Comments Add Comment

नेपाल समूहका १५ नेताको वक्तव्य : ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य

१२ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैदमवादी शैलीमा कारबाहीको डण्डा चलाएको बताएका छन् । पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले भत्र्सना गरेका छन् ।

एमालेमा नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५ को स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीमुक्त गर्नुका साथै पार्टी सदस्य नै नभएकाहरुलाई जिम्मेवारी दिने जस्ता अवैध निर्णय गरेको भन्दै नेपाल समूहले समानान्तर कमिटीहरु बनाएको छ ।

पछिल्लो पटक एकताका लागि कार्यदल बनेको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेमतो गरेर संसद विघटन गर्ने अलोकतान्त्रिक कार्य गरेको भन्दै नेपाल समूहका १५ नेताले संयुक्त वक्तव्यमा भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतान्त्रिक देशभक्त राजनीतिकर्मीको कर्तव्य हो ।’

प्रधानमन्त्री ओलीले राज्ययन्त्र, सत्ता र सरकारको चरम दुरुपयोग गरेको र उनको कामकारबाहीले कम्युनिस्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत् भएको नेपाल समूहको निष्कर्ष छ । ‘प्रधानमन्त्री ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं ।’

नेपाल समूहका १५ नेताले वक्तव्यमा ओली समूहका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्न र दृढताका साथ अघि बढ्न एमाले नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

हेर्नुहोस् वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment