Comments Add Comment

एसईई र कक्षा १२ परीक्षा विधि : अन्योलमा विद्यार्थी, तनावमा अभिभावक

१३ जेठ, काठमाडौं । कोभिड १९ का कारण शैक्षिक सत्र दुई महीना पछाडि धकेलियो । महामारीको दोस्रो लहर तीव्र बनेपछि एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविष्य के हुने भन्ने तनावमा छन् ।

करीब १० महीना बन्द भएको विद्यालय कोरोना संक्रमण दर कम हुँदै गएपछि खुल्न शुरु भएको थियो । भौतिक रुपमा पुनः पठनपाठन शुरु भएको केही महीनामै महामारीको दोस्रो लहर फैलियो । त्यसले फेरि वैकल्पिक माध्यममा जानुपर्ने स्थिति आयो । परीक्षाको मिति तय भइसकेपछि विद्यालय बन्द भए । अहिले केही स्थानीय तहले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्न भनिरहेका छन् ।

तर राष्ट्रिय परीक्षा बोर्डले जिम्मा पाएको एसईई र १२ को परीक्षाको भने विधि र मिति अझै निश्चित भएको छैन । अहिलेसम्म कुन विधिमा परीक्षा हुने भन्ने निश्चित नहुँदा अभिभावक एवं विद्यार्थी अलमलमा परेका हुन् ।

सुहाना भण्डारी भन्छिन्– अहिलेसम्म परीक्षा कुन माध्यममा हुने थाहा छैन । छिट्टै परीक्षाको विधि र मिति टुंगो लागिदिए हुने । सबै पढाइ पनि अनलाइन भयो । अब परीक्षा पनि अनलाइन नै भयो भने राम्रो हुन्छ

सुहाना भण्डारी कक्षा १० की विद्यार्थी हुन् । यो शैक्षिक सत्रको केही समय मात्रै भौतिक उपस्थितिमा पढेकी उनले अनलाइन कक्षा लिएर नै पाठ्यक्रम सकिएको बताइन् । काठमाडौंको एक निजी विद्यालयमा अध्ययन गरिरहेकी भण्डारी कुन विधिमा परीक्षा दिनुपर्ने हो भन्ने निश्चित नहुँदा अलमलमा परिरहेको बताउँछिन् ।

उनलाई सबै पढाइ पनि अनलाइन माध्यमबाटै भएकाले परीक्षा पनि अनलाइन माध्यममा नै होस् भन्ने चाहना छ’ भण्डारी भन्छिन्, ‘अहिलेसम्म परीक्षा कुन माध्यममा हुने थाहा छैन । छिट्टै परीक्षाको टुंगो लागिदिए हुने जस्तो लागेको छ । सबै पढाइ पनि अनलाइन भयो । अब परीक्षा पनि अनलाइन नै भयो भने राम्रो हुन्छ । आउने वर्षहरूमा पनि सजिलो हुन्छ ।’

उनको विद्यालयले अहिले अनलाइन परीक्षा लिइरहेको छ । उनी लगायत विद्यार्थीलाई विद्यालयले भौतिक रुपमा परीक्षा दिनुपर्ने निर्णय आए सोही अनुसार हुने र अन्य विधिबाट परीक्षा गराउनुपर्ने अवस्था आए अहिले भइरहेको अनलाइन परीक्षाको आधारमा मूल्यांकन हुने जानकारी दिएको छ ।

ललितपुरको एक निजी विद्यालयमा अध्ययनरत प्राप्ती अधिकारीलाई चाँडै परीक्षा हुने विधि थाहा पाउन मन लागेको छ । उनलाई भने भौतिक रूपमा परीक्षा हुँदा सहज हुने लाग्छ ।

भन्छिन्, ‘मलाई फिजिकल भए पनि हुने जस्तो लागेको छ । अनलाइन हुँदा कहिलेकाहीं नेट स्लो हुन्छ । लेखेको कपीको फोटो खिचेर पठाउँदा ढिलो जाने, कहिले नजाने हुन्छ । त्यही भएर दिक्क लाग्छ । तर फेरि रिस्क पनि छ ।’

उनको विद्यालयले भर्खरै प्रि एसईई भनेर गणितको शतप्रतिशत र बाँकी विषयको ७५ प्रतिशतको अनलाइन परीक्षा लिएको छ । अनलाइन परीक्षा भयो भने त्यही परीक्षा र टर्मिनल परीक्षाको मूल्यांकन हुने विद्यालयले जानकारी दिएको उनी बताउँछिन् ।

उनले भनिन्, ‘अहिले रिभिजन क्लास भइरहेको छ । तर स्टुडेन्ट नै अनलाइन आउँदैन ।’ उनको भनाइअनुसार दुईवटा सेक्सनको एउटै अनलाइन कक्षा भइरहेको छ । दुई सेक्सनको कुल विद्यार्थी संख्या ९० जना हो तर अनलाइनमा ३५ देखि ४० जना मात्रै हुन्छन् ।

कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विकास राईलाई कहिले परीक्षा सिध्याएर केही दिन आनन्दले बसौं भन्ने लागिरहेको छ । व्यवस्थापन विषय पढिरहेका उनी भन्छन्, ‘परीक्षा नसकिएसम्म ढुक्क हुनै सकिंदैन । गेम खेल्न बस्यो भने पनि पढ्नुपर्ने छ भन्ने मनमा आइरहन्छ । आनन्दले खेल्न पनि सकिंदैन । पढिरहन पनि कोर्ष सकिएपछि धेरै इन्ट्रेस्ट लाग्दैन ।’ पाठ्यक्रम सकिए पनि विद्यालयले उनीहरुलाई रिभिजन कक्षा लिइरहेको छ । परीक्षाको टुंगो नहुँदा रिभिजन कक्षामा ध्यान नजाने उनको अनुभव छ ।

अभिभावकको पिरलो पनि परीक्षाको मिति र विधि तय नभैदिनुमा छ । विधि र मिति छिट्टै तय भए ढुक्क हुन्थ्यो भन्ने अभिभावकहरुलाई लागेको छ । रमुना खड्का दाहाललाई एसईई दिन लागेकी छोरीको परीक्षा छिट्टै भइदिए हुने झैं लागिरहेको छ ।

उनी भन्छिन्, ‘लामो समय अन्योल हुँदा विद्यार्थी र अभिभावक दुवैलाई छटपटी लाग्दोरहेछ । पढ्न त पढिरहेकी छे । कुन विधिबाट हुने भन्ने पनि थाहा छैन त्यसले अन्योल बनाएको छ ।’ अनलाइन र दुई महीना भौतिक उपस्थितिमा पढ्दा पाठ्यक्रम सकिएको छ । अहिले विद्यालयले रिभिजन कक्षा गरिरहेको छ ।

उनी थप्छिन्, ‘पाठ पनि सकियो । अब त कुनै विधिमा परीक्षा भए हुने त्यसपछि केही समय रिफ्रेस हुने समय दिएर नयाँ कक्षाको पढाइ थाले हुने झैं लागेको छ ।’

नेपाल अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी अहिले स्थान अनुसार विद्यार्थी र अभिभावकको चिन्ता फरक फरक रहेको बताउँछन् । कतिपय ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीको न्यूनतम सिकाइ पनि पूरा नभएको उनको दाबी छ । त्यसैले एसईईलाई राष्ट्रिय परीक्षाबाट खारेज गरेर विद्यालयलाई नै मूल्यांकन गर्ने अधिकार दिनुपर्ने उनी बताउँछन् ।

‘सबै विद्यालयका विद्यार्थीको न्यूनतम सिकाइ पूरा भएको छैन । विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयहरुमा’ उनी भन्छन्, ‘त्यसैले सिकाइ पूरा गरेकालाई मूल्यांकनको अधिकार दिने र सिकाइ पूरा नगरेकालाई पूरा गर्न लगाएर मूल्यांकन गर भन्ने ।’

दुवै तहको परीक्षाको मार्गचित्र स्पष्ट र हुने गरी तत्काल सूचना जारी गर्नुपर्ने महासंघका अध्यक्ष भण्डारीले बताए । उनी भन्छन्, ‘अभिभावक, विद्यार्थी र शिक्षकको अन्योलता हटाउँदै सरकारले तुरुन्तै सूचना जारी गर्नुपर्छ ।’

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा एसईई र कक्षा १२ को परीक्ष सञ्चालन सम्बन्धी सुझाव दिने समिति गठन गरेको छ ।

गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटीको बारेमा निर्णय हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । पौडेलले यो हप्ताभित्र सुझाव प्राप्त हुने आशा व्यक्त गरे ।

महानिर्देशक अर्याल केही दिन भित्र सक्ने गरी काम भइरहेको बताउँछन् । उनले भने, ‘केही दिनभित्र सुझाव प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौं । हामीले सुझाव मात्रै दिने हो । विधि र मितिको निर्णय त बोर्डले गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment