Comments Add Comment

ओलीले एमाले तहसनहस गर्ने अभियान पूरा गरे : माधव नेपाल

११ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्कासन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् ।

आफूहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई तहसनहस गर्ने अभियान पूरा मात्र गरेको उनले बताए ।

एमाले अध्यक्ष ओली पक्षको स्थायी कमिटीले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

Top Comment इमान्दार एमाले २०७८ जेठ ११ गते १३:५९ हेनुस् माकुनेजी, तपाइ इमान भएको नेता हो त्यसमा शंका रहेन, तर हाम्रोजस्तो देशमा इमान, विधि पद्धतीले मात्र चल्दैन, ढााट, छल र स्वार्थ पनि त्यतिकै चाहिन्छ । मनी र मसल नभई न जनता ले तपाइलाई भोट दिन्छन न त कार्यकर्ता तपाइको साथमा हुन्छन । यो कुरा रियलाइज गरेको भए तपाइले गत महाधिवेशनमै ३४ भोटले ओलीसंग हार्नुपर्ने थिएन । अहिले जमाना यस्तै डाङडुङ, स्रोतको दुरुपयोग र परिचालनको छ, तपाइको काम गर्ने नैतिकवान शैली अहिले टिक्दैन र बिक्दैन । किनकी तपाइले गुण्डालाई संरक्षण गर्न सक्नुहुन्न, उनीहरुलाई परिचालन गरेर असुली गर्न सक्नुहुन्न, पदमा गएका बेला आफन्त र नातागोतालाई भर्ती गरेर पैसा असुल गर्न सक्नुहुन्न, मदन भण्डारी फाउण्डेसनजस्तो धन्दा चलाएर सवै राजनीतिक नियुक्तिको असुली त्यही गराउन सक्नुहुन्न । यी सारा कमजोरीका कारण अब तपाइका पछाडी कार्यकर्ता र जनता किन लाग्ने ? अब राजनीति चलाउने हो भने यी कमजोर सुधार गर्नुस । See All Add Comment

मंगलबार सामाजिक सञ्जालमार्फत अपील सार्वजनिक गर्दै नेता नेपालले सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने कार्यकर्ता पंक्तिको माग विपरीत ओलीले एकाधिकारवादी शैलीमा पार्टीलाई चलाएको बताएका छन् ।

‘जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस–नहस गर्ने अभियान त्यही विन्दुबाट सुरु गरेर कथित कारवाही र निष्कासनमा आएर पूरा भएको छ’ उनले भनेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेका छन् ।’

प्रधानमन्त्री समेत रहेका ओलीले षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’लाई विभाजन गरेको नेता नेपालको आरोप छ । व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको दुरुपयोग गरेको र एमालेको संगठन निस्तेज बनाएको भन्दै उनले भनेका छन्, ‘यसविरुद्ध आवाज उठाउँदा ओलीबाट प्रहार भयो । अहिले ओली गुटले गरेको कथित कारबाही वा निष्काशन त्यसैको प्रतिरुप हो ।’

पूर्वप्रधानमन्त्री नेपालले आफूले व्यक्तिगत र सामूहिक रुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउन सक्दो भूमिका खेलेको दाबी गरेका छन् । ‘पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरेँ । तर सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन्, वास्ता गरेनन् । बरु प्रतिशोध साँध्ने काम मात्र गरे’ उनले भनेका छन्, ‘त्यही कारण आम जनता, नेता–कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।’

उनले, प्रधानमन्त्री ओलीले लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेकाले प्रतिरोधमा उत्रिनुपर्ने अवस्था आएको समेत बताएका छन् । आफूहरुलाई पार्टी सदस्यबाट निस्कासन गर्ने ओली पक्षको निर्णयको कुनै औचित्य नभएको भन्दै नेता नेपालले आफ्नो अपीलमा भनेका छन्, ‘अब हामीमाथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

 

हेर्नुहोस् नेता नेपालको अपिल

कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टी एक हुन्, कम्युनिस्टआन्दोलन एक र सशक्त होस्, जनजीविका, जनताका हित, स्वार्थ र सरोकार तथा सुशासन का सवालमा तथा समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे ।

त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निष्काशनमा आएर पूरा भएको छ।

नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा के.पी. ओलीले आफूलाई स्थापित गरेका छन् ।
केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् ।

कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो ।ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग छ ।

ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो।निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे ।यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो ।अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो । उक्त कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।

यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्‍याए । पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें । तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन् ,वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे ! त्यही कारण आम जनता, नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो । जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए । ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन ।

आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ ।

त्यसैले अब हामी माथि कानूनी , राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।

अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment