Comments Add Comment

प्रधानमन्त्रीलाई रवीन्द्र मिश्रको प्रश्‍न-मिर्गौला नपाएर छटपटाइरहेको भए कस्तो हुन्थ्यो ?

३१ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको समयमा मिर्गौला नपाएर छटपटाइरहेको भए कस्तो हुन्थ्यो भनेर प्रश्न गरेका हुन् ।

कोरोना महामारीको समयमा अस्पतालमा बेड र अक्सिजन नपाएर बिरामीहरुले मृत्युवरण गरिरहेको सन्दर्भ जोडेर मिश्रले सो प्रश्न गरेका हुन् । उनले सामाजिक सन्जालमा एक भिडियो सन्देश पोष्ट गर्दै भनेका छन्, ‘यदि तपाईंको किड्नी प्रत्यारोपण गर्ने समयमा, तपाईं जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेको बेला तपाईंले किड्नी नपाउनु भएको भए तपाईंलाई कस्तो महसुस हुन्थ्यो ? तपाईंको परिवारलाई कस्तो महसुस हुन्थ्यो ?’

‘हो, आज त्यसैगरी सयौं नेपालीहरु जीवन र मृत्युको दोसाँधमा अक्सिजन नपाएर छटपटाइरहेका छन् र धेरैले मृत्युवरण पनि गरिसके । यो तपाईंहरुको कारणले गर्दाखेरि भएको हो,’ मिश्रले भनेका छन् ।

मिश्रको भनाइ शब्दमा-

म विषयमा यसरी प्रवेश गर्छु,

यदि तपाईंको किड्नी प्रत्यारोपण गर्ने समयमा, तपाईं जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेको बेला तपाईंले किड्नी नपाउनु भएको भए तपाईंलाई कस्तो महसुस हुन्थ्यो ? तपाईंको परिवारलाई कस्तो महसुस हुन्थ्यो ?

हो, आज त्यसैगरी सयौं नेपालीहरु जीवन र मृत्युको दोसाँधमा अक्सिजन नपाएर छटपटाइरहेका छन् र धेरैले मृत्युवरण पनि गरिसके । यो तपाईंहरुको कारणले गर्दाखेरि भएको हो ।

यस्तो अवस्थामा तपाईंहरुले निजी अस्पताललाई १५ दिनभित्रमा अक्सिजन प्लान्ट स्थापना गर भन्दै हुनुहुन्छ । त्यो व्यवहारिक रुपमा कसरी सम्भव छ ? तपाईं सरकार भएर गर्न नसक्ने अनि निजी अस्पताललाई गर भन्ने ?

तपाईंहरुले गर्न सक्ने के हो भने तुरुन्त मित्र राष्ट्रहरुसँग सम्वाद गर्नुस् । अक्सिजन प्लान्ट स्थापना गर्न चाहिने उपकरण लिएर आउनुस् र नेपालका सकभर बढी सरकारी अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्नुस् । यो आर्थिक रुपमा र व्यवस्थापकीय रुपमा गर्न सकिने काम हो । र, तुरुन्तै गर्न सकिन्छ ।

अर्को कुरा बेडहरुको अभाव छ । यो महाव्याधीको समय हो । सेना र प्रहरीको सहयोग लिएर अस्थायी उपचार केन्द्रहरु स्थापना गर्नुस् र त्यसको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुस् । किनभने अहिले पनि बीर अस्पतालमा सय जना नर्सको लागि अप्लिेकसन माग्दा ६ हजारले दरखास्त दिएका छन् । भनेपछि, काम गर्ने जनशक्ति छ । र, डाक्टरहरु देशभरि सरकारी अस्पतालमा जम्मा १३ सय मात्र काम गर्छन् । तीन करोड जनताका लागि १३ सय डाक्टरहरुले काम गर्नु भनेको त्यो अस्वीकार्य स्थिति हो । तर त्यो तपाईंहरुको दूरदृष्टिहीनताको परिणाम हो । त्यसलाई सुधार्नुस् ।

र, अर्को कुरा, अहिले तपाईंहरुले कोभिडका बिरामीहरुका लागि दिनको रु. १५ हजारसम्म दिने व्यवस्था गर्नुभएको छ, त्यो हिसाब कहाँबाट निकाल्नुभयो ? स्वास्थ्य अर्थविज्ञहरुको सहयोग लिएर यो महाव्याधीको समयमा सम्पूर्ण गरिब जनताहरुले निःशुल्क उपचार गर्ने व्यवस्था गर्नुस् । त्यो गर्न सकिन्छ, गर्नुपर्छ ।

अहिलेको अवस्थामा तपाईंहरुले गर्न सकिने कामहरु हुन् । अपराध नगर्दिनुस् । तपाईंको सुवास्थ्यको कामना गर्छु । सबैको सुस्वास्थ्यको कामना गर्छु ।
नमस्कार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment