Comments Add Comment

निषेधाज्ञामा पनि धमाधम महाकाली पुलको काम

२ जेठ, धनगढी । कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलको निर्माण कार्य निषेधाज्ञामा पनि भइरहेको छ । झण्डै ४ अर्ब लागत रहेको महाकाली पुलको काम निरन्तर चलिरहेको आयोजना कार्यालयले जनाएको छ ।

महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्र चन्दले कोरोना भाइरसको महामारीमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दै निर्माणका काम भइरहेको जानकारी दिए । ‘सरकारले तोकेका मापदण्ड पालना गर्दै निर्माण व्यवसायीले अहिले पनि काम गरिरहेका छन्,’ इन्जिनियर चन्दले अनलाइनखबरसँग भने, ‘सामान्य समयको भन्दा केही कठिनाइ भएपनि कामलाई निरन्तरता दिइरहेका छौं ।’

अहिले कञ्चनपुरसहित सबैतिर निषेधाज्ञा लागू भएका कारण निर्माण सामग्री आपूर्तिमा समस्या भइरहेको आयोजना कार्यालयले जनाएको छ । ‘जिल्ला प्रशासन कार्यालयबाट पास बनाउनुपर्छ,’ उनले भने, ‘ठाउँ–ठाउँमा गाडी चेकजाँच गरिन्छ । बुटवलबाट पहिले एक दिनमा पुग्ने सामान ल्याउन अहिले २/३ लागिरहेको छ ।’

७० प्रतिशत भौतिक प्रगति         

सुदूरपश्चिमकै आर्थिक समृद्धिको ढोका खोल्ने बहुप्रतिक्षित आयोजनाका रुपमा हेरिएको महाकाली पुलको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी कुमार श्रेष्ठ निर्माण सेवाले २०७४ सालको भदौमा ३ अर्ब ९२ करोडमा ठेक्का पाएको पुलको ७० प्रतिशत काम सकिएको आयोजना कार्यालयका इन्जिनियर चन्दले बताए । ‘ठेक्का अवधि आगामी फागुन १५ गतेसम्म छ,’ उनले भने, ‘हालसम्म ६९ प्रतिशत वित्तिय प्रगति हुँदा ७० प्रतिशत काम सकिएको छ ।’ ३२ वटा स्ल्याबमध्ये २२ वटाको निर्माण सकिएको छ भने अहिले चारवटा बन्दैछन् । केही दिनभित्र सो काम सकेर बाँकी रहेका स्ल्याबको निर्माण थालिने बताइएको छ ।

निर्माण व्यवसायी भन्छन्– ढुंगा अभावले बाँध निर्माण गर्न नसकिने भो

यो बीचमा दुई पटकसम्म म्याद थप गरिएको महाकाली पुलको काम आगामी फागुन १५ भित्रै सम्पन्न गर्ने उद्देश्यका साथ निषेधाज्ञाका बेला पनि जारी राखिएको बताइएको छ । पुलको ठेक्का पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेले समयमै काम सक्ने उद्देश्यले तीव्रता दिइरहेको जनाए ।

तर अन्य काम निर्धारित अवधिमै सम्पन्न गर्न सकिएपनि ढुङ्गा अभावका कारण नदीको दुवैतर्फ निर्माण गर्नुपर्ने बाँधको काम पूरा हुनेमा उनले आशंका व्यक्त गरे । ‘ढुङ्गाको समस्या अहिले पनि कायमै छ,’ पाण्डेले भने, ‘ढुङ्गाकै कारण फागुन १५ भित्र शतप्रतिशत काम सकिने देखिंदैन । सम्बद्ध निकाय यसमा गम्भीर हुनुपर्छ ।’

महाकाली पुलको दुवैतर्फ पहुँच मार्गका लागि पाँच हजार चार सय मिटर बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख गरिएको छ । जसअनुसार निर्माण व्यवसायीले नदीको पारि र वारि गरी दुवैतर्फ दुई हजार सात सय मिटर लम्बाइ भएको बाँध निर्माण गर्नुपर्छ । बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्छन् । जसमा करिब ७० प्रतिशत ढुङ्गा २६० किलोग्रामभन्दा बढी तौलका चाहिने इञ्जिनीयर पाण्डेय बताउँछन् ।

तर ती  ढुङ्गाका लागि यसअघि तोकिएका खनिया खोला, रौटेला लगायतका क्षेत्रमा स्थानीयले उत्खनन् गर्न नदिएपछि काम रोकिएको छ । सो विषयमा जिल्ला प्रशासन कार्यालयको रोहबरमा पटक–पटक छलफल भएपनि निकास निस्कन सकेको थिएन ।

चुरे क्षेत्रमा उत्खनन् गर्न नपाइने भएकाले रोक्यौं : डिभिजन वन

डिभिजन वन कार्यालय महेन्द्रनगरले भने महाकाली पुल आयोजनाले चुरे क्षेत्रबाट ढुङ्गा उत्खनन् गर्न थालेपछि रोक लगाइएको जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत अजय मानन्धरले चुरे क्षेत्रमा ढुङ्गा उत्खनन् गरेको पाइएपछि नियमानुसार रोक लगाइएको जानकारी दिए ।

‘चुरे क्षेत्रबाट ढुङ्गा, माटो तथा अन्य नदीजन्य वस्तु उत्खनन् गर्न पाइँदैन,’ मानन्धरले भने, ‘त्यसैले हामीले रोक लगाएका हौं । उहाँहरुले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर मात्र उत्खनन् गर्न सक्नुहुन्छ ।’ उनले वनले व्यावहारिक रुपमा उत्खनन् गर्न दिन सक्ने भएपनि लिखित रुपमै अनुमति दिन सक्ने अवस्था नरहेको उनी बताउँछन् । तर महाकाली पुल आयोजनाका इन्जिनियर वीरेन्द्र चन्द भने सम्झौतामै ढुङ्गा संकलन गर्ने ठाउँ किटान गरिएपनि वन र स्थानीयको अवरोधका कारण समस्या भएको भन्दै पुलको काम पछि धकेलिने बताउँछन् ।

झण्डै ८ सय मिटर लम्बाइको महाकाली पुल निर्माण भए कञ्चनपुरमा सुदूरपश्चिमकै प्रमुख व्यापारिक नाका बन्नेछ । पुलसँगै हाल भारतसँग जोडिएको गड्डाचौकी नाकासम्म ६ लेन सडक समेत निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment