Comments Add Comment

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

२९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबा नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागी तय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्ट, आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा सीताकुमारी नेपालीलाई नियुक्त भएका छन् ।

विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) र शर्मा रुकुम पश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यस्तै नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् ।

यसअघि माओवादी संसदीय दलको प्रमुख सचेतक रहेकी नेपालीलाई भौतिक पूर्वाधार मन्त्रालय टुक्राएर जलस्रोतमन्त्री बनाइएको छ ।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएकी विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका नरेश भण्डारीले आजै मन्त्रिपरिषदको वैठकमा मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

भण्डारी सरकार गठनको सुरुमै सोही मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए । केसीले भने यसअघिको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय छोडेर आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।

मुख्यमन्त्रीले यसअघि वैशाख ४ गते पनि तीनजना मन्त्री नियुक्त गरेका थिए । आफ्नो पक्षमा फ्लोर क्रस गर्ने माधव नेपाल समूहका नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कुर्मराज शाहीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र अम्मर थापालाई भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त गरेका थिए ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अहिले पनि खाली छ । यो मन्त्रालय अहिले मुख्यमन्त्री शाहीले आफू मातहत नै राखेका छन् ।

वैशाख ३ गतेको संसद् वैठकबाट सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसलाई पनि सरकारमा समावेश गराउनुपरेमा यो मन्त्रालय दिन सकिनेगरी मुख्यमन्त्री आफैंले राखेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment