+
+

प्रदेश १ मा रिएजेन्ट अभाव, कोशी अस्पतालमा बढ्यो चाप

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १८:२५

१० जेठ, विराटनगर । प्रदेश १ मा पीसीआर परीक्षणका लागि प्रयोग गरिने रिएजेन्ट अभाव भएको छ ।  तीन दिनयता प्रदेशमा रिएजेन्ट अभाव भएको हो ।

रिएजेन्ट अभाव हुँदा मेची अस्पतालले पीसीआर परीक्षण गरेको छैन । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पनि रिएजेन्टको स्टक सकिएको छ ।

‘दुई दिन भयो हामीले बाहिरको स्वाब कलेक्सन दिएका छैनौं,’ मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले भने, ‘रिएजेन्ट खोजेको पाएका छैनौं, केन्द्रबाट आउने टुङ्गो छैन ।’

स्वीजरल्याण्ड सरकारले उपलब्ध गराएको क्लोज मेसिनमा प्रयोग हुने आरएनए एक्ट्रक्सन किट बजारमा नपाइएको उनले बताए ।

प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालामा पनि रिएजेन्टको स्टक सकिने अवस्थामा छ । ‘२–३ दिनलाई पुग्ला त्यसपछि गाह्रो हुनसक्छ,’ ल्याबका सूचना अधिकारी प्रकाश कार्कीले भने, ‘मेनुअल मेसिनबाट परीक्षण गरिरहेका छौं ।’ रिएजेन्ट अभाव हुँदा परीक्षण पनि घटेको उनले बताए ।

कोरोना महामारीको पहिलो चरणमा आएका रिएजेन्टले हालसम्म धानेको थियो ।

कोशी अस्पतालमा चाप

प्रदेश सरकार मातहतका ल्याबमा रिएजेन्ट अभाव भएपछि संकलन भएको स्वाबको चाप  कोशी अस्पतालको प्रयोगशालामा परेको छ । ल्याबको क्षमताभन्दा धेरै नमुना परीक्षणका लागि आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

‘हामीसँग आठ सय जति स्याम्पल स्टकमा छ,’ उनले भने, ‘प्रेसर बढेको छ, रिएजेन्टले पनि दुई–तीन दिन पुग्ला ।’

प्रदेशभरिबाट संकलन भएको स्वाब आएका कारण रिपोर्ट आउन समय लाग्ने उनले बताए । ‘धेरै स्याम्पल आउँदा रिपोर्ट आउन ढिलो हुन्छ,’ उनले भने, ‘ढिलो रिपोर्ट आउँदा बिरामीलाई समस्या पर्न सक्छ ।’

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयबेन्द्र यादव मंगलबारबाट रिएजेन्टको अभाव नहुने बताउँछन् । काठमाडौंबाट रिएजेन्ट आउने क्रममा रहेका कारण मंगलबारबाट अभाव नहुने उनले बताए । मेची अस्पतालमा पीसीआर रोकिए पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको उनले बताए ।

‘रिएजेन्ट लिनका लागि यहाँबाट गाडी पठाएका थियौं भोलिसम्म आइपुग्छ,’ उनले भने, ‘रिएजेन्ट आएपछि वितरण गरिहाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?