Comments Add Comment

विराटनगर सिटीका प्रशिक्षक यानलाई एक वर्ष प्रतिबन्ध

१२ जेठ काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यानलाई एनएसएलमा एक वर्षको प्रतिबन्ध गरिएको जनाएको छ । ‘यान ल लाई एक वर्षको प्रतिबन्धका साथै ५० हजार रुपैयाँ जरिवाना लगाइएको छ,’ नेपाल सुपर लिगका सीईओ सुदीप शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एनएसएलको १९औं खेलमा ललितपुर सिटी विरुद्धको खेलमा प्रशिक्षक यानले अनुशासनहीन कार्य गरेका थिए । उक्त खेलमा यानले रेफ्रीको निर्णय विरुद्ध आक्रोश जनाउँदै आफ्ना खेलाडीलाई दोस्रो हाफमा मैदान बाहिर बोलाएका थिए । साथै उनी खेलका दौरान टचलाइन क्रस गरी मैदानभित्र समेत प्रवेश गरेका थिए ।

उक्त खेलमा खेलाडीलाई बाहिर बोलाउन उनी मुख्य दोषी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले छानबिन गरेपछि यानलाई प्रतिबन्ध लगाइएको हो ।

यस्तै विराटनगर सिटी फ्रेन्चाइजलाई १ लाख रुपैयाँ जरिवाना लगाइएको छ । साथै विराटनगरका टेक्निकल निर्देशक सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक म्यानेजर मिलन गुरुङलाई ३–३ खेलमा प्रतिबन्ध लगाइएको छ ।

प्लेअफ पुग्नका लागि जित्नैपर्ने उक्त खेलमा विराटनगर ललितपुरसँग ४–० गोलले पराजित हुँदै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment