३० वैशाख, काठमाडौं । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनपछि ललितपुर सिटी एफसीलाई ३-० ले पराजित गर्दै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौंका लागि मेसोउके ओलोमोउले दुई तथा स्टेफेन विनोङ समिरले एक गोल गरे ।
पहिलो संस्करणको एनएसएको उपाधिका लागि काठमाडौंले धनगढी एफसीसंग फाइनल भेट पनि पक्का गरेको छ । पहिलो क्वालिफायरमा धनगढीसंग काठमाडौं २-१ ले पराजित भएको थियो । तर लिग चरणमा शीर्ष दुईमा रहेको काठमाडौंले फाइनल प्रवेशका लागि अर्को अवसर पायो ।
ललितपुर भने एलिमिनेटरमा बुटवल लुम्बिनीलाई १-० ले पराजित गर्दै दोस्रो क्वालिफायर पुगेको थियो । तर लगातार दोस्रो दिन खेल्नुपरेको ललितपुरले काठमाडौंविरुद्ध संघर्ष गर्नुपर्यो खेलमा गोल गर्ने केही अवसर ललितपुरले गुमायो ।
काठमाडौंले अब उपाधिका लागि शनिबार धनगढीसंग प्रतिस्पर्धा गर्नेछ । लिग चरण र क्वालिफायरमा गरी दुई पटक धनगढीसंग पराजित भएको काठमाडौंका लागि फाइनलमा बदला लिने अवसरसमेत छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको आठौं मिनेटमै ललितपुरका भिलिमल पोसिन्कोभिकले गोल गर्ने सुनौलो अवसर गुमाए । नुर्लानको क्रसमा भिलिमले सिक्स यार्ड बक्सबाट गोल गर्न चुके । काठमाडौंका गोलकिपर विकेश कुथु बिट भइसकेका अवस्थामा उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
नवौं मिनेटमा काठमाडौंका स्टेफन विनोङले टाइट एंगलबाट हानेको बल ललितपुरका डिफेण्डर पिटर सेगुनलाई डिफ्लेक्स हुँदै पोष्टमा लागेर फर्कियो । त्यसैको रिराउण्ड बलमा काठमाडौंका आशिष राईले बललाई पोष्ट बाहिर प्रहार गरे ।
१४ औं मिनेटमा मेसोउके ओलोमेएले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । ललितपुरका कमल श्रेष्ठले मेसोउके ओलोमोउलाई पेनाल्टी एरियामा फाउल गरेपछि काठमाडौंले पेनाल्टी पायो र मेसोउकेले गोल गरे ।
ललितपुरका गोलकिपर अर्पणले सही डाइभ गरेपनि पूर्ण रुपमा रोक्न सकेनन् र हातमा लाग्दै गोल भयो ।
२२ औं मिनेटमा मेसोउके व्यक्तिगत दोस्रो गोल गर्दा काठमाडौंले अग्रता दोब्बर बनायो । मेसोउकेले तेज तामाङको पासमा पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गर्दै गोल गरे । ललितपुरका गोलकिपर अर्पणको हातमा लाग्दै गोल भयो ।
२८ औं मिनेटमा ललितपुरलाई खेलमा फर्कने मौका थियो । कप्तान अन्जन विष्टको पासमा गौरवले काठमाडौंका गोलकिपर विकेश कुथुसंग वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार पोष्ट बाहिर गयो ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको काठमाडौंले दोस्रो हाफमा पनि गोल थप्यो । ५९ औं मिनेटमा स्टेफेन विनोङले अफसाइड ट्रयाप बिट गर्दै गोल गरे ।
त्यसपछि दुवै टोलीले गोलको केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज फुटबल एनएसएलको फाइनल आगामी शनिवार हुनेछ । विजेताले नगद ३५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4