Comments Add Comment

गोदावरीको सभाहल प्रधानमन्त्रीले शुक्रबार उद्घाटन गर्ने

२९ वैशाख, काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको सभा हलको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल रुपमा सभाहल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

‘हामी केही व्यक्ति मात्रै सभा हल पुग्छौं, मन्त्री र प्रधानमन्त्रीज्युहरुले बालुवाटारबाटै सभा हलको उद्घाटन गर्नुहुन्छ,’ शहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेलले भने,’यो सभाहल उद्घाटनपछि एकैपटक ३ हजार व्यक्ति सहभागी हुने एउटै कार्यक्रम एउटै हलमा गर्न सकिन्छ ।’

प्याकुरेलका अनुसार अब सभा हलमा सरसफाइका काम मात्र बाँकी छन् ।

शहरी विकास विभागका सिनियर डिभिजनल इन्जिनियर मचकाजी महर्जन ९८ प्रतिशत काम भइसकेको बताउँछन् । ‘अहिले अन्तिम चरणको तयारी गरिररहेका छौं,’उनले भने,’पर्सीसम्म धेरैजसो सकिन्छ ।’

विभागका अनुसार २०७६ कार्तिकमा ५ महिनामा सक्ने गरी सभाहल निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागेको सभा हलमा ८१ करोड खर्च भइसकेको छ ।

केसी-समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन २ पटक म्याद थप भएको थियो । ४३ रोपनी १५ आनामा बनेको सभाहलमा ३ हजार वटा सिटहरु छन् । सभा हल प्रवेश गर्ने साना हलहरु पनि छन् । पार्किङ र बगैँचा पनि बनाइएको छ ।

‘सरसफाइको काम चलिरहेको छ, ठेकदारले क्याम्पहरु हटाउन बाँकी छ’ महर्जनले भने,’धेरैजसो काम सकिएका छन् ।’

अहिलेसम्म सबै काम नसकिएकाले ठेकदारले सभाहल सरकारलाई हस्तान्तरण गरेको छैन । यो सभाहल कसले जिम्मा लिएर चलाउने हो भन्ने पनि तय भएको छैन ।

यो पनि पढ्नुहोस विकास परियोजनामा नयाँ राजनीतिक विकृति : पूर्वतयारी नसक्दै शिलान्यास, काम नसक्दै उद्घाटन
(वैशाख २४ गते शहरी विकास मन्त्री प्रभु साहले सभाहल अनुगमनका क्रममा मन्त्रालयले खिचेको तस्वीरहरू , स्रोतः मन्त्रालयको वेबसाइट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment