
४ जेठ, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थबाट एक दिन पाँच वटा जहाज काठमाडौंबाट साउदी अरेवियाका लागि उड्दैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् । यसमध्ये हिमालयका दुई जहाज बिहान उडिसकेका छन् । हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् ।
यी जहाजमा भारतीय नागरिकहरु रहेका छन् । नेपालमा निषेधाज्ञा घोषणा नहुँदै नेपाल आई काठमाडौंमै रोकिएका भारतीय नागरिकलाई भारत र साउदी सरकारको सहमतिमा उडानको बाटो खोलिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयलाई तीन र नेपाल एयरलाइन्सलाई सात उडानको अनुमति दिएको हो । नेपाल एयरलाइन्सले थप उडान १९, २०, २१ २२ र २३ तारीखमा गर्ने गरि तालिका बनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार आज बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिण्डर लिएर आउँदैछ । यो जहाज पुनः सिलिण्डर लिन आजै राती बेइजिङ जाने कार्यक्रम छ ।
आज बिहान हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट कार्गो लिएर आएको छ । हिमालयको अर्को जहाज आज राति कुनमिङ जाने छ ।
आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4