Comments Add Comment

लेवान्डोस्कीले बराबरी गरे मुलरको ४९ वर्ष पुरानो कीर्तिमान

२ जेठ, काठमाडौं । बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीले जर्मन बुण्डेसलिगामा गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमान बराबरी गरेका छन् ।

लिगमा फ्राएवर्गविरुद्ध गोल गर्दै उनले एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । लेवान्डोस्कीले यस सिजन २८ खेलमा ४० गोल गरेका छन् ।

उनले २६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेल भने २-२ को बराबरीमा सकिएको थियो । बायर्नले यसअघि नै उपाधि पक्का गरिसकेको छ ।

मुलरले सन् १९७२ मा बुण्डेसलिगामा कीर्तिमान बनाउँदा हरेक ७७ मिनेटमा गोल गरेका थिए । तर लेवान्डोस्कीले हरेक ५८ मिनेटमा गोल गरे ।

उनले बुण्डेसलिगामा पछिल्लो १९ खेलमध्ये १८ खेलमा गोल गरे । ५ फेब्रुअरीमा भएको हेर्था बर्लनविरुद्धको खेलमा मात्र लेवान्डोस्की गोल गर्न असफल रहे ।

लेवान्डोस्कीले मुलरको कीर्तिमान बराबरी गरेपछि जर्सी माथी सार्दै ‘फरएभर गर्ड’ लेखेको टीसर्ट देखाएका थिए ।

त्यसपछि उनको टिममेट तत्कालै टचलाइनको अगाडि उनलाई गार्ड अफ अनर प्रदान गरेका थिए ।

लेवान्डोस्कीले एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान तोड्ने अझै अवसर छ । बायर्नले २२ मेमा घरेलु मैदानमा अग्सवर्गसँग खेल्दैछ र लिगको अन्तिम खेलमा गोल गरे उनले कीर्तिमान आफ्नो नाममा लेखाउने छन् ।

पोलिस फरवार्ड लेवान्डवस्की सन् २०१५१६ को सिजन पछि युरोपको शीर्ष पाँच लिगमा एकै सिजन ४० गोल गर्ने पहिलो खेलाडी समेत बने । पछिल्लो पटक लुइस सुआरेजले बार्सिलोनाका लागि ४० गोल गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment