Comments Add Comment

मोरङका उद्योगबाट काठमाडौंमा अक्सिजन

२ जेठ, विराटनगर । प्रदेश १ का अक्सिजन उद्योगले काठमाडौं उपत्यकासहित अभाव भएका अन्य जिल्लामा मेडिकल अक्सिजन उपलब्ध गराउने बताएको छ । त्यस अनुसार प्रदेश १ का मोरङ र सुनसरीका उद्योगले काठमाडौंसहित जिल्लामा अक्सिजन आपूर्ति पनि गर्न थालेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मोरङका उद्योगले आन्तरिक माग धानेर काठमाडौँलगायत अन्य जिल्लामा अक्सिजन पठाइरहेको बताए ।

‘विराटनगरको माग धानेको छ, बाहिरबाट आएका सिलिण्डर पनि रिफिल गरेर पठाइदैछ’ उनले भने, ‘सेनाको हेलिकप्टरले ३ पटक काठमाडौँ लागिसक्यो ।’ उनका अनुसार मोरङ र सुनसरीबाट मकवानपुर, भैरहवा, डडेलधुरासम्म अक्सिजन पठाइएको छ ।

मोरङबाट स्थल र हवाई मार्ग हुँदै अक्सिजन काठमाडौं पठाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए । उनका अनुसार सेनाको स्काई ट्रकमार्फत १८०, स्थल मार्ग हुँदै १६३ सिलिण्डर रिफिल गरेर पठाइएको छ ।

‘यहाँका उद्योगको उत्पादन सबै यहाँ खपत हुँदैन, अन्यन्त्र पठाइरहेका छौँ,’ उनले भने, ‘यहाँको सिलिण्डर पठाइएको छैन, रिफिल मात्र गरिएको हो ।’ यसअघि १० घण्टा मात्रै चलेका उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरेर अक्सिजन रिफिल भइरहेको उनले बताए ।

मोरङमा उत्पादन पर्याप्त भएका कारण अभाव भएको स्थानमा सप्लाइ निरन्तर रहने उनले बताए । मोरङबाट एक सय सिलिण्डर भैरहवा, ६० सिलिण्डर भक्तपुर पठाइएको छ ।

मोरङ र सुनसरीमा पाथिभरा, मारुती, दुर्गा, विनायक र हिमाल अक्सिजन उद्योग सञ्चालनमा छन् । ती उद्योगले दैनिक तीन हजार भन्दा बढी सिलिण्डरमा अक्सिजन रिफिल गर्न सक्छन् । विनायकले दैनिक १८ सय सिलिण्डर, दुर्गाले ५८०, मारुतीले ५०० र हिमालले साढे ३ सय सिलिण्डर रिफिल गर्न सक्ने सम्बन्धित उद्योगले बताएका छन् ।

मोरङको विनायक अक्सिजन उद्योगका सञ्चालक पुनित सारडा उद्योगबाट उत्पादिन ९० प्रतिशत अक्सिजन विराटनगरका अस्पतालमा र १० प्रतिशत अन्य जिल्लामा पठाइरहेको बताए ।

‘विराटनगरका अस्पतालहरुमा खपत बढेको छ, उद्योग पूर्ण क्षमतामा चलाएका छौं,’ उनले भने,‘ काठमाडौं र प्रदेश ५ बाट आएका सिलिण्डर रिफिल गर्दै पठाएका छौं ।’

कोरोना महामारीको सामना गरिरहेको भारतबाट पनि अक्सिजन सिलिण्डर भर्नका लागि पत्र आए मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । बिहारको अरअरिया जिल्लाबाट ८० सिलिण्डर रिफिल गर्नका लागि पत्र आएको उनले बताए ।

‘तीन दिनअघि अरअरियाबाट ८० सिलिण्डर रिफिल गर्नका लागि पत्र आएको थियो,’ निरौलाले भने,‘ सिलिण्डर आए रिफिल गरिदिन्छौं भनेका छौं ।’

विनायक अक्सिजन उद्योगका सञ्चालक साडराले फूल फेजमा उद्योग सञ्चालन गरेर रिफिल गरिरहेको बताए । उनका अनुसार विनायकबाट उत्पादित अक्सिजन कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजमा बढी खपत हुन्छ ।

सुनसरीमा तीन उद्योग छन् । ती उद्योगबाट उत्पादन भएका अक्सिजन धनगढीसम्म आपूर्ति भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार अन्य प्रदेशबाट आएका सिलिन्डर रिफिल गरि नियमित आपूर्ति भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment