+
+

जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते २१:१९

२ जेठ, काठमाडौं ।सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

यसअघि ३१ वैशाखमा भएको छलफलमा जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमति भएको थियो ।

कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिंदै आएको थियो ।

तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओली त्यसलाई भत्काउन चाहँदैनन् । नेपाल समूहका नेताहरुलाई कारबाही गरेका ओलीले गएको १० वैशाखमा मात्रै माओवादी छोडेका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गरेका थिए ।

बिहीबार मात्र चार नेताको निलम्बन फिर्ता लिएका एमाले अध्यक्ष ओली २ जेठमा फर्किँदा ५ पुसयता आफूले बनाएका सबै कमिटी विघटन गर्न तयार हुनुपर्छ । माधव नेपाल समूहले पनि ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनाएका छन् । २ जेठमा फर्किंदा यो पनि खारेज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?