Comments Add Comment

बाढीले महाकालीको निर्माणाधीन पुलमा क्षति

नदीमा फसेका १० मजदुरको उद्दार

७ जेठ, धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्रमा लगातार परेको वर्षापछि महाकाली नदीमा बाढी आएको छ । बिहीबार राति आएको बाढीले निर्माणाधीन चार लेनको माटरेबल पुलमा क्षति पुगेको छ ।

महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्र चन्दले बाढीले झण्डै डेढ करोड रुपैयाँ मूल्यको असफाल्ट प्लान्ट ( कालोपत्रे गर्न आवश्यक पर्ने कच्चा पदार्थ बनाउने प्लान्ट) बगाएको जानकारी दिए ।

‘नदीमा एक्कासी आएको बाढीले असफाल्ट प्लान्ट, झण्डै तीन सय मिटरमा बनाइएको गाइडवन्ट, एक्साभेटर, दुई वटा जेनेरेटर बगाएको भन्ने प्रारम्भिक खबर प्राप्त भएको छ,’ इन्जिनियर चन्दले अनलाइनखबरसँग भने, ‘अहिले नै क्षतिको परिणामबारे यकिन भइसकेको छैन । तर निर्माण व्यवसायीले निर्माण स्थलमा भएका अधिकांश सामान क्षतिग्रस्त भएको बताएका छन् ।’

पुलको ठेक्का पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेले पनि बाढीले पुलका संरचनामा क्षति नगरेपनि निर्माण सामग्री क्षतिग्रस्त भएको जानकारी दिए । उनले क्षतिबारे विवरण संकलन गर्ने काम गरिरहेको जनाए ।

यस्तै बाढीका कारण नदीको बीच भागमा फसेका १० जना मजदुरको पनि उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ज्ञानेन्द्रबहादुर सिंहको कमाण्डमा विपद व्यवस्थापन गुल्म महेन्द्रगर, इलाका प्रहरी कार्यालय गड्डाचौकी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उनीहरुको उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार नदीमा फसेका कैलालीको टीकापुर नगरपालिका– ६ का समशेर पुनमगर, विष्णु पुनमगर, जित पुनमगर, दिनेश पुनमगर, आनन्द पुनमगर, आशबहादुर बिक, गोविन्द रोकामगर, बलबीर घर्तीमगर, ओमलाल मगर र कञ्चनपुरको भीमदत्त नगरपालिका –१९ का मनिराज जोशीको उद्दार गरिएको हो ।

उनीहरुको उद्दार गरेर अहिले सुरक्षित स्थानमा राखिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । भारतमा केही दिनदेखिको लगातार भइरहेको वर्षाका कारण दार्चुलासँग जोडिएको धारचुलामा रहेको धौलीगंगा जलविद्युत परियोजनाले जतिबेला पनि बाँधको ढोका खोलिने जानकारी नेपाली पक्षलाई गराएको थियो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी गर्दै महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई पूर्व तयारी गर्न अपील गरेको थियो । धौलीगंगाले बाँधको ढोका खोलेको जानकारी समेत गराउँदै आएको बताउँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले हालसम्म कुनै जानकारी प्राप्त नभएको बताए ।

उनले दार्चुलासहितका पहाडी जिल्लामा पनि अविरल वर्षा भइरहेकाले महाकालीमा नदीको सतह बढेको हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment