Comments Add Comment

सुदूरपश्चिम एमालेले तीन मन्त्रीलाई फिर्ता बोलायो

१३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

सचिव रावलका अनुसार पार्टीको स्थायी कमिटी बैठकको निर्देशन बमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको हो । गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुरूप तीनै मन्त्रीलाई ११ जेठमा सरकारबाट फिर्ता हुने पत्र काटिएको थियो ।

सचिव रावलले अनलाइनखबरसँग भने ‘एमालेकै नेतृत्वमा सरकार गठन गर्न मार्ग प्रशस्त गर्दै आवश्यक पहलकदमी लिन भनिएको छ ।’ बुधबार तीनैजना प्रदेशमन्त्रीलाई उक्त निर्देशन पत्र थमाइएको हो ।

तर बुधबार नै बसेको एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिंदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले फिर्ता बोलाइएको तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन् । संसदीय दलको निर्णयलाई ओली पक्षका प्रदेश सभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन् ।

पार्टीले निर्देशन दिए पनि मन्त्रीहरु भने सरकारबाट फिर्ता नहुने मूडमा देखिएका छन् । सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सदस्य छन् । उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment