
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको नेकपा एमालेका सांसद जयकुमार राईले बताएका छन् ।
‘प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि त्यसलाई रोक्न संसद् बैठक बोलाउन हस्ताक्षर गरेको हुँ । तर पार्टी विभाजन हुनेगरी हस्ताक्षर गरेको होइन’, राईले भने । तर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा आफ्नो हस्ताक्षर रहेको थाहा पाएकाले आपत्ति प्रकट गरेको उनले बताए ।
‘विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर कसरी गर्छु । म एमाले विभाजनको विपक्षमा छु’, उनले भने । सुनसरी–१ बाट निर्वाचित राई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसद हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव–बाबुराम भट्टराई र एमाले नेता नेपाल समूहका १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाइएको छ ।
एमाले माधव नेपाल पक्षका एक सांसदका अनुसार राष्ट्रपति कार्यालयमा बुझाइएको नामावलीमा सांसद राईको हस्ताक्षर समावेश गरिएको छैन ।
प्रतिक्रिया 4