Comments Add Comment

पहिलो खेपमा चीनबाट थोरै अक्सिजन सिलिण्डर किन आयो ?

एक उडानको सवा २ करोड भाडा लाग्छ तर जहाजको क्षमता अनुसार सामान आएन

१ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले २८ वैशाखमा चीनको राजधानी बेइजिङबाट ४०० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्यायो ।

जहाजमा १६० अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर गरी कुल २६ टन मात्र सामान नेपाल आयो । वाइडबडी जहाजको क्षमता ३५ टनसम्म कार्गो बोक्न सक्ने हो । तर, किन क्षमता भन्दा कम सामान नेपाल आयो ?

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डीमप्रकाश पौडेलका अनुसार नेपालमा अस्पतालहरुमा अक्सिजनको हाहाकार भई अकालमा ज्यान गुमाइरहनु परेको अवस्थामा तत्काल सिलिण्डर ल्याउनुपर्ने चुनौती थियो । तर, चीनमा सिलिण्डरको उत्पादन नै भएको थिएन । अहिले चीनले अनुदानमा दिएका यी सिलिण्डर उद्योगबाट सीधै ल्याइएको हो । उद्योगले दैनिक ४०० सिलिण्डर मात्र डेलिभरी गर्न सक्ने जानकारी गराएको छ । सोही कारण पहिलो उडानमा क्षमता अनुसार सिलिण्डर नआएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।

सिलिण्डर मात्र बोक्दा वाइडबडी जहाजले एकै पटकमा साढे ७०० हाराहारी बोक्न सक्ने देखिएको उनले जानकारी दिए । तर, सिलिण्डर नै तयार नभएका कारण जति सिलिण्डर तयार थियो त्यति नै ल्याएर आएको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा प्राप्त हुँदैछ । यी सिलिण्डर सबै नेपाल आइपुग्दा ठूलो राहत हुने अनुमान छ ।

दोस्रो खेप सिलिण्डर तयार भयो : दूतावास

नेपालस्थित चिनियाँ दूतावासका अनुसार बेइजिङमा नेपालले पाउने सिलिण्डरको दोस्रो खेप तयार भएको छ । दूतावासले केही दिनमै यी सिलण्डिर काठमाडौं आउने बताएको छ । यद्यपि यो खेपमा कति सिलिण्डर तयार भएको छ भन्ने संख्या भने खुलेको छैन ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ फेरि बेइजिङ उड्दैछ । यो जहाजले कम्तीमा ४०० थान सिलिण्डर, ४०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

उनका अनुसार अब हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने जानकारी उद्योगले दिएको छ । सोही आधारमा सिलिण्डरको डेलिभरी हुनेछ ।

एक उडानको सवा २ करोड भाडा

नेपालको राजधानी काठमाडौंबाट चीनको राजधानी बेइजिङ पुगेर कार्गोसहित काठमाडौं अवतरण हुँदा नेपाल वायुसेवा निगमले एक उडानको सवा २ करोड भाडा तय गरेको छ । ‘एकतर्फी करीब साढे ७ घण्टा निरन्तर उड्नुपर्ने यो रुटमा कम्पनीले लागतमात्र उठ्ने गरी न्यूनतम भाडा तय गरेको बताएको छ ।

सोहीकारण हरेक उडानबाट अधिकतम क्षमतामा सिलिण्डर ल्याउन सकियोस् भन्ने प्रयास गरेको उनले बताए । अघिल्लो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य खटिएका थिए ।

यूरोप, अमेरिकामा बस्ने नेपालीबाट सिलिण्डिर पठाउन जहाजको माग

नेपाल एयरलाइन्सको जहाज शनिबार ओमानको राजधानी मस्कट जाँदैछ । यो जहाजले ६०० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याउने छ । यी सिलिण्डर गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहयोगमा नेपाल ल्याउन लागिएको हो ।

पौडेलका अनुसार गैरआवासीय नेपालीहरु तथा नेपाली नागरिक रहेका मुलुकहरुमा नेपालीहरुकै पहलमा संकलन गरी सिलिण्डर नेपाल पठाउन जहाजको उच्च माग आएको छ । तर, यस्तो माग अमेरिका, यूरोप, अष्ट्रेलियाजस्तो मुलुकबाट बढी रहेको छ ।

७० किलो बराबरको एक सिलिण्डरलाई टाढाको गन्तब्यबाट जहाजमा नेपाल ल्याइपुर्याउन खर्चिलो हुने भन्दै उनले विदेशमा दुःख गरी कमाएको रकम ढुवानीमै बढी खर्च हुने उल्लेख गरेका छन् । सोहीकारण अक्सिजन सिलिण्डरभन्दा सम्भव भए अक्सिजन जेनेरेटर नेपाल पठाउन पहल गर्न उनले नेपाली समुदायसँग आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment