Comments Add Comment

एसिया कप टी–२० क्रिकेट स्थगित हुने

६ जेठ, काठमाडौं । आगामी जुनमा श्रीलंकामा हुने भनिएको एसिया कप टी–२० क्रिकेट प्रतियोगिता स्थगित हुने भएको छ ।

कोरोना भाइरस महामारीका कारण एसिया कप स्थगित गर्न लागिएको श्रीलंका क्रिकेटका चिफ एक्जुकेटिभ अश्ले डे सिल्भाले बुधबार जानकारी गराएका हुन् । उनले अहिलेको अवस्थामा जुनमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको बताए ।

श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा आयोजना गरिने तय थियो ।

कोरोनाकै कारण गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप स्थगित भएको थियो । यस वर्षका लागि श्रीलंकामा आयोजना गर्ने तय थियो । पाकिस्तानमा गत वर्ष एसिया कप हुन नसकेपनि पाकिस्तान र श्रीलंकाले आयोजना अधिकार साटेका थिए ।

डे सिल्भाले एसिया कप अब २०२३ को एकदिवसीय विश्वकपपछि मात्र हुन सक्ने समेत बताएका छन् । उनले अबको दुई वर्षका लागि धेरै खेलतालिका बनिसकेको बताए ।

यस्तै डे सिल्भाले यसबारे एसियन क्रिकेट काउन्सिलले छिटै आधिकारिक घोषणा गर्ने बताए ।

पछिल्लो समय दक्षिण एसियाली देशहरुमा कोरोना भाइरस महामारीको संक्रमण तीव्र गतिमा बढिरहेको छ । धेरै देशले यस क्षेत्रमा हुने हवाई उडानमा समेत प्रतिबन्ध लगाएका छन् ।

श्रीलंकाले बुधबार मात्रै उडानमा १० दिनको प्रतिबन्ध लगाएको छ । श्रीलंकाको राष्ट्रिय क्रिकेट टिम भने हाल तीन खेलको एकदिवसीय सिरिजका लागि बंगलादेशमा रहेको छ ।

एसिया कपको पछिल्लो संस्करण सन् । २०१८ मा युएईमा भएको थियो । ५० ओभर फर्म्याटमा भएको उक्त प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसै वर्ष अक्टोबर नोभेम्बर भारतमा टी–२० विश्वकप हुने तय भएपनि त्यसमा शंका उत्पन्न भएको छ । भारतमा कोरोना संक्रमण बढिरहेको अवस्थामा टी–२० विश्वकप युएई सर्न सक्ने सम्भावना समेत छ ।

त्यसैका लागि छलफल गर्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मे २९ मा स्पेशल जेनरल मिटिङ गर्ने भएको छ ।

टी–२० विश्वकपका लागि बीसीसीआईले ९ भेन्यू तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment