
७ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम षडयन्त्रपूर्ण र प्रधानमन्त्रीको नियत सन्देहास्पद रहेको बताएको छ ।
संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिले २४ घण्टा पनि समय नदिनु प्रतिनिधि सभा विघटन गर्ने नियतले प्रेरित रहेको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका केन्द्रीय सभापति गोविन्द खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानतः ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिएको भए वा राजीनामा दिएको भए मात्र ७६ ( ५) आकर्षित हुनेमा राजिनामा नदिनु सन्देहास्पद एवं आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्रीले विश्वास मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा छोटो समयसीमा तोकी धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्नु षडयन्त्रपूर्ण छ ।’
‘साथै नेपालमा कोभिड संक्रमण तिव्र भएर आधारभूत उपचार नपाई नागरिकहरुले ज्यान गुमाइरहेको बेला देशलाई निर्वाचित प्रतिनिधिसभा विहिन बनाउने, अध्यादेशबाट शासन चलाउने, निर्वाचनलाई अनश्चित गर्ने र लामो समय सत्तामा रहिरहने बदनियतले प्रेरित यि कदमहरुप्रति शान्ति समाज गहिरो चिन्ता व्यक्त गर्दछ’-विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि पनि संसदका प्रमुख दलहरुको मुल्यहीन राजनीति गरेका र संदिग्ध भूमिका खेलेका भन्दै समाजले दु:ख व्यक्त गरेको छ ।
प्रतिक्रिया 4