Comments Add Comment

डिभोर्सपछि बिल गेट्सले पूर्व पत्नीलाई दिए ३ अर्ब डलर

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले हालैमात्र सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई ३ अर्ब डलर बराबरको सम्पत्ति दिएका छन् ।

बिल गेट्सको इन्भेस्टमेन्ट कम्पनी क्यास्केडले डीरे एण्ड को नामक कम्पनीमा रहेको केही शेयर मेलिन्डाको नाममा नामसारी गरेको छ र योसँगै मेलिन्डाले डिभोर्स पश्चात् पूर्व पतिबाट कूल ३ अर्ब डलर बराबरको सम्पत्ति प्राप्त गरेकी छिन् ।

समाचार अनुसार डीरे एण्डको कम्पनीमा रहेको साढे २२ लाख कित्ता शेयर मेलिन्डाको नाममा सारिएको छ, जसको हालको मूल्य ८५ करोड १० लाख डलर हुन आउँदछ ।

यसअघि मेक्सिकन कम्पनी कोकाकोला फेम्जा र ग्रुप टेलेभिजासँगै क्यानेडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इंकमा रहेको झण्डै १ अर्ब ८० करोड डलर शेयरको हिस्सा समेत बिल गेट्सले पूर्व पत्नीको नाममा सारिदिएका थिए ।

बिल गेट्स र मेलिन्डाबीचको डिभोर्सलाई अहिलेसम्मकै महंगो मानिएको छ र डिभोर्सपछि यतिधेरै सम्पत्ति पूर्वपत्नीलाई दिएका घटना दुर्लभ नै हुन्छन् ।

बिल गेट्सले स्थापना गरेको इन्भेस्टमेन्ट कम्पनी क्यास्केडले भ्यालु स्टकदेखि, प्राइभेट इक्विटी, उर्जा, हस्पिटालिटी तथा भेन्चर क्यापिटल लगायतका क्षेत्रमा लगानी गरेको छ । यो कम्पनीसँग ५२ अर्ब डलर बराबरको इक्विटी होल्डिंग्स रहेको बताइन्छ ।

बिल गेट्स र मेलिन्डा अमेरिकाका सबैभन्दा ठूला जन्मिदार मध्येमा पनि पर्दछन् । कृषि उपकरण निर्माता कम्पनी डीरीमा पनि क्यास्केटको १० प्रतिशत शेयर रहेको छ, जसको मूल्य ११ अर्ब ९० करोड डलर हुन आउँछ ।

ब्लुम्बर्गका अनुसार क्यास्केडको सबैभन्दा ठूलो लगानी चाहीँ फोहोरमैला संकलन कम्पनी रिपब्लिक सर्भिसमा रहेको छ । उक्त कम्पनीमा क्यास्केडको स्वामित्वमा रहेको शेयरको मूल्य १२ अर्ब डलर रहेको छ ।

स्मरण रहोस् यसअघि सन् २०१९ मा अमेजन सिइओ जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी स्कट बेजोसबीच पनि यस्तै महंगो डिभोर्स भएको थियो । डिभोर्सपछि बेजोसले आफ्नी पूर्व पत्नीलाई अमेजन कम्पनीमा रहेको आफ्नो शेयरको १६ प्रतिशत हिस्सा प्रदान गरेका थिए ।

बेजोसकी पूर्व पत्नी म्याकेन्जी हाल विश्वकी चौथो धनी महिला हुन् । उनी सन् २०२० मा सर्वाधिक दान गर्ने महिलामध्येमा पनि पर्दछिन् । उनले लैंगिक समानताको क्षेत्रमा काम गर्ने संस्थाहरुका लागि अर्बौँ सहयोग प्रदान गरेकी छिन् ।

हालै डिभोर्स गरेका बिल गेट्सको कूल सम्पत्ति १ खर्ब ४५ अर्ब डलर रहेको छ । तर बिल गेट्सको लगानी धेरै ठाउँमा छरिएको हुनाले डिभोर्सपछि सम्पत्तिको बाँडफाँड जेफ बेजोसको जति सजिलो भने छैन । किनकी बेजोसको सम्पत्तिको अधिकांस हिस्सा अमेजन कम्पनीको शेयरकै रुपमा थियो ।

ब्लुम्बर्गबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment