Comments Add Comment
यात्रा संस्मरण :

उकालै उकालो जलजला !

त्यतिबेला म पूर्वी नेपालबाट सात महिनाको बसाइ सकेर घर फर्किरहेको थिएँ । संयोग मान्नुपर्छ, घरको गेट खोल्दै गर्दा मामाले भन्नुभयो– ‘भान्जी हामी जलजला जाँदै छौं भोलि । जाने हो ?’

भर्खरै जागिरे जिन्दगी र विराटनगरको वैशाखे गर्मी छोडेर फर्किएको थिएँ । यसै पनि घुम्न मनपर्ने भएकाले यो राम्रो अवसर लाग्यो । सोच्दै–नसोची ‘हुन्छ’ भनिदिएँ ।

भोलिपल्ट ६ बजेको जीपबाट मामा-माइजू, फूपू र फुपुको छोरीहरूसहित रोल्पातर्फ हिँड्यौं । पाँच घण्टाको जीप यात्रापछि हामी दाङबाट रोल्पाको सुलिचौर पुग्यौं । अब यहाँबाट २५ किलोमिटर जीपयात्रा र एक घन्टा पैदल जानुपर्ने रहेछ ।

घडीमा दिनको ११ बजिरहेको थियो । हामी जीप बुक गरेर जेल्बाङ पुग्यौं । जेल्बाङ- जहाँबाट सुरु हुन्छ ‘गुरिल्ला ट्रेक’ । जहाँ जनयुद्धमा सबैभन्दा बढी योद्धाले ज्यान गुमाए । जहाँ रैथाने मगरहरूको बसोबास छ ।

जलजला पुग्न मुख्यत: दुईवटा ‘रुट’ प्रयोग गरिन्छ । एउटा थबाङ र अर्को जेल्बाङ । जसमध्ये थबाङसम्म मोटर बाटो पुगेकोले थबाङको बाटो अलि नजिक पर्छ । तर जेल्बाङको बाटोचाहिँ ट्रेकिङ जानमात्र उपयुक्त हुन्छ ।

जेल्बाङ,  जो गुरिल्ला ट्रेकको ‘गेट–वे’ पनि हो ।

हामी जेल्बाङबाट उक्लेर माझिबाङ आइपुग्दा साँझको ७ बजिसकेको थियो । भोलि बिहानै उठेर हिँड्ने योजनासहित हामी त्यहीँको मामाघरमा बस्यौं ।

बिहान ९ बजे मात्रै हामीले ट्रेक सुरु गर्यौं । ओख्रेनी पुग्दा १२ बजिसकेको थियो । मामाहरू पूजाको लागि भेडा लिन जाँदा केही पछि रहनुभयो । मामालाई पर्खिन माइजू ओख्रेनीमै रहनुहुने भयो । हामीले भने यात्रा जारी राख्यौं, नाबाङदेखि स्तम्भसम्म ठाडै उकालो बाटो । बुकी भएकाले कुनै रूखहरू पनि थिएनन् बाटोमा ।

यहाँ पानीको समस्या हुने रहेछ । हुन त ओख्रेनी छेडाबाट पानी बोकेको थिएँ तर सबै पानी सकिएको थियो । मान्छे नै उडाएर लानेजस्तो हावा चल्ने त्यो ठाउँ उकालो र कुनै बोटबिरुवा नभएको थियो । पानी नभएर हो या बुकी लागेर हो मलाई साह्रै गाह्रो भइराखेको थियो ।

हुन त बुकी लाग्छ भनेर पहिले नै चक्लेट, सतुवा र लसुन बोकेको थिएँ । तर तल ओख्रेनीमै माइजूसँग झोला साटिएछ । अब मैले बोकेको झोलामा दुई बोत्तल कोकको बोत्तलमा जाँडको झोलमात्रै छ । एक त मलाई तिर्खाले घाँटी सुकेको छ अर्को बोक्न पनि गाह्रो भइराखेको थियो ।

‘देखा जाएगा’ भन्दै त्यही जाँड खाइदिएँ ।

जाँड खाएको केहीबेरमा हड्डी पिरो भएर एक पाइला पनि हिंड्न नसक्ने भएँ । आदत नभएकोलाई त त्यसरी खान नहुने रहेछ झनै अप्ठ्यारोमा पार्नेरहेछ । बल्लबल्ल स्तम्भ उक्लियौं । एउटा ग्रुप अगाडि पुगिसकेको थियो । मामाहरूको ग्रुप पछाडि  थियो । त्यहीँ पर्खेर सँगै जाने सल्लाह भएपछि हामी ‘सिज स्तम्भ’ हेर्न गयौं ।

जनयुद्धको तयारीका लागि तत्कालीन नेकपा (माओवादी) पार्टीले  जलजला पहाड र सिस्ने हिमाललाई क्रान्तिको प्रतीकका रूपमा ‘सिज मितेरी अभियान’ चलाएको थियो । जुन समयमा ३ हजार ५७६ मिटरको उचाइ रहेको धरमपानीमा त्रिकोणात्मक ‘सिज स्तम्भ’ को निर्माण गरियो । जसलाई नेपाली जनयुद्धको प्रतीकका रूपमा आज पनि चिनिने गरिन्छ । जनयुद्धको क्रममा शाही नेपाली सेनाले एकपटक भत्काएको थियो । तर पछि पुनःनिर्माण गरियो ।

सिजबाट हिँडेपछि साँझ ७ बजेमात्र हामी जलजला पुग्यौं । त्यहाँ पुग्दा सबै धरमशालाहरू प्याक भइसकेको थियो । नजिकका खाली ठाउँहरूमा पनि टेन्टका छाप्राहरू बनाइएका थिए । हामीसँग न टेन्ट बनाउन सामान थियो न समय ।  बल्लबल्ल मामाले एक ठाउँ होटेल राख्नलाई बनाइएको सानो छाप्रो भेट्नुभयो । सुत्न मिल्ने ठाउँ थिएन, बाहिर मुटु कमाउने जाडो थियो ।

कुरा गरेर नै जसोतसो रात बितायौं ।

०००

बिहानैदेखि थानहरूमा पूजा गर्नेको लाइन थियो । भेडाहरू बलीको लागि तयार पारिएको थियो । मामा पूजा गर्न जानुभयो, म त्यहाँ रहेका चेमलाको फोटो खिच्नमै व्यस्त भएँ ।

प्रकृतिपूजक, पितृपूजक आदिवासी मगरहरू थानमा पूजा गर्ने गर्दछन् । ठूलो देवताका रूपमा बराह देवतालाई लिई थानमा बली दिएर पूजा गर्ने गर्दछन् । १२ भाइ बराहहरू मगरहरूका पवित्र देवता हुन् भने २२ बहिनी बज्यू पवित्र देवी हुन् । बराह देवतामा विश्वास राख्नेहरूका लागि जलजला एउटा धार्मिक केन्द्र हो । गोर्खाको मनकामना, दाङको बाह्रकुनेमा पनि बराह पूजा गरिन्छ तर मुख्यचाहिं जलजलाकै बराह थानलाई मानिन्छ ।

धार्मिक आस्थाको यो ठाउँमा वर्षको दुईपटक ठूलो मेला लाग्ने गर्दछ- साउने  पूर्णिमा र वैशाख पूर्णिमामा । यो बेला यहाँ टाढा–टाढाबाट भेडा डोर्याएर भक्तजनहरू पूजा गर्न आउने गर्दछन् । विशेषगरी निःसन्तानहरूले यहाँ पूजा गरेमा सन्तान प्राप्ति  हुन्छ भन्ने जनविश्वास रहेको पाइयो ।

जलजला पुग्न दुईवटा ‘रुट’ प्रयोग गरिन्छ । एउटा थबाङ र अर्को जेल्बाङ । जसमध्ये थबाङसम्म मोटर बाटो पुगेकोले थबाङको बाटो अलि नजिक पर्छ । तर जेल्बाङको बाटोचाहिँ ट्रेकिङ जानलाई मात्र उपयुक्त हुन्छ । यसैले हिँडेर जान मन पराउनेहरू जेल्बाङको बाटो जाने गर्दछन् । जेल्बाङको बाटो गुरिल्ला ट्रेकमा पर्ने भएकोले पनि हिँडेर जानयो बाटो सबैको रोजाइमा पर्दछ । अहिले लिबाङबाट ओख्रेनीसम्म मोटर बाटो पुगेकोले पनि जेल्बाङकै बाटो सजिलो पर्न जान्छ ।

रैथाने आदिवासी मगरहरूको विश्व दृष्टिकोणमा जलजला पहाड मानिसहरूको उत्पत्ति भएको थियो । यो क्षेत्रमा पर्ने जलजलाको भामा पुप (ओडार)मा १२ भाइ बराह र २२ बहिनी बराह–बजुहरूको जन्म भएको भन्ने आदिवासीहरूको जनविश्वास पाइन्छ । यहाँ हिँड्दा लचक–लचक गर्ने अनौठो जमिन छ । अनि एउटा पोखरी पनि ।

जलजला पहाड राप्ती क्षेत्रको पानीको प्रमुख स्रोत पनि हो । यहाँबाट मादी लुङरीजस्ता साना–ठूला ३९ वटा खोलानालाको उत्पत्ति भएको पाइन्छ । माडी र लुङरी नदी बग्दै जाने क्रममा तल पुगेर राप्ती नदीको रूपमा अविरल बग्दछन् ।

दश वर्षे  जनयुद्धको उद्गम स्थलका रूपमा परिचित प्राकृतिक सुन्दरताले भरिपूर्ण  जलजला पहाड साविकको थबाङ, मिरुल, धबाङ, जेलबाङ र उवा गाविसको मध्य शीरबिन्दुमा पर्छ ।  समुद्र सतहदेखि ३ हजार ५७६ मिटरको उचाईमा रहेको जलजलाआजको प्रशासनिकको विभाजनमा पूर्वमा सुनछहरी गापा, दक्षिणमा रोल्पा नगरपालिका र पश्चिममा परिवर्तन उत्तरमा पूर्वी रूकुमको भूमे गाउँपालिका पर्दछ ।

यो पहाडबाट सिस्ने हिमाल, पुथा हिमाल, धवलागिरी माछापुछ्रेलगायत मनोरम हिमश्रृंखलाहरूको अवलोकन गर्न सकिन्छ । यहाँ मौसमअनुसार सयौं प्रजातिका फूलहरू वर्षभरि नै फुल्ने गर्दछन् । हिउँदमा हिउँले ढाक्ने जलजलामा चैतदेखि वैशाखसम्म गुराँसका विभिन्न प्रजाति, गन्द, हाङ्ग, जिलालगायत फूलहरू फुल्ने गर्दछ ।

जेठ, असारदेखि भदौ, असोजसम्म चेमला, लेटपात, रथविरथ, बाक्राखुर्सानी, ढल्कनी, बिनजौरीलगायत विभिन्न प्रकारका बुकी फूल फुल्दछ । फुलेर रंगीन हुने यो ठाउँलाई नेपालको सिमला पनि भनिन्छ । यस क्षेत्रमा लौठ सल्ला, धुपीसल्ला, सेतो गुराँस, भोजपत्र, चन्दन, चाँपलगायत चार सयभन्दा बढी प्रजातिका बोट–विरूवाका साथै बहुमूल्य जडीबुटीहरू पाइन्छ ।

यहाँ पदमचाल, समायो, चिराइतो, गुच्ची च्याउँ, सेतकचिनी, पाँचऔले, जटामसी, बिखमा लगायत जीवनदायी जडीबुटीहरू पाइन्छ । त्यसैगरी दुर्लभ रेडपाण्डा, मृग, चितुवा, बदेँल, भालु, बाँदर, कस्तुरी, चितुवालगायतका २२ भन्दा बढी प्रजातिका स्तनधारी जनावरहरू पाइन्छन् । डाँफे, मुनाल, कालिज, लाटोकोसेरो, ढुकुर, न्याउली, कोइली, सारस, सुगालगायत दुई सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत पाइने गर्दछ ।

जलजला पहाड राप्ती क्षेत्र पानीको प्रमुख स्रोत पनि हो । यहाँबाट मादी, लुङरी जस्ता साना–ठूला करिब ३९ वटा खोला-नालाको उत्पत्ति भएको छ । माडी र लुङरी नदी बग्दै जाने क्रममा तल पुगेर यो राप्ती नदिको रूप बन्दछ । यस क्षेत्रबाट थबाङतिर बग्ने गोङखोला, फिँभै, रिखोलालगायतका खोलाहरू सानीभेरीमा बग्दछन् । उवाखोला र जेलबाङबाट बग्ने खोला लुङरी खोला भएर बग्दछ, मिरूलतिर बग्ने जिबैखोला,  बाङमा खोला र धबाङबाट बग्ने धाङसीखोला माडी भएर बग्दछ ।

२०६८ सालमा म पहिलोपटक यहाँ पुग्दा परम्परागत धर्मशालाहरू मात्रै थियो ।  खाँभो उठाएर काठको फलेकले छाएको । तर दोस्रोपटक जाँदा अरू पनि धर्मशाला बनाइएको रहेछ तर यी थिए आधुनिक घर । रंगीन टिनले छाएको ।

आदिवासी मगर पहिचान बोकेको ऐतिहासिक, प्राकृतिक र जैविक विविधताले भरिएको छ, जलजला । ‘युद्ध पर्यटन’को पनि प्रचुर सम्भावना बोकेर पर्यटकलाई स्वागत गर्न हतारिएको छ जलजला ।

तर यहाँ ठूला र आधुनिक होटेलहरू खोल्नुभन्दा पनि परम्परा झल्किने धर्मशालाहरूलाई व्यवस्थित गरी खोल्न सकिन्छ । साथै रैथाने मगर संस्कृति  झल्किने सांस्कृतिक कुराहरू राख्न सकिन्छ ।

सहज  पर्यटनको नाममा अन्यत्रको जस्तै मोटर बाटो लगेमा यहाँको वन्यजन्तु, भू-संरचनाको सन्तुलन बिग्रन सक्छ । आधुनिक होटेल-लज खोलेमा यहाँको आदिवासी  सौन्दर्य हराउन सक्छ ।

म जतिपटक जलजला पुगें मेलाकै बेलामात्र पुगेको छु । मेलामा बाहिरबाट पूजा गर्ने मात्र होइन अवलोकनका लागि पनि पर्यटक आउने गर्दछन् ।

तर मेलामा युवाहरूको व्यवहार साह्रै उच्छृंखल पाएको छु । युवाहरूले सीमाभन्दा बढी जाँडरक्सी खाने तथा युवतीहरूमाथि दुर्व्यवहार गर्ने गर्दछन् । जसको कारण यहाँ महिला एक्लै जान असुरक्षित हुनसक्छ । अरु बेला भने यो क्षेत्र सुनसानजस्तै हुन्छ ।

तर समय सधैं उही हुँदैन । कहिले हिउँसँग त कहिले फूलैफूलको उपवनसहित जलजला पाहुनालाई सधैं स्वागत गरिरहेका हुन्छ ।

यो पनि पढ्नुहोस तिमीसँगै गहिरो मायाँ बस्यो जलजला… (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment