Comments Add Comment

सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा अक्सिजन उद्योगहरु अलमलमा

२ जेठ, काठमाडौं । अक्सिजनको वितरण प्रणाली व्यवस्थित गर्न भन्दै कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले गत बुधबार अस्पतालहरुलाई अक्सिजनको कोटा तोक्यो । त्यसको दुई दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले सूचना जारी गर्दै उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ ।

सीसीएमसी र स्वास्थ्यको दोहोरो निर्णयले अक्सिजन वितरण प्रणालीमा अन्योल थपेको अक्सिजन उद्योग संचालकहरु बताउँछन् । यस्तो आपतकालीन समयमा राज्यको सम्पूर्ण निकायको समन्वयात्मक भूमिका हुनुपर्नेमा फरक फरक निर्णय आउँदा काम गरिरहेकालाई समेत अन्योल बनाएको अक्सिजन ग्यास उत्पादक संघका महासचिव तथा सगरमाथा अक्सिजन प्रा.लि.का निर्देशक नारायण तिमल्सिना बताउँछन् ।

उद्योगहरुले आफ्नो क्षमता अनुसारको अक्सिजन विभिन्न अस्पतालहरुलाई उपलब्ध गराइरहेको बेला सीसीएमसीले अक्सिजन उपलब्ध गराउनुपर्ने अस्पताल र अक्सिजनको कोटा तोक्यो । सीसीएमसीले उद्योगको क्षमता भन्दा बढी अक्सिजनको कोटा तोकेको र नियमित अस्पताल भन्दा फरक अस्पतालहरु पर्दा वितरणमा समस्या भएको उनले बताए ।

‘बीचमा दिन थालेको अस्पताललाई फेरि दिने कि नदिने हुने भयो । पहिला दिँदै गरेको अस्पताल पनि पुरानै सम्झौता अनुसार माग गर्न सक्ने भयो,’ महासचिव तिमिल्सिना भन्छन्, ‘हामीले वितरण संख्या तल–माथि पार्नासाथ अस्पताललाई पनि समस्या हुन्छ ।’ उनले उद्योगले दैनिक करिब ८ सय ठूलो सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको बताए ।

‘समन्वय अभाव’

हाल उपत्यकामा ८ वटा उद्योगहरुले अक्सिजन उपलब्ध गराइरहेको छ । दैनिक करिब ९ हजार सिलिन्डर उत्पादन गरिरहेका उद्योगहरुले अस्पतालहरुको माग अनुसार आपूर्ति गर्न नसकिरहेको बताउँदै आएका छन् ।

ग्यास, अक्सिजन उत्पादक संघका अध्यक्ष एवं कान्तिपुर अक्सिजन प्रा.लि. का निर्देशक गौरव शारडा सीसीएमसीले उद्योगको स्वास्थ्यले जारी गरेको सूचना सकारात्मक हुँदा हुँदै पनि उद्योगहरु अलमलमा परेको बताए । सरकारले उद्योग र अस्पताल अन्योलमा पार्ने काम गरिरहेको उनको भनाइ छ । शारडा भन्छन्, ‘न उद्योगको क्षमता, स्थिति बुझ्छ न एक आपसमा समन्वय गर्छ । यसले वितरण प्रणाली थप जटिल बनाउने भन्दा बाहेक केही गरेको छैन ।’

अहिले उद्योगहरुको उत्पादन क्षमता भन्दा बढी माग हुँदा आपूर्ति गर्न नसकिरहेको अवस्थामा अस्पतालहरुले संक्रमितलाई नै अक्सिजन व्यवस्था गर्न लगाउन थालेपछि वितरण प्रणालीमा झन् समस्या आएको उनको भनाइ छ ।

अस्पतालले व्यवस्था गर्न नसकेको अक्सिजन व्यक्तिले कसरी गर्छ ? तर संक्रमितका आफन्त, परिवारले अनेक उपाय लगाएर व्यवस्था गरिरहेका छन् । ‘सरकार, अस्पताल, उद्योगसँग नभएको सिलिन्डर कहाँबाट विरामीको आफन्त हातमा पुग्यो ?’ उनी प्रतिप्रश्न गर्दै भन्छन्, ‘यसले हाम्रो व्यवस्थापन प्रणाली कति कमजोर छ भन्ने देखाउँछ ।’

महामारी फैलन अघि निश्चित समय चल्ने अक्सिजन उद्योगहरुले पूर्ण क्षमता बराबरको उत्पादन कमै गर्थे । तर अहिले दैनिक २४ घन्टामा उद्योगको पूर्ण क्षमता बराबर अक्सिजन उत्पादन गरिरहेको बताउँछन् ।

सीसीएमसी र स्वास्थ्यबीच समन्वय नहुँदा वितरण प्रणाली नै भद्रगोल पारेको सीता उत्पादन (अक्सिजन) उद्योगका प्रल्हाद तिमल्सिना बताउँछन् । ‘उद्योगहरुले आफ्नो क्षमता अनुसार उत्पादन गरेको अक्सिजन अस्पतालहरुलाई वितरण गरिरहेको थियो । तर सीसीएमसीले कोटा प्रणालीबाट वितरण गर भन्यो ।

सीसीएमसीले तोकेको मात्रामा उपलब्ध गराउने क्षमता थिएन,’ उनी भन्छन्, ‘उत्पादन भएको अनुसार मिलाएर शुरु गरेका थियौं । फेरि स्वास्थ्यको सूचना आयो । अब कसरी गर्ने अलमलमा छौं ।’ उनको उद्योगले अहिले ७ सय सिलिन्डर दैनिक उत्पादन गरिरहेको छ । अक्सिजनको अभाव बढ्न थालेपछि उद्योगले अर्को नयाँ अक्सिजन प्लान्ट शुरु गर्ने अन्तिम तयारीमा पुगेको छ । तिमिल्सिनाका अनुसार उद्योगले जेठ महिनाभित्रै अक्सिजन उत्पादन गर्ने शुरु गर्नेछ ।

जोखिम छ भन्दाभन्दै पनि सरकारले पूर्व तयारी नगरेपछि अन्तिम समयमा आत्तिएर विभिन्न खालको निर्णय गरिरहेको सोपान अक्सिजन प्रा.लि.का निर्देशक बसन्त मरहठ्ठा बताउँछन् । उनी भन्छन् ‘जोखिम छ भनेर त जनस्वास्थ्यविद्हरु भनिरहेका नै थिए । खै त पूर्वतयारी गरेको ? अहिले आत्तिएर हामीलाई समेत अलमलमा पार्ने काम भइरहेको छ ।’

अक्सिजन कम हुँदै गएपछि सरकारले उद्योग, कम्पनीहरुमा भएको अक्सिजन जफत गर्दै अस्पताल, स्थानीय तह, आइसोलेसन केन्द्रहरुलाई दिएको छ । त्यसैले अक्सिजन उद्योगहरुलाई आफ्नो उद्योगको सिलिन्डर कहाँ र कोसँग कत्ति संख्यामा छ भन्ने जानकारी समेत नभएको उनको भनाइ छ । दैनिक ८ सय अक्सिजन उनको कम्पनीले उत्पादन गर्दै आइरहेको छ ।

ककनीमा रहेको हाम्रो अक्सिजन प्रा.लि.ले दैनिक सात सय ठूलो सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको निर्देशक नवराज पाण्डेले बताए । विगतमा केही अस्पताल र उद्योगहरुलाई आपूर्ति गरिरहेको प्रा.लि.ले अहिले अस्पताल, आइसोलेसन केन्द्रलाई आपूर्ति गरिरहेको छ । निर्देशक पान्डेको अनुसार उद्योगले अक्सिजन व्यक्तिहरुलाई पनि उपलब्ध गराइरहेको छ । बाटो खराब भएको कारण समयमा अक्सिजन उपलब्ध गराउन नसकिरहेको उनले बताए ।

‘अक्सिजन उपलब्ध गराउन दबाब’

सरकारी सम्बन्धित निकायको समन्वय नहुने मात्रै नभएर शक्तिको आडमा अक्सिजन उपलब्ध गराउन दबाब दिनेहरुको कारण पनि वितरण प्रणालीमा प्रभाव परिरहेको नवज्योति अक्सिजन प्रा.लि.का निर्देशक पदम सुल्तनिया बताउँछन् ।

उनी भन्छन्, ‘अस्पतालभन्दा बाहेक दैनिक विभिन्न शक्तिमा भएका मान्छेहरुले फोन गर्छन् । वितरण प्रणाली व्यवस्थित बनाउनको लागि सरकारले सिस्टम बसाउनुपर्छ ।’ उद्योगले सवा ८ सय सिलिन्डर दैनिक उत्पादन गरिरहेको छ । उत्पादन क्षमता भन्दा दोब्बर माग भइरहेको छ । उनी भन्छन्, ‘माग त २ हजार सिलिन्डरको छ । तर हाम्रो क्षमता छैन ।’

अहिले उपत्यकामा ८ वटा उद्योगबाट दैनिक करिब ९ हजार सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर माग भने १६ हजार सिलिन्डर भन्दा बढी भइरहेको अक्सिजन ग्यास उत्पादक संघका महासचिव तिमल्सिनाले बताए । उनी भन्छन्, ‘यस्तो संकटको बेला वितरण प्रणाली सहज बनाउनुपर्ने निकायहरुले थप अलमल बनाइरहेका छन् ।’

उद्योगमा संक्रमण फैलने जोखिम

अस्पतालहरुले संक्रमित आफैले अक्सिजन व्यवस्था गर्न भन्न थालेपछि अक्सिजन उद्योगमा सिलिन्डर भर्ने र नयाँ खोज्न आउने संक्रमितको आफन्तको भीड बढेको छ । यसले उद्योगमा काम गर्नेहरु समेत असुक्षित महसुस गरिरहेका छन् ।

अक्सिजनको लागि संक्रमितका आफन्तको भीड लाग्न थाले पछि उद्योगको कर्मचारीमा संक्रमणको जोखिम बढ्नुको साथै विरामीको आफन्तले पनि दुःख पाउने काम भइरहेको संघका अध्यक्ष शारडा बताउँछन् । उनले भने, ‘छैन भन्दा पनि लाइनमा बस्नुहुन्छ । क्षमता नै पुग्दैन त कसरी दिनु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment