लगतै सीसीएमसी सचिवालय छाउनीले आईसीयू बेडका आधारमा अस्पतालहरुलाई दिने अक्सिजन सिलिण्डरको कोटा तोक्न थाल्यो ।

कोटा तोक्दा आवश्यकताको अनुपातमा निकै कम अक्सिजन पाएको भन्दै ठूलादेखि साना निजी अस्पतालहरुले कोभिडका बिरामीहरुलाई भर्ना नै नलिने घोषणा गर्न थालेका छन् ।

जसोतसो कोभिडका बिरामीहरुलाई उपचार दिइसकेका अस्पतालहरुलाई प्रत्साहन गर्नुपर्नेमा कोटा प्रणाली ल्याएर थप समस्या सिर्जना गरिएको उनीहरु बताउँछन् । ‘पछिल्ला दिनमा अस्पतालमा विरामीका लागि ढोका बन्द जस्तै भएको छ’ निजी अस्पतालका एक व्यवस्थापक भन्छन्, ‘इन्टेन्सिभ केयर चाहिने कोभिडका बिरामीलाई त गेटबाट भित्र नछिराउने अवस्था छ ।’

किन यस्तो अवस्था आयो त ? अस्पताल सञ्चालक र अक्सिजन ग्यास उत्पादकहरुका अनुसार मुल कुरा, अक्सिजनको माग र आपूर्तिबीच सन्तुलन मिलाउन हम्मेहम्मे अवस्था आएकै हो । सरकारको तथ्यांकले पनि यही बताउँछ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार उपत्यकामा अहिले दैनिक १४/१५ हजार सिलिण्डर अक्सिजनको माग छ । जबकि उपत्यकाका उद्योगहरुबाट ८ हजार हाराहारी मात्रै उत्पादन हुन्छ भने अस्पतालहरुमा भएका अक्सिजन प्लान्टबाट २ हजार ।

तर  व्यवस्थापन गर्ने नाममा कोटा तोक्दा आपूर्ति प्रणाली झन् बिथोलिएको अस्पताल सञ्चालक र अक्सिजन ग्यास उत्पादकहरु बताउँछन् ।

नेपालमा मुश्किलले ३०/३२ वटा अक्सिजन उद्योग छन् । ठूला उद्योगबाहेक अधिकांशको दैनिक अक्सिजन उत्पादन क्षमता अधिकतम ३०० सिलिण्डर हाराहारी छ । एउटा सिलिण्डरको मूल्य २०/२२ हजार पर्ने भएकाले उद्योगहरूसँग अक्सिजन सिलिण्डरको संख्या कमै छ । त्यसैले उनीहरुले अस्पताल वा उद्योगलाई निश्चित संख्यामा अक्सिजन सिलिण्डर बेच्ने र रोटेसनमा नियमित आपूर्ति गर्ने गर्दै आएका छन् ।

तर कोटा तोक्दा सीसीएमसीले यो पक्षलाई हेर्दै हेरेन । जुन उद्योगले जुन अस्पताललाई नियमित अक्सिजन आपूर्ति गर्दै आएको छ, त्यसलाई जिम्मा दिनुको साटो आफूखुसी निर्णय गर्‍यो । नाम उल्लेख नगर्ने शर्तमा एक उद्योगी भन्छन्, ‘मेरो उद्योगबाट … अस्पतालले ५० वटा सिलिण्डर किनेको छ । तर सरकारले त्यसलाई होइन, अर्को अस्पताललाई यति सिलिण्डर दिनू भनेर तोक्यो । जुन अस्पतालले मेरो सिलिण्डर नै किनेको छैन, मैले कसरी उसलाई अक्सिजन दिन सक्छु ?’’

आफ्नो व्यापारिक सम्बन्ध कायम राख्नुपर्ने र सरकारको निर्देशन पनि पालना गर्नुपर्ने दोहोरो दबावमा परेका उद्योगीहरुले दुवैतिर मागअनुसार आपूर्ति गर्न सकेका छैनन् । अहिले अक्सिजन आपूर्ति बिथोलिनुको एउटा कारण यो हो ।

अर्को, होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढेसँगै घरघरमा अक्सिजन सिलिण्डर थुप्रिन थालेको छ । स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा बेड पाइन्न भन्ने डरका कारण घरघरमा अक्सिजन सिलिण्डर राख्ने क्रम बढ्दो छ ।

तेस्रो, आपूर्ति चेन बनाउन नसक्नु । केही ठूला अक्सिजन उद्योग उपत्यका बाहिर छन्, जसले उद्योगहरुलाई ठूलो परिमाणमा अक्सिजन सप्लाई गर्छन् । अहिले जहाँ अभाव छ, त्यहाँबाट सिलिण्डरहरु ठूला उद्योगमा पुर्‍याउने र भरेर ल्याउने चेन बनाउनुपर्ने हो । तर त्यसको सट्टा सरकार कोटा तोक्नेतिर लाग्यो ।

नियमन गर्नुपर्ने सरकार आफैं सिलिण्डर कोटा तोकेर बाँड्नेतिर लाग्नु गलत भएको भन्दै ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनी भन्छन्, ‘यो खराब व्यवस्थापनको डरलाग्दो नमूना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment